अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Friday, August 26, 2011

पक्राउ विद्यार्थी छुटाउन रातभर नाराबाजी

पक्राउ विद्यार्थी छुटाउन नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीले बिहीबार रातभर नाराबाजी गरेका छन् । राजनीतिक दलको दबाबमा शिक्षक कुटेको आरोपमा शारदा उच्च मावि ख्याहाका विद्यार्थी र सवारीधनीलाई पक्राउ गरेर झुठा मुद्दा लगाउन खोजेको विरोधमा जिल्ला प्रहरी कार्यालयको गेट घेराउ गरेका हुन् । उनीहरले राति १२ बजे प्रहरी हिरासतमा रहेका विद्यार्थीलाई छुटाउन सफल भए ।

'शिक्षकले जे गरे पनि हुने भन्ने छ र ? राजनीतिक पहुंच लगाएर विद्यार्थीलाई झुठा मुद्दा चलाउन खोजियो' नेविसंघका नेता केशव बस्यालले भने, 'त्यसैले पनि रातभर नाराबाजी गरेरै भएपनि विद्यार्थी छुटाउन बाध्य भयौ ।' दिउँसो कुरा नमिलेपछि विद्यार्थीले राति ८ बजेपछि जिल्ला प्रहरी र प्रशासन कार्यालय जाने गेटमा बसेर नाराबाजी गरेका हुन् ।

नेता बस्यालले सहमतिमा जाने भन्दा पनि राजनीतिक पहुंच लगाउन खोजिएकाले रातिमै भएपनि नाराबाजी गर्नु परेको बताए । प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका विद्यार्थीको दबाब थेग्न नसकेपछि बाध्य भएर प्रहरीले विद्यार्थी रिहा गरेको थियो । शिक्षक कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको थियो ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले राजनीतिक दलकै दबाबमा मुद्दा चलाउछु जे गर्ने गर्नुस् भनेपछि तानसेनका नेविसंघ र क्रान्तिकारीका विद्यार्थी आक्रोशित भएका हुन् । प्रमुख थपलियाले अनावश्यक राजनीति भएको आरोप लगाए । एमाले सभासद्, पुर्वसांसद साथै जिल्ला नेताले मुद्दा चलाउन दबाब दिएको नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले आरोप लगाएका थिए । एमाले अध्यक्ष यादवबहादुर रायमाझीले गाउँको मुद्धा गाउँमै मिलाउनुपर्नेमा राजनीतिकरण भएको बताए । 'दलकै केही साथीहरुले प्रतिष्ठाको विषय बनाउदा समस्या भएको हो' उनले भने, 'अहिले त हाम्रो दबाब कम भएछ भन्ने लागेको छ ।'

शारदा उच्च मावि ख्याहामा शिक्षकले बिद्यार्थी कुटेपछि सुरु भएको विवाद जिल्लासम्म आईपुग्दा राजनितिकरण भएपछि घटनाले अर्कै मोड लिएको हो । गत भदौ ५ गते बिद्यालयमा लाईनलाग्दा ढिलो आएको भन्दै कक्षा ९ मा अध्यनरत शेरबहादुर विश्वकर्मालाई शिक्षकद्धय गोपी भण्डारी र कृष्ण पाण्डेले कुटपिट गरेका थिए । भोलिपल्ट नै बिद्यार्थी जम्मा भएर शिक्षक कुटेको आरोप छ । स्थानीय गोपाल न्यौपानेका अनुसार नजिकमा रहेका सवारी चालक र धनीले छुट्याएकै कारण ठुलो घटना नभएको हो ।

भदौ ७ गते बसेको सर्वदलिय बैठकले घटनालाई गाउँमै मिलाएर अब आईन्दा दुबै पक्षले यस्ता गल्ती नदोहोर्याउने सहमति भएको स्थानीयले बताए । सहमति भएपनि शिक्षकले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि घटनाले अर्को रुप लिएको हो । प्रहरीले शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोपमा थुनामा राखेर मुद्धा चलाउने तयारी गरेको थियो ।

No comments:

Post a Comment