अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Saturday, July 9, 2011

खाल्डोमा ४५ दिन निराहार तपस्या

टोपराज शर्मा
मानिस खाना नखाई कति दिन बस्न सक्ला ? दुई-चार दिन अथवा बढीमा एक हप्ता, तर धेरैको यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ३१ वर्षीय सरोज अधिकारीले। रूपन्देहीको पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा आफूलाई शान्तिदूत बताउने अधिकारीले वैशाख १ गतेदेखि जेठ १४ गतेसम्म ४५ दिनसम्म निराहार भूगर्भ तपस्या बसेर सबैलाई अचम्मित तुल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन्। अर्घाखाँची घर भै बुटवल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक अध्ययनरत अधिकारीले विश्व शान्तिको कामना, संविधान निर्माणमा दबाब, पर्यटन वर्ष सफल पार्न टेवा पुर्‍याउने एवं योगको महत्त्व दर्साउन निराहार तपस्या गरेको बताएका छन्। वन विहारमा ९ फिट गहिरो र ९ फिट चौडा खाल्डोमा बसेर तपस्या गरेका अधिकारीले हरेक दिन बिहान ३ बजे पानी मात्र पिउने गरेका थिए।


सुरुमा ४० दिन निराहार बस्ने घोषणा गरेका अधिकारीले जेठ १० गते ५ दिन थप गरेका थिए। अधिकारीले यसअघि दाङमा २१ दिन निराहार तपस्या गरेका थिए। नेपालमा हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको र विश्वमा समेत दुर्लभ मानिने निराहार तपस्याका कारण चर्चामा आएका अधिकारी विश्वमा चुलिँदै गएको खाद्यान्न संकट कम गर्न र मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि हरेक व्यक्ति सातामा कम्तीमा एक दिन निराहार बस्नुपर्छ भन्छन्।
http://www.ekantipur.com/