अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, October 19, 2011

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै गरेको जिपबाट खसेर एकजनाको मृत्यु

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै  गरेको लु१ज ११६८ नम्बरको जिपबाट खसेर गुल्मी दौँघा गाविस वडा नम्बर ६ का १८ वर्षीय मानबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। तम्घास-तानसेन सडक खण्ड अन्तर्गत पाल्पाको देउराली लगुवामा गुडिरहेको जिपबाट खसेर एकजनाको ज्यान गएको  हो ।   जिपको ढोकामा झुण्डिएर यात्रा गरिरहेका नेपालीको टाउकोमा गम्भीर चोट लागेकामा उपचारका लागि तानसेन तर्फ ल्याउँदै गर्दा बीच बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


यौन कृयाकलापमा संलग्न एक जोडी रङ्गेहात पक्राउ

यौन कृयाकलापमा संलग्न एक जोडीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। तानसेनको बनदेवी भन्ने स्थानमा यौनसम्पर्क गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरुमा जिल्लाको चापपानी गाविस-९ घर भई हाल तानसेन बसेर क्याम्पस अध्ययन गर्दै आएका २१ वर्षीय युवा र मस्याम गाविस-६ घर भई हाल तानसेन बसी अध्ययन गर्दै आएकी १९ वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जनाउनुभएको

दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई ढुंगा बोक्ने सजाय

दसैंमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।


ठूलोलुम्पेक-९ का २४ वर्षीय हरि विश्वकर्मालाई मन्दिरमा पूजा गरेको आरोपमा गाउँलले सजाय तोकेका हुन् । परम्परागत रीतिरिवाज उल्लंघन गरेको भन्दै आफूलाई गाउँलेले स्थानीय धुसेनी पहाडी प्राथमिक विद्यालयका लागि चार दिनसम्म ढुंगा बोक्ने सजाय तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि गाउँबाट विस्थापित भई उनी पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका हुन् ।

'दसैंको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गरेर बाहिर निस्केको थिएँ,' उनले भने, 'अध्यक्ष अनन्त भट्टराई र शिक्षक रामप्रसाद पाण्डे लगायतले मन्दिरमा तँ दलित किन पसिस् भन्दै कुटपिट गरे ।' त्यसपछि गाउँलेले छलफल गरी सजाय तोक्दै ढुंगा बोक्न पटक-पटक धम्क्याएपछि न्याय खोज्दै गुल्मीको सदरमुकाम तम्घास आई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रिडीमा निवेदन दिएर उनी पाल्पा आएका हुन् ।

शिक्षक पाण्डेले भने आफूले कुटपिट नगरेको बताए । 'मैले होइन, युवाहरूले हात हालेका हुन्,' उनले भने ।

'एक्लै चार दिनभर ढुंगा बोक्नुपर्ने निर्णय गरे,' उनले भने, 'गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।' गाउँमा चार घर दलित परिवार बसोवास गर्छन् । इलाका प्रहरी कार्यालय रिडी, गुल्मीका प्रहरी सहायक निरीक्षक जनक भुसालले पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिने बताए ।

भारतीय राजदुताबासको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने

भारतीय राजदुताबासको ३ करोड ९३ लाख रुपैयाको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने भएको छ्। गएको आस्विन २७गते ग्रामीण बिकास तथा भवन निर्माण बिभाग पाल्पा,संस्कृत तथा सधारणा मा बी, रिडी र भारतीय राजदुताबासका बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ्।

सम्झौता अनुसार दुतावासले तीन तले,करीब ४०० विद्यार्थी क्षमता भएको भवन निर्माणका लागि ३ करोड ९३ लाख रुपैया उपलब्ध गराउने छ्। नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको उक्त भवनको निर्माण ग्रामीण बिकास तथा भवन निर्माण बिभाग,पाल्पाले गर्नेभएको छ्। गुल्मीमा यो भारत सरकारको पाँचौ बिकास परीयोजना हो।

