अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 22, 2011

कविता थापा आत्महत्याका दोषीलाई कारवाही गर : संसदीय समिति

बुटवल नगरपालिका–१३ बस्ने कविता थापालाई स्थानीय आमा समूहले यातना दिएको र त्यसपछि आत्महत्या गरेको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति समक्ष बुझाएको छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिको सोमबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा उपसमितिले प्रतिवेदन बुझाउँदै घटनामा स्थानीय जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको छ ।

बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा ‘आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने’ कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मृतक कविता थापामाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको समयमा त्यहाँ कार्यरत प्रहरीको भूमिकासमेत प्रभावकारी नदेखिएकाले वडा प्रहरी कार्यालय, योगीकुटीका इन्चार्जसहितको टोली परिवर्तन गर्न र छुट्टै अनुसन्धान टोली खटाई उक्त घटनाको निष्पक्ष ढङ्गले छानबिन र अनुसन्धान गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत बैठकले दिएको छ ।

समितिका सभापति सन्ध्यादेवीको अध्यक्षतामा बसेको सो बैठकले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसात्मक घटनाको जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई भदौ ७ गते आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने समितिका सदस्यहरु विनोद पहाडी, कविता सरदार बाँतर, सीता पौडेललगायतले विभिन्न स्थानमा महिलामाथि हत्या, हिंसा र दुव्र्यवहारका घटना भइरहेता पनि प्रहरी प्रशासन मौन रहेकामा आपत्ति जनाए ।

बैठकले महिला जिल्ला समन्वय समिति गठन एवं कार्यविधि र संरचनाको संशोधनका लागि अध्ययन गर्न गठित उपसमितिको म्याद आगामी भदौ १० गतेसम्म थप गर्ने निर्णयसमेत गरेको छ ।

सडक सुरक्षा अवधारणा लागू हुने

प्रहरीले यहाँ सडक सुरक्षा चेक प्वाइन्ट -आरएससीसी) अवधारणा लागू गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई कसिलो, वैज्ञानिक र व्यवस्थित गर्न प्रहरीले उक्त अवधारणा ल्याएको हो । यो भदौ पहिलो साताबाट जिल्लामा लागू गरिने प्रहरीले बतायो ।

प्रहरी उपरीक्षक धीरु बस्न्यातले उक्त अवधारणा आफैं बनाई लागू गर्न लागेका हुन् । अवधारणाअन्तर्गत एक दिनमा ३० स्थानमा मोबाइल ब्यारिकेट -फलामको चलायमान ब्यारियर) राखेर चेकजाँच गरिनेछ । १० समूहमा रहने प्रहरी टोलीले एक ठाउँमा ४ घन्टासम्म बसेर चेक जाँच गर्नेछ । त्यसपछि फेरि अर्को पूर्वनिर्धारित ठाउँमा गएर चेकजाँच गर्नेछ । यसरी एक दिनमा एउटा टोलीले ३ स्थानमा गई चेकजाँचमा कडाइ गर्नेछ । टोलीमा संलग्न पूर्वका प्रहरीलाई पश्चिम, पश्चिमकालाई पूर्व तथा उत्तरकालाई दक्षिण र दक्षिणकालाई उत्तर पठाइनेछ ।

प्रत्येक चेक प्वाइन्टमा ९ प्रहरी खटाइनेछ । प्वाइन्टमा खटिने प्रहरीसँग मेटल डिडेक्टर, मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्ने उपकरण 'बे्रथ लाइजर', गाडी कति स्पिडमा गइरहेको छ भन्ने थाहा पाउन प्रयोग गरिने 'र्‍याडर' लगायतको उपकरण पनि रहनेछ । त्यस्तै ट्राफिक कोन, राति लगाउने ज्याकेट, हेड टर्च र लामो लाइट र भरटेक्स सञ्चार सेट पनि हुनेछन् । प्रधान कार्यालय र मन्त्रालयले रकम नदिए पनि प्रहरीले स्थानीय साधन स्रोत उपयोग गरेर अवधारणाअन्तर्गत काम गर्न लागेको हो ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पिपरा, जितपुर, अर्घाखाँची चोक, गोरुसिंगे, चन्द्रौटा र शिवपुरमा चेक प्वाइन्ट राखी चेकजाँच गरिनेछ । त्यस्तै कृष्णनगर-चन्द्रौटा सडक अन्तर्गत बहादुरगन्ज र शिवानगर चोक तथा तौलिहवा-लुम्बिनी सडकअन्तर्गत जमुबार पुल र पकडीमा चेकजाँच गरिनेछ । त्यस्तै तौलिहवा-मर्जादपुर सडकअन्तर्गत बरदहवा र तौलिहवा-महाराजगन्ज सडकअन्तर्गत छोटकी तौलिहवा लगायतका स्थानमा चेक प्वाइन्ट बनाइनेछ ।

सुरक्षाका लागि ३० मोबाइल ब्यारिकेट ल्याइसकिएको छ । बे्रथ लाइजर, र्‍याडर भने सिंगापुरबाट मगाइएको छ ।

