अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 22, 2011

कविता थापा आत्महत्याका दोषीलाई कारवाही गर : संसदीय समिति

बुटवल नगरपालिका–१३ बस्ने कविता थापालाई स्थानीय आमा समूहले यातना दिएको र त्यसपछि आत्महत्या गरेको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति समक्ष बुझाएको छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिको सोमबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा उपसमितिले प्रतिवेदन बुझाउँदै घटनामा स्थानीय जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको छ ।

बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा ‘आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने’ कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मृतक कविता थापामाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको समयमा त्यहाँ कार्यरत प्रहरीको भूमिकासमेत प्रभावकारी नदेखिएकाले वडा प्रहरी कार्यालय, योगीकुटीका इन्चार्जसहितको टोली परिवर्तन गर्न र छुट्टै अनुसन्धान टोली खटाई उक्त घटनाको निष्पक्ष ढङ्गले छानबिन र अनुसन्धान गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत बैठकले दिएको छ ।

समितिका सभापति सन्ध्यादेवीको अध्यक्षतामा बसेको सो बैठकले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसात्मक घटनाको जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई भदौ ७ गते आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने समितिका सदस्यहरु विनोद पहाडी, कविता सरदार बाँतर, सीता पौडेललगायतले विभिन्न स्थानमा महिलामाथि हत्या, हिंसा र दुव्र्यवहारका घटना भइरहेता पनि प्रहरी प्रशासन मौन रहेकामा आपत्ति जनाए ।

बैठकले महिला जिल्ला समन्वय समिति गठन एवं कार्यविधि र संरचनाको संशोधनका लागि अध्ययन गर्न गठित उपसमितिको म्याद आगामी भदौ १० गतेसम्म थप गर्ने निर्णयसमेत गरेको छ ।

सडक सुरक्षा अवधारणा लागू हुने

प्रहरीले यहाँ सडक सुरक्षा चेक प्वाइन्ट -आरएससीसी) अवधारणा लागू गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई कसिलो, वैज्ञानिक र व्यवस्थित गर्न प्रहरीले उक्त अवधारणा ल्याएको हो । यो भदौ पहिलो साताबाट जिल्लामा लागू गरिने प्रहरीले बतायो ।

प्रहरी उपरीक्षक धीरु बस्न्यातले उक्त अवधारणा आफैं बनाई लागू गर्न लागेका हुन् । अवधारणाअन्तर्गत एक दिनमा ३० स्थानमा मोबाइल ब्यारिकेट -फलामको चलायमान ब्यारियर) राखेर चेकजाँच गरिनेछ । १० समूहमा रहने प्रहरी टोलीले एक ठाउँमा ४ घन्टासम्म बसेर चेक जाँच गर्नेछ । त्यसपछि फेरि अर्को पूर्वनिर्धारित ठाउँमा गएर चेकजाँच गर्नेछ । यसरी एक दिनमा एउटा टोलीले ३ स्थानमा गई चेकजाँचमा कडाइ गर्नेछ । टोलीमा संलग्न पूर्वका प्रहरीलाई पश्चिम, पश्चिमकालाई पूर्व तथा उत्तरकालाई दक्षिण र दक्षिणकालाई उत्तर पठाइनेछ ।

प्रत्येक चेक प्वाइन्टमा ९ प्रहरी खटाइनेछ । प्वाइन्टमा खटिने प्रहरीसँग मेटल डिडेक्टर, मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्ने उपकरण 'बे्रथ लाइजर', गाडी कति स्पिडमा गइरहेको छ भन्ने थाहा पाउन प्रयोग गरिने 'र्‍याडर' लगायतको उपकरण पनि रहनेछ । त्यस्तै ट्राफिक कोन, राति लगाउने ज्याकेट, हेड टर्च र लामो लाइट र भरटेक्स सञ्चार सेट पनि हुनेछन् । प्रधान कार्यालय र मन्त्रालयले रकम नदिए पनि प्रहरीले स्थानीय साधन स्रोत उपयोग गरेर अवधारणाअन्तर्गत काम गर्न लागेको हो ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पिपरा, जितपुर, अर्घाखाँची चोक, गोरुसिंगे, चन्द्रौटा र शिवपुरमा चेक प्वाइन्ट राखी चेकजाँच गरिनेछ । त्यस्तै कृष्णनगर-चन्द्रौटा सडक अन्तर्गत बहादुरगन्ज र शिवानगर चोक तथा तौलिहवा-लुम्बिनी सडकअन्तर्गत जमुबार पुल र पकडीमा चेकजाँच गरिनेछ । त्यस्तै तौलिहवा-मर्जादपुर सडकअन्तर्गत बरदहवा र तौलिहवा-महाराजगन्ज सडकअन्तर्गत छोटकी तौलिहवा लगायतका स्थानमा चेक प्वाइन्ट बनाइनेछ ।

सुरक्षाका लागि ३० मोबाइल ब्यारिकेट ल्याइसकिएको छ । बे्रथ लाइजर, र्‍याडर भने सिंगापुरबाट मगाइएको छ ।

अवधारणाअन्तर्गत जिल्लाका राजमार्ग, दक्षिणी भारतीय सीमा र छिमेकी रूपन्देही, अर्घाखाँची र दाङसँग जोडिने पक्की र कच्ची गरी ३ सय ३३ किलोमिटरभित्र सय बढी चेक प्वाइन्ट राखिनेछ ।