Tuesday, October 18, 2011

अर्घाखाँचीका ४२ गाविस मध्ये झन्डै ३७ गाविसमा टोलैपिच्छे सडकको पहुँच

एउटा पहाडी जिल्लामा कति वटा सडक होलान् ? अर्घाखाँचीका हकमा भने तपाईको अनुमान फेल खान सक्छ । जिल्लाका ४२ मध्ये झन्डै ३७ गाविसमा टोलैपिच्छे सडकको पहुँच छ । तिनको संख्या ५ सयभन्दा बढी छ । घरघरमा यातायातको सुविधा पुगेको छ । सुविधाले यहाँका सर्वसाधारण पैदल हिँड्न छाडेका छन् । सडकको हिसाबले अर्घाखाँची मुलुककै नमुना बन्न पुगेको छ ।


गाविसका सबै टोलटोलमा गाडी पुगेपछि सर्वसाधारणले सुविधा पाएका छन् । टोलसम्म सडक पुर्‍याउन स्थानीयले वनको घाँस, दाउरा बेचेर र चन्दा उठाएर रकम संकलन गरेका हुन् । एउटा वडामा कम्तीमा १० वटा सडक छन् । सडक सुविधाले गर्दा एकैदिनमा सदरमुकामसहित जिल्लाका सबै गाविस घुम्न सकिन्छ ।

सबै सर्वसाधारणलाई यातायातको सुविधा भएको महसुस गराउन जिल्ला परिषद्ले ७० प्रतिशत बजेट छुट्याएर सात वर्षदेखि सडक निर्माणमा लागिपरेको छ । वषर्ायाममा समेत गाउँमा गाडी चल्छन् । चार वर्षदेखि जिल्लावासी जुनसुकै ठाउँमा जाँदा पैदल हिँड्न छाडेका हुन् । जिल्ला विकास समितिको तथ्यांकमा अहिलेसम्म निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक, २८ मुख्य सडक, ५० वटा गाउँस्तरीय र ९६ वटा जिल्ला स्तरीय सडक छन् । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलका अनुसार यो वर्ष १६ वटा सहायक स्तरका सडक निर्माण र ९ वटा मुख्य सडकको स्तरोन्नति गरिँदै छ । यी सडक जिल्ला विकास समितिको योजना खनिएका हुन् । यीबाहेक गाउँलेले चन्दा संकलन, वनको आम्दानी र आफैंले खनेका सडक त्यसको दोब्बर छन् ।

गाउँलेको प्रयासमा खनिएका मोटरबाटाको अभिलेख जिविसले राखेको छैन । यस्ता सडक ३ सय ५० भन्दा बढी रहेको अनुमान छ । गाउँलेले आफैं उपभोक्ता समिति गठन गरेर जिविसलाई जानकारी नदिई सडक बनाएर पनि मोटर गुडाएका छन् । टोलस्तरीय सडकका लागि बिदेसिएका युवाहरूले सामूहिक चन्दा संकलन गरी रकम जुटाउने गरेका छन् । मोटर पुगेपछि गाउँमा अकस्मात् बिरामी पर्नेहरू पनि सजिलै सदरमुकामको अस्पताल पुग्न सकेका छन् । विवाह, पूजाआजा, भोजभतेरदेखि राजनीतिक दलले गर्ने सानाठूला कार्यक्रममा समेत कोही पैदल हिँड्दैनन् । अधिकांश गाउँलेले १० मिनेटको पैदल हिँडेपछि गाडी चढेर सदरमुकाम र अन्य गाउँमा जान पाउँछन् । गाउँका सबै बाटोमा जिप र ट्याक्टर चल्छन् । राम्रो सडक भएका २० गाविसका मुख्य सडकमा बस चल्छन् । यहाँ देउराली यातायात समितिद्वारा सञ्चालित १ सय ५ वटा जिप गाउँगाउँ पुगेका छन् । छिमेकी जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु, दाङसम्म ३ देखि ४ घन्टाको यात्रामा पुग्न सकिन्छ ।

