अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 8, 2011

घाँस बिक्री गरेर सामुदायिक विद्यालय

नजिकै छोराछोरीलाई पढाउनै भनेर अर्घाखाँचीका उपभोक्ताले घाँस खेती गरेर सामुदायिक विद्यालय चलाएका छन् । बाँगी-७ कुझेका गाउँलेले स्थानीय नृसिंह प्रावि घाँस बेचेर आएको पैसाले नै सञ्चालन गरेका हुन् । आठ वर्षदेखि गाउँलेले राष्ट्रिय वनलाई सामुदायिक बनाएर घाँस खेती गरेका र त्यसबाट हुने आम्दानीले विद्यालय चलाएको देउराली सामुदायिक वनका अध्यक्ष मोतीबहादुर खड्काले बताए ।


विद्यालय नजिक नहुँदा स-साना नानीहरूलाई समस्या परेपछि अभिभावकले यस्तो अभियान थालेका हुन् । सरकारले वास्ता नगरेपछि गाउँमै छोराछोरीलाई पढाउन लागेको उनीेहरू बताए । भवन निर्माणदेखि शिक्षकलाई तलब र विद्यालय खर्च घाँस बेचेर आएको पैसाले पुर्‍याएका छन् । कुझे, गोवदी पलसपाटा पोखेडाँडा लगायत ६५ परिवारका ५० भन्दा बढी

बालाबालिकाले यही विद्यालयमा पढ्छन् । शिक्षाले यस वर्षदेखि एक राहत दरबन्दी दिएको छ भने २ शिक्षकको व्यवस्था स्थानीय स्रोतबाट जुठाएको छ ।

कक्षा २ सम्म विद्यालय चलाउँदै आए पनि अन्य कक्षा भने आर्थिक अभावका कारण थप्न नसकेको खड्का बताउँछन् । 'घाँस खेती नगरेको भए विद्यालय चल्ने थिएन, शिक्षामा बारम्बार अनुरोध गर्दा चासो नदिएपछि यस्तो उपाय अपनाएका हौं,' उनले भने । उनीहरू घाँस र दाउरा बेचेर वाषिर्क ५० हजार आम्दानी गर्छन् । आफ्नो वडाभित्र पर्ने १० हजार रोपनीभन्दा बढी जग्गामा स्कुल चलाउन घाँस खेती गरेका छन् ।

घाँस बिक्री नभए आफैं काट्ने र बेचेर पैसा उठाउने गरेको व्यवस्थापन समिति अध्यक्ष भुमबहादुर महतले बताए ।

'सामुदायिक वनमा घाँस खेती नगरेको भए विद्यालय सञ्चालन गर्न सम्भव थिएन,' उनले भने, 'यसले ठूला सहयोग पुर्‍याएको छ ।'

कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाद्वारा आत्महत्या

बानी सुधार्ने नाममा स्थानीय जनजागरण महिला समूहका पदाधिकारीसहितका महिलाले हातखुट्टा बाँधी कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाले आत्महत्या गरेकी छन् । 

यातनापछि आत्मग्लानिका कारण बुटवल-१३ योगीकुटीकी ४२ वर्षे कविता थापाले राति आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको स्थानीयवासीले बताए ।रक्सी खाएर होहल्ला गरी हिँडेको र परपुरुषसँग लसपस गरेको लगायत आरोपमा शनिबार दिउँसो योगीकुटीको शिवालयमा उनलाई कालोमोसो दलेर हातखुट्टा बाँधी यातना दिएका थिए ।

अमानवीय व्यवहारका कारण कविता आत्महत्या गर्न बाध्य भएको भन्दै महिला समूह त्यसमा जिम्मेवार रहेको परिवार र स्थानीयले बताएका छन् । उनीहरूले समूहका पदाधिकारीमाथि कडा कारबाहीको माग राख्दै प्रहरीमा उजुरी गरेका छन् ।'झन्डै ५०-६० महिलाले शिवालय अगाडि लगेर हातखुट्टा बाँधेर एक घन्टाभन्दा बढी समय रक्सी छोड्ने कि नाई भन्दै थर्काउने, कुटपिट गर्ने र कालो दल्ने गरेका थिए,' छिमेकी मन्जु रेस्टुरेन्टकी रूपा भण्डारी छेत्रीले भनिन्, 'दुव्र्यवहार र यातनाकै कारण उनले आत्महत्याको बाटो अंगालेकी हुन् ।'