अवधारणाअन्तर्गत जिल्लाका राजमार्ग, दक्षिणी भारतीय सीमा र छिमेकी रूपन्देही, अर्घाखाँची र दाङसँग जोडिने पक्की र कच्ची गरी ३ सय ३३ किलोमिटरभित्र सय बढी चेक प्वाइन्ट राखिनेछ ।



Friday, August 19, 2011

अर्घाखाँची बलकोट घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मिया र लगायतलाई सार्वजनिक मुद्दा

भन्सार अधिकृत र कर्मचारीमाथि दुव्र्यवहार गरी कुटपिट गर्ने २ जनालाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दा चलाएको छ ।

कृष्णनगर भन्सारका २२ कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै प्रशासनमा उजुरी गरेपछि आरोपीलाई पक्राउ गरी मुद्दा चलाइएको हो । गत साउन ३० मा कृष्णनगर गाविस २ बस्ने अकिल मिया र अर्घाखाँची बलकोट २ घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मियाले भन्सार अघिकृत लगायत ६/७ कर्मचारीलाई कार्यालयमा गई गाली गलौज, दुव्र्यवहार र हातपात गरेका थिए । उनीहरूले अवैध रूपमा चोरी तस्करी गरी ल्याएका समान गत साउन २६ मा कृष्णनगरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको थियो ।


कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई २ नगरपालिका बनाउन सिफारिस

कपिलबस्तुमा नगरपालिका बनाउन नेपाल सरकारले घोषणा गरेपछि कपिलबस्तुमा पनि अहिले जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण सिफारिस समितिले जिल्लामा २ नगरपालिका बनाउन सिफारिस पठाएको छ । उक्त सिफारिस समितिले कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई बिभिन्न गाबिससंग गाभेर केन्द्रिय सिफारिस समितिमा नगरपािलका बनाउन सिफारिस पठाएको बताएको छ ।उक्त समितिले यसरी कष्णनगर र शिवराज नगरपािलका नामाकरण गरेको छ । उक्त २ नगरलाई नगरपालिकाको सिफरिस गरी पठाएको जिबिस कपिलबस्तुले बताएको छ । जिल्लामा एक साता सम्म ब्यापकरुपमा अध्ययन, अवलोकन, छलफल र बैठक गरी नगरपालिकाको सिफारिस गर्न समितिलेनिर्णय गरेको हो । उक्त दुई स्थानमा नगरपािलकाका लागि चाहिने सम्मपुर्ण मापदण्ड पुरा भएको बताईएको छ ।


समितिका संयोजक तथा स्थानीय बिकास अधिकारी चिरीञ्जीवी भण्डारीका अनुसार समितिले नगरपािलको नाम, समाबेश गाबिसको संख्या, नगरपािलकाको केन्द्र, वडा संख्या र चार किल्ला बिभाजन गरी सिफारिस पठाएको बताउनुभयो ।

Wednesday, August 17, 2011

लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा दुई किलोको हाईडाटिड सिष्टको सफल अप्रेसन

कलेजोमा जोडिएर रहेको दुई किलोको हाईडाटिड सिष्टको लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा अप्रेसन सफल भएको छ । ल्याप्रोटोमी प्रविधिबाट गरिएको अप्रेसन सफल भएपछि चिकित्सकहरु खुसी भएका छन् ।

गुल्मीको बुढीचौर घर भएका ११ वर्षीय सन्तोष सुनारीको कलेजोबाट मंगलवार शल्यक्रिया गरेर सिस्ट निकालिएको हो । प्राध्यापक डा. वाईजी ताम्बे, डा. प्रकाश सापकोटा र डा. प्रदिप तिमिल्सेना लगायत चिकित्सकको टोलीले शल्यक्रिया गरेका हुन् । ल्याप्रोटोमी प्रविधिबाट पहिलो पटक यति ठूलो सिस्टको सफल अप्रेसन गरिएको हो ।

सुनारीको कलेजोमा दुई किलो एकसय ग्रामको सिस्ट रहेको थियो । बरिष्ठ सर्जन डा. प्रकाश सापकोटाका अनुसार डेढ लिटर पानीले भरिएको अवस्मा रहेको सिस्टलाई सफलतापुर्वक शल्यक्रिया गरिएको छ । सामान्य मासु पलाउने र पानी जम्ने भएपनि यति ठुलो कमै हुने उनले बताए । शल्यक्रिया पश्चात् सुनारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



Friday, August 12, 2011

बुटवल योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार

जनजागरण महिला समूहका महिलालगायत स्थानीय महिलाको यातनापछि आत्मग्लानिका कारण आत्महत्या गरेकी भनिएकी बुटवलको योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार गरिएको छ ।