जिल्लाको दक्षिणी भेग सिमलपानी, जलुके, जुकेना, सिद्धारा, सुवर्णखाल गाविस भौगोलिक हिसाबले धेरै ठूला र बस्ती पातलो भएकाले यी गाविसको टोलसम्म बाटो पुर्‍याउन योजनाबद्ध ढंगले ध्यान दिएको जिविसले जनाएको छ । वर्षाको बेला पहिराले बाटो भत्काइदिएका गाउँका मुख्य र सहायक सडकलाई सरकारी बजेटबाट मर्मत सुधार गरिन्छ । टोलस्तरका बाटा भने गाउँलेले आफैं मर्मत गर्दै आएका छन् । जिल्लाका २८ वटा मुख्य सडकलाई ग्राभेल गर्ने योजना रहेको स्थानीय विकास अधिकारी पौडेलले बताए । गाउँमा मोटर पुगेपछि गाउँलेले सदरमुकाम झर्दा घरमा उत्पादन भएका तरकारीदेखि फलफूल बेच्न ल्याउने गरेको बाँगी गाविसका पूर्वअध्यक्ष पीताम्बर भुसालले बताए । उनले भने, 'यातायातले कामलाई छिटो बनाइदिएको छ ।'

सडक बनेपछि सदरमुकाममा पुगेर एकै दिनमा नागरिकता बनाउने लगायत अड्डाअदालतका काम सकी र्फकने गरेको गाउँलेको भनाइ छ । 'टोलसम्मै सवारी साधन पुगेपछि अर्घाखाँचीका बासिन्दाको आर्थिक स्तर बढेको छ,' पूर्वअध्यक्ष भुसालले भने, 'बजार पाउन थालेकाले तरकारी, फलफूल, जडिबुटी उत्पादनमा वृद्धि हुँदै गएको छ ।'

गाउँमा आफ्नो प्रभाव देखाउन राजनीतिक दलहरूले बाटोमा बढी बजेट हाल्ने गरेका छन् । जिल्ला, क्षेत्र र गाउँ स्तरीय पहुँचवाला स्थानीय नेताले आफ्नो गाउँमा धरै बाटो खनेका छन् ।

Friday, September 2, 2011

आज पनि दुर्घटना

आज बुटवल बाट सालझंदी तर्फ जादैगरेको लु .१ ज २१३९ नम्बरको जीपले परुवा ४ मा घरबाट सडकतर्फ निस्कन लाग्दै गरेको लु.१ ज.३५७४ नम्बर को कार लाई ठक्कर दिदा चालक प्रदीप गौतम घाइते हुनुभएको छ / घाइतेभएका गौतमको स्थानीय मेडिकल मा उपचार भै रहेको छ /

यसैगरि बुटवलबाट पश्चिमतिर जादैगरेको लु .४ प. ८४०३ नम्बरको मोटर साइकलले सोहि दिसातिर गैरहेको लु .१० प. ९८०९ नम्बरको मोटरलाई परुवा-४ मुर्गीयामा ठक्कर दिदा रुपन्देही मानपकडीका जनार्दन चौहान घाइते भएका छन् , चौहान लाई स्थानीय परुवा मेडिकलमा उपचार हुननसक्दा थप उपचारको लागि बुटवल ल्याइएको प्रहरी स्रोतले जनाएको छ /
 

पाल्पाको चिदीपानीमा ट्याक्सी दुर्घटना

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी -१ विरौटामा शुक्रवार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

पोखराबाट वुटवल हिडेको ग १ ज ३८०५ नम्वरको ट्याक्सी दुर्घटनामा परी बाग्लुङ्ग, ताराखोलाका चेतराम कन्डेलको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दी मुन गाविस ४ का नन्दप्रसाद रोकामगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको लुम्विनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ ।

घाइते चालक गोरखा ठूलो रिपका गणेश रानामगर र बाग्लुङ्गका धनबहादुर रानामगरको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाग्रस्त ट्क्याक्सी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनायो ।