अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, November 6, 2011

रिडी - काली गण्डकी स्नानको लागि तीर्थालुको घुइँचो

हरिबोधनी एकादशीका अवसरमा पवित्र काली गण्डकी स्नान र ह्रिशी केशव भगवानको दर्शनको लागि रिडी काली नदीको किनरमा बिहानैदेखि स्नान गर्ने तीर्थालु भक्तजनको घुइँचो लागेको छ। गाउँगाउँबाट आएका तीर्थालु भक्तजनको स्नान गर्न घुइँचो लागेको हो। भक्तजनहरुले काली नदीमा स्नानपश्चात् ऋषिकेशव भगवानको पूजा अर्चना गरेका छन्।


बिहानैदेखि रिडी रुरु परिसरमा भक्तजनहरुले भजनकीर्तन समेत गरेर उपवास बसिरहेका छन्। पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीमा एकादशी मेला लागेकै बेला र्‍याफ्टिङ महोत्सव हुँदैछ। शुक्रबारदेखि सुरु महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव–२०६८ अन्तर्गत आजको आकर्षण र्‍याफ्टिङ रहेको आयोजकले बताएका छन्। महोत्सव अयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँडले आज र भोली र्‍याफ्टिङ हुने बताए। राम्दीमा श्रीमदभागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ। पण्डित दिनबन्धु पोखरेलको कथा बाचनमा चलेको महायज्ञमा हजारौंले सहभागिता जनाएका र कात्तिक २४ गतेसम्म चल्ने यज्ञबाट ६ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको खाँडले बताए। महायज्ञ जारीनै छ भने आज लाग्ने एकादशी मेला र र्‍याफ्टिङ उत्सवले राम्दी क्षेत्र तिर्थालु र आन्तरिक पर्यटकहरुको जमघटले खचाखच भरिने बताइएको छ। पाल्पाका रानीघाटमा पनि एकादशी मेला लागेको छ। यस्तै गुल्मीको ऐतिहासीक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा दिनभर श्रृद्धालु भक्तजनहरुको निक्कै घुँईचो लाग्ने गर्दछ। रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका सम्पूर्ण पापहरु नष्ट हुने धार्मिक विश्वास रहेको छ। रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत टाढा टाढाबाट पनि श्रृद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। रेसुङ्गा क्षेत्रमा श्रृद्धालु भक्तजनहरुको सुविधाका लागि सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेलले बताए।