अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Friday, August 12, 2011

बुटवल योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार

जनजागरण महिला समूहका महिलालगायत स्थानीय महिलाको यातनापछि आत्मग्लानिका कारण आत्महत्या गरेकी भनिएकी बुटवलको योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार गरिएको छ ।

पीडित पक्ष, संसदीय छानबिन टोली, महिला आयोगको अध्ययन टोली, जिल्लास्तरीय सुरक्षा निकाय र राजनीतिक दलहरूबीच सबै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, पीडितलाई न्यायोचित राहत उपलब्ध गराउने र सबै पक्षको सहभागितामा सम्मानजनक अन्त्येष्टि गर्ने तीन कुरामा सहमति भएपछि मृतकका परिवार शव दाहसंस्कार गर्न सहमत भएका हुन् । 'सबै पक्षबाट तिमीहरू अन्यायमा पर्दैनौ, मृत्युपछि भए पनि आमाले न्याय पाउँछिन् भन्ने भएपछि संस्कार गर्ने भएका हौं,' मृतक कविताका छोरा सविनले भने, 'कानुन मिचेर आमालाई यो गतिमा पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएपछि मात्र आमाको आत्माले शान्ति पाउनेछ ।'

आफन्त दाहसंस्कारमा सहमत भएपछि कविताको शव करिब तीन घन्टा उनलाई यातना दिएको स्थान शिवालय परिसरमा राखिएको थियो । शव हेर्न र श्रद्धाञ्जलि दिन स्थानीय सयौंको भीड लागेको थियो । संसदीय छानबिन टोली, महिला मानव अधिकार आयोगको टोली, मानव अधिकार आयोगको टोली, प्रहरी प्रमुख, प्रशासन प्रमुख, अधिकारकर्मी, महिला अधिकारकर्मीर्लगायतको पनि सहभागिता थियो ।

उनको तिनाउ नदीस्थित मगरघाटमा दाहसंस्कार गरिएको छ । रक्सी सेवन तथा परपुरुषसँग लसपसको आरोपमा गत शनिबार स्थानीय महिला समूहका महिलाले मोसो दलेर हातखुट्टा बाँधी कुटपिट गरेको आफन्तको भनाइ थियो ।



एपेक अध्ययन टोली लुम्बिनीमा

लुम्बिनीलाई मुस्लिमको मक्का, इसाइको जेरुसेलम जस्तो पवित्र पर्यटकीय नगर बनाउने तीन अर्ब डलरको बृहद परियोजना बोकेको एशिया प्यासिफिक एक्सचेञ्ज एण्ड को अपरेशन फाउण्डेशन (एपेक) का सह अध्यक्ष कोलीन सेसेलटिन सहितको टोलीले बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको छ। भ्रमणको क्रममा सह अध्यक्ष कोलिनले लुम्बिनीलाई पवित्र तीर्थस्थलको रुपमा आधुनिक सेटेलाइट सिटीको रुपमा विकास गर्ने गरी सघाउन चाहेको बताए।


कोलीनले लुम्विनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदाको संरक्षण गरि पुरानो गुरुयोजनालाई सघाउ पुर्‍याउँदै अन्य भौतिक पूर्वाधार निर्माणको काममा सहयोग रहने जानकारी दिए।

लुम्बिनी सूचना केन्द्रमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पहिलो चरणमा लुम्विनीमा आधुनिक संचार सेवा पुर्‍याउने योजना सुनाए। त्यसका लागि आधुनिक मोबाईल सेवा, स्याटेलाईट फोन र अन्य आधुनिक संचारका पूर्वाधारहरुको विकास गर्ने योजनाका साथ काम हुने उनको भनाई छ।

विश्वका धेरै व्यापारिक प्रतिष्ठान, विभिन्न राष्ट्र एवं संघसंस्थाबाट सहयोग सम्बन्धि श्रोत जुटाउन लागेको पनि उनले जानकारी दिए। लुम्विनीमा अन्तराष्ट्रिय स्तरको विमानस्थल, सडक, रेल वे, सूचना प्रविधि, संचार सेवा पुर्‍याई लुम्विनीलाई अत्याधुनिक सेटेलाईट शहर बनाउने योजना रहेको एपेकका सदस्य सचिव नरेन्द्र उलकले जानकारी गराए। हेलिकोप्टरबाट आएका दुई पत्रकारसहित आठ एपेक प्रतिनिधिले लुम्विनी भ्रमण गरी काठमाण्डौ विहिवार नै फर्केको छ।

कोलिन सहितको टोलीलाई यहा लुम्विनी विकास कोषका कोषाध्यक्ष मझिलाल थारु थनेत लगायत कोषका कर्मचारीले स्वागत गरे। लुम्विनी गुरु योजनाका बारेमा कोषका सुचना अधिकृत हरि राईले जानकारी गराए।


ताईवानको प्रसिद्ध सञ्चार कम्पनी ताईतुङ कम्युनिकेशन कर्पोरेशन(टिसीसी)ले लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा पुर्‍याउनको लागि आवश्यक अध्ययन गर्न लुम्विनी आइपुगेको छ। टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लिको नेतृत्वमा मंगलबार आएको टोलीमा लि सहित पाँच सञ्चार विशेषज्ञ छन्।

एपेकले लुम्विनीमा अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गर्न खटाएको लिले जानकारी दिएका छन्। एपेकले टिसीसीलाई लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा सम्वन्धी अध्ययन गर्ने जिम्मा दिएको उनको भनाई छ।

टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लि सहितको टोलीले पाँच विशेषज्ञ सहित अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गरेको बताए पनि लुम्विनी विकास कोषले प्राविधिक अध्ययनको बिषयमा कुनै जानकारी नभएको बताएको छ।