प्रत्यक्षदर्शीहरूका अनुसार श्रीमान्, बुहारी र नातिका साथ बस्ने भए पनि महिला समूहका पदाधिकारीसहितले आइतबार कवितालाई घरमा कोही नभएका बेलामा नियन्त्रणमा लिएका थिए । उनीहरूले दुव्र्यवहार गर्दा वरपरका धेरैजसो रमिते भएका थिए । केहीले 'यसो नगर' भन्दा समूहका महिलाहरूले 'उनको जिम्मा लिन्छौ र' भन्दै हकारेका थिए ।

धेरैबेरपछि योगीकुटीमा रहेको नगर प्रहरी आएर गाली गरेपछि मात्र महिलाहरूले कवितालाई छोडेका थिए । 'मुखभरि कालोमोसो भएकी कविताले मैले पानी दिएपछि मुख धोएकी थिइन्,' प्रत्यक्षदर्शी रूपाले थपिन् । यातनापछि घर गएकी कविता खाना पनि नखाई कोठामा पसेको र राति झुन्डिएको अवस्थामा भेटिएको बुहारी तारा थापाले बताइन् । आत्महत्या गरेकी कविताका मुखभरि नीलडाम थिए । भाइ भीमसेन पोखरेलले दिदीको गल्ती भए सुधार्ने अरू उपाय हुन्थ्यो भन्दै महिला समूहका नाममा कानुन हातमा लिएर यातना दिँदा दिदीले ज्यान गुमाउनु परेकामा आक्रोश व्यक्त गरे । दिदीको शवनजिकै रोइरहेका उनले समूहका महिलाहरूले सबै कुराको सीमा नाघेको बताए । 'मैले दिदी गुमाएँ तर अब यस्तो पीडा अरूले भोग्न नपरोस् भन्नका लागि पनि उनीहरूमाथि कारबाही हुनुपर्छ,' उनले भने ।

घटनास्थल पुगेका प्रहरी कार्यालय योगीकुटीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक होम श्रेष्ठले आइतबार दिउँसो स्थानीयले खबर गरेपछि आफू पुग्दा समूहका महिलाहरूले कविताका खुट्टा बाँधेर यातना दिएको देखेको र तत्काल खोल्न लगाई उनीहरूलाई हटाएको बताए । कविताको आत्महत्यापछि आइतबार साँझसम्म शव आँगनमै राखिएको छ भने स्थानीय योगीकुटी टोल पूरै शोकमग्न छ ।
जनजागरण महिला समूहले भने कविताको बानीले गाउँ समाजमा नकरात्मक सन्देश गएकाले सधार्न सम्झाएको र नमानेपछि सामान्य कारबाही गरेको दाबी गरेको छ । 'हाम्रो उद्देश्य उनलाई मार्ने होइन, उनले खाने रक्सी र परपुरुषको लसपस हटाउनु थियो,' समूहकी सचिव लक्ष्मी छेत्रीले भनिन्, 'त्यसैले राम्ररी सम्झाउँदा मानिनन्, उल्टै मुखमुखै लागेपछि अलिकति बाँधेर डर देखाएका मात्र हौं । मर्नुको कारण हामी होइनौं ।'
समूहकी अध्यक्ष सुषमाकुमारी अर्यालले २०५२ मा स्थापित समूहले यसअघि पनि घरेलु हिंसा, बहुविवाह, दमन, रक्सी छुटाउनेलगायत अभियानमा सम्झाउने/बुझाउने लगायत काम गर्दै आएकामा यस्तो दुःखदायी घटना भने नभएको बताइन् ।प्रहरी सहायक निरीक्षक श्रेष्ठले महिला समूहले सुधारका नाममा यातना दिनु र कानुन हातमा लिने काम गर्नु गलत रहेको बताए ।

यातनाकै कारण आत्मग्लानिले कविताले आत्महत्या गरेको भए पनि मृत्युमा महिलाहरूको प्रत्यक्ष संलग्नता नरहेकाले भरसक घटनालाई स्थानीयस्तरमै मिलाउन प्रयास भएको उनले बताए । 'पीडित पक्ष, महिला समूह, स्थानीय बुद्धिजीवी र प्रहरी बसेर छलफल गरिरहेका छौं,' घटनास्थलमै छलफलमा व्यस्त उनले आइतबार राति भने, 'भरसक गल्ती नदोहोरिने गरेर उनीहरूलाई सचेत पारेर घटना मिलाउँछौं ।'