अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Tuesday, October 18, 2011

अर्घाखाँचीका ४२ गाविस मध्ये झन्डै ३७ गाविसमा टोलैपिच्छे सडकको पहुँच

एउटा पहाडी जिल्लामा कति वटा सडक होलान् ? अर्घाखाँचीका हकमा भने तपाईको अनुमान फेल खान सक्छ । जिल्लाका ४२ मध्ये झन्डै ३७ गाविसमा टोलैपिच्छे सडकको पहुँच छ । तिनको संख्या ५ सयभन्दा बढी छ । घरघरमा यातायातको सुविधा पुगेको छ । सुविधाले यहाँका सर्वसाधारण पैदल हिँड्न छाडेका छन् । सडकको हिसाबले अर्घाखाँची मुलुककै नमुना बन्न पुगेको छ ।


गाविसका सबै टोलटोलमा गाडी पुगेपछि सर्वसाधारणले सुविधा पाएका छन् । टोलसम्म सडक पुर्‍याउन स्थानीयले वनको घाँस, दाउरा बेचेर र चन्दा उठाएर रकम संकलन गरेका हुन् । एउटा वडामा कम्तीमा १० वटा सडक छन् । सडक सुविधाले गर्दा एकैदिनमा सदरमुकामसहित जिल्लाका सबै गाविस घुम्न सकिन्छ ।

सबै सर्वसाधारणलाई यातायातको सुविधा भएको महसुस गराउन जिल्ला परिषद्ले ७० प्रतिशत बजेट छुट्याएर सात वर्षदेखि सडक निर्माणमा लागिपरेको छ । वषर्ायाममा समेत गाउँमा गाडी चल्छन् । चार वर्षदेखि जिल्लावासी जुनसुकै ठाउँमा जाँदा पैदल हिँड्न छाडेका हुन् । जिल्ला विकास समितिको तथ्यांकमा अहिलेसम्म निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक, २८ मुख्य सडक, ५० वटा गाउँस्तरीय र ९६ वटा जिल्ला स्तरीय सडक छन् । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलका अनुसार यो वर्ष १६ वटा सहायक स्तरका सडक निर्माण र ९ वटा मुख्य सडकको स्तरोन्नति गरिँदै छ । यी सडक जिल्ला विकास समितिको योजना खनिएका हुन् । यीबाहेक गाउँलेले चन्दा संकलन, वनको आम्दानी र आफैंले खनेका सडक त्यसको दोब्बर छन् ।

गाउँलेको प्रयासमा खनिएका मोटरबाटाको अभिलेख जिविसले राखेको छैन । यस्ता सडक ३ सय ५० भन्दा बढी रहेको अनुमान छ । गाउँलेले आफैं उपभोक्ता समिति गठन गरेर जिविसलाई जानकारी नदिई सडक बनाएर पनि मोटर गुडाएका छन् । टोलस्तरीय सडकका लागि बिदेसिएका युवाहरूले सामूहिक चन्दा संकलन गरी रकम जुटाउने गरेका छन् । मोटर पुगेपछि गाउँमा अकस्मात् बिरामी पर्नेहरू पनि सजिलै सदरमुकामको अस्पताल पुग्न सकेका छन् । विवाह, पूजाआजा, भोजभतेरदेखि राजनीतिक दलले गर्ने सानाठूला कार्यक्रममा समेत कोही पैदल हिँड्दैनन् । अधिकांश गाउँलेले १० मिनेटको पैदल हिँडेपछि गाडी चढेर सदरमुकाम र अन्य गाउँमा जान पाउँछन् । गाउँका सबै बाटोमा जिप र ट्याक्टर चल्छन् । राम्रो सडक भएका २० गाविसका मुख्य सडकमा बस चल्छन् । यहाँ देउराली यातायात समितिद्वारा सञ्चालित १ सय ५ वटा जिप गाउँगाउँ पुगेका छन् । छिमेकी जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु, दाङसम्म ३ देखि ४ घन्टाको यात्रामा पुग्न सकिन्छ ।

जिल्लाको दक्षिणी भेग सिमलपानी, जलुके, जुकेना, सिद्धारा, सुवर्णखाल गाविस भौगोलिक हिसाबले धेरै ठूला र बस्ती पातलो भएकाले यी गाविसको टोलसम्म बाटो पुर्‍याउन योजनाबद्ध ढंगले ध्यान दिएको जिविसले जनाएको छ । वर्षाको बेला पहिराले बाटो भत्काइदिएका गाउँका मुख्य र सहायक सडकलाई सरकारी बजेटबाट मर्मत सुधार गरिन्छ । टोलस्तरका बाटा भने गाउँलेले आफैं मर्मत गर्दै आएका छन् । जिल्लाका २८ वटा मुख्य सडकलाई ग्राभेल गर्ने योजना रहेको स्थानीय विकास अधिकारी पौडेलले बताए । गाउँमा मोटर पुगेपछि गाउँलेले सदरमुकाम झर्दा घरमा उत्पादन भएका तरकारीदेखि फलफूल बेच्न ल्याउने गरेको बाँगी गाविसका पूर्वअध्यक्ष पीताम्बर भुसालले बताए । उनले भने, 'यातायातले कामलाई छिटो बनाइदिएको छ ।'

सडक बनेपछि सदरमुकाममा पुगेर एकै दिनमा नागरिकता बनाउने लगायत अड्डाअदालतका काम सकी र्फकने गरेको गाउँलेको भनाइ छ । 'टोलसम्मै सवारी साधन पुगेपछि अर्घाखाँचीका बासिन्दाको आर्थिक स्तर बढेको छ,' पूर्वअध्यक्ष भुसालले भने, 'बजार पाउन थालेकाले तरकारी, फलफूल, जडिबुटी उत्पादनमा वृद्धि हुँदै गएको छ ।'

गाउँमा आफ्नो प्रभाव देखाउन राजनीतिक दलहरूले बाटोमा बढी बजेट हाल्ने गरेका छन् । जिल्ला, क्षेत्र र गाउँ स्तरीय पहुँचवाला स्थानीय नेताले आफ्नो गाउँमा धरै बाटो खनेका छन् ।

No comments:

Post a Comment