अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, August 31, 2011

अर्घाखाँचीमा नाचगान गरेर तीज मनाइदै


आज हरितालिका तीज अथार्त हिन्दू नारीहरुले आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै निराहार व्रतबसि नाचगानका साथ यास पर्व मनाउने दिन । यसै अवसरमा काठमाडौँको पशुपतिनाथ  सहित अर्घाखाँचीमा पनि नाचगान गरेर   तीज मनाइदै छ / अहिले अर्घाखाँचीको बलकोट , चिदिका , ठुलापोखरा , केरुंगा , सन्धिखर्क लगायत ४२ वटै गाविसमा तीज गीतहरुको कारण संगीतमय भएको छ /


भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाएर आज तृतीयाका दिन व्रत बसी पाचमीको दिन सप्तर्षिको पूजा गरेपछि तीज सम्पन्न हुन्छ ।तीजको दर खान विशेषगरी माइतीले छोरी चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन यस पर्वमा पाइन्छ । हिन्दू महिलाको महान् धार्मिक पर्वका रुपमा लिइने तीजमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।

नारी स्वतन्त्रताको प्रतीकका रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी चुरा पोते र गरगहनामा सजिएका महिलाको आज बिहानैदेखि घुइँचो लागेको छ । धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराणमा वर्णन छ ।

भाद्र शुक्ल पूर्णिमाको तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न व्रत बसेपछि शिवजी पति पाएकाले तीजको व्रतको महत्व बढेको छ । सधवा नारीले पतिको आयु वृद्धिका लागि कन्याले उत्तम पुरुष पतिका रुपमा पाउन र विधवाले पतिको मुक्तिका लागि व्रत बस्ने गरेको पाइन्छ ।

तीजमा विगतका केही वर्षदेखि सरकारी र गैरसरकारीस्तरमा सामूहिकरुपमा दर खाने र चुरापोते बाँड्ने चलन पनि बढिरहेको छ । यस दिन महिलाका लागि सरकारी बिदा घोषणा गरिएको छ ।

बुटवलमा आधुनिक मासु प्रशोधन उद्योग

विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ ।

सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो ।

२०६६ फागुन १० गते बुटवल–१५ बदेलपोखरीमा स्थापना गरिएको उद्योगले चिकन ससेज, बफ ससेज र अस्ट्रिच सिफुडलगायत विभिन्न मासु परिकार उत्पादन गर्छ । हाल लुम्बिनी अञ्चलका ६ जिल्लालाई लक्षित गरी दैनिक ४ क्विन्टलका दरले उत्पादन भइरहेको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । निकट भविष्यमै उत्पादन बढाएर नारायणी, गण्डकी र राप्ती अञ्चलमा बजार विस्तार गर्ने लक्ष्य उद्योगको छ ।

करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योग अवलोकनका लागि जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । उद्योगले हाल स्थानीय बजारबाट नगन्य मात्रामा खसी पाइरहेको छ । सबैभन्दा बढी भारत र चीनको खासाबाट भेडा, च्यांग्रा आयात गर्ने गरिएको पौडेलले बताए ।

“७० प्रतिशत खसी नेपालबाहिरबाट र ३० प्रतिशत स्थानीयस्तरमा उपलब्ध हुन्छ,” उनले भने, “यो अवस्था कम गर्न थप ६० लाख रुपैयाँ लगानी गरेर यही वर्ष पाँच सय बाख्रा आफैं पाल्दैछौं ।”

आगामी पाँच वर्षभित्र २ हजार बाख्रा पाल्ने लक्ष्यसहित काम भइरहेको पौडेलले बताए । “कृषिप्रधान मुलुकमा बर्सेनि अर्बौं रुपैयाँका खसीबोका विदेशबाट आयात हुन्छ, यहाँका जनशक्ति काम नपाएर खाडी मुलुक भौतारिन्छन्,” उनले भने, “त्यसैले बाख्रापालनमा राष्ट्रकै ध्यान खिच्न हामीले उद्योगसँगै देशकै ठूलो बाख्रापालन फार्म सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।”

हाल खसी र कुखुराका गरी करिब ७० परिकार उपलब्ध गराउँदै आएको उद्योगले रुपन्देहीका मुख्य सहरहरूमा गाडीमार्फत फास्टफुड काउन्टरसमेत सञ्चालन गरिरहेको छ । उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगबाट निस्कने फोहरबाट बायोग्यास निकाल्ने गरिएकाले प्रदुषण नहुने पौडेल बताउँछन् । “फोहर पानी प्रशोधन गरेर सिँचाइ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको छ,” उनले भने