पीडित पक्ष, संसदीय छानबिन टोली, महिला आयोगको अध्ययन टोली, जिल्लास्तरीय सुरक्षा निकाय र राजनीतिक दलहरूबीच सबै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, पीडितलाई न्यायोचित राहत उपलब्ध गराउने र सबै पक्षको सहभागितामा सम्मानजनक अन्त्येष्टि गर्ने तीन कुरामा सहमति भएपछि मृतकका परिवार शव दाहसंस्कार गर्न सहमत भएका हुन् । 'सबै पक्षबाट तिमीहरू अन्यायमा पर्दैनौ, मृत्युपछि भए पनि आमाले न्याय पाउँछिन् भन्ने भएपछि संस्कार गर्ने भएका हौं,' मृतक कविताका छोरा सविनले भने, 'कानुन मिचेर आमालाई यो गतिमा पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएपछि मात्र आमाको आत्माले शान्ति पाउनेछ ।'

आफन्त दाहसंस्कारमा सहमत भएपछि कविताको शव करिब तीन घन्टा उनलाई यातना दिएको स्थान शिवालय परिसरमा राखिएको थियो । शव हेर्न र श्रद्धाञ्जलि दिन स्थानीय सयौंको भीड लागेको थियो । संसदीय छानबिन टोली, महिला मानव अधिकार आयोगको टोली, मानव अधिकार आयोगको टोली, प्रहरी प्रमुख, प्रशासन प्रमुख, अधिकारकर्मी, महिला अधिकारकर्मीर्लगायतको पनि सहभागिता थियो ।

उनको तिनाउ नदीस्थित मगरघाटमा दाहसंस्कार गरिएको छ । रक्सी सेवन तथा परपुरुषसँग लसपसको आरोपमा गत शनिबार स्थानीय महिला समूहका महिलाले मोसो दलेर हातखुट्टा बाँधी कुटपिट गरेको आफन्तको भनाइ थियो ।



एपेक अध्ययन टोली लुम्बिनीमा

लुम्बिनीलाई मुस्लिमको मक्का, इसाइको जेरुसेलम जस्तो पवित्र पर्यटकीय नगर बनाउने तीन अर्ब डलरको बृहद परियोजना बोकेको एशिया प्यासिफिक एक्सचेञ्ज एण्ड को अपरेशन फाउण्डेशन (एपेक) का सह अध्यक्ष कोलीन सेसेलटिन सहितको टोलीले बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको छ। भ्रमणको क्रममा सह अध्यक्ष कोलिनले लुम्बिनीलाई पवित्र तीर्थस्थलको रुपमा आधुनिक सेटेलाइट सिटीको रुपमा विकास गर्ने गरी सघाउन चाहेको बताए।


कोलीनले लुम्विनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदाको संरक्षण गरि पुरानो गुरुयोजनालाई सघाउ पुर्‍याउँदै अन्य भौतिक पूर्वाधार निर्माणको काममा सहयोग रहने जानकारी दिए।

लुम्बिनी सूचना केन्द्रमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पहिलो चरणमा लुम्विनीमा आधुनिक संचार सेवा पुर्‍याउने योजना सुनाए। त्यसका लागि आधुनिक मोबाईल सेवा, स्याटेलाईट फोन र अन्य आधुनिक संचारका पूर्वाधारहरुको विकास गर्ने योजनाका साथ काम हुने उनको भनाई छ।

विश्वका धेरै व्यापारिक प्रतिष्ठान, विभिन्न राष्ट्र एवं संघसंस्थाबाट सहयोग सम्बन्धि श्रोत जुटाउन लागेको पनि उनले जानकारी दिए। लुम्विनीमा अन्तराष्ट्रिय स्तरको विमानस्थल, सडक, रेल वे, सूचना प्रविधि, संचार सेवा पुर्‍याई लुम्विनीलाई अत्याधुनिक सेटेलाईट शहर बनाउने योजना रहेको एपेकका सदस्य सचिव नरेन्द्र उलकले जानकारी गराए। हेलिकोप्टरबाट आएका दुई पत्रकारसहित आठ एपेक प्रतिनिधिले लुम्विनी भ्रमण गरी काठमाण्डौ विहिवार नै फर्केको छ।

कोलिन सहितको टोलीलाई यहा लुम्विनी विकास कोषका कोषाध्यक्ष मझिलाल थारु थनेत लगायत कोषका कर्मचारीले स्वागत गरे। लुम्विनी गुरु योजनाका बारेमा कोषका सुचना अधिकृत हरि राईले जानकारी गराए।


ताईवानको प्रसिद्ध सञ्चार कम्पनी ताईतुङ कम्युनिकेशन कर्पोरेशन(टिसीसी)ले लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा पुर्‍याउनको लागि आवश्यक अध्ययन गर्न लुम्विनी आइपुगेको छ। टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लिको नेतृत्वमा मंगलबार आएको टोलीमा लि सहित पाँच सञ्चार विशेषज्ञ छन्।

एपेकले लुम्विनीमा अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गर्न खटाएको लिले जानकारी दिएका छन्। एपेकले टिसीसीलाई लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा सम्वन्धी अध्ययन गर्ने जिम्मा दिएको उनको भनाई छ।

टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लि सहितको टोलीले पाँच विशेषज्ञ सहित अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गरेको बताए पनि लुम्विनी विकास कोषले प्राविधिक अध्ययनको बिषयमा कुनै जानकारी नभएको बताएको छ।