अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, November 9, 2011

मलामी गएका कालीगण्डकीमा बेपत्ता

मलामी गएका पाल्पा यम्घा - ५ का गोपीकृष्ण बस्याल कालीगण्डकीमा बेपत्ता भएका छन्।


पाल्पा र स्याङ्गजाको सङ्गमस्थल राम्दी गएका २५ वर्षीय बस्याल कालीगण्डकीमा आफ्तको दाहसंकार गरी नदीमा नुहाउने क्रममा आज बिहान १० बजेतिर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको अहिले तीव्र रुपमा खोजी कार्य भइरहेको छ।

लुम्बिनीमा भारतीय चासो

भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालद्धारा मंगलबार आयोजना गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनु भएको हो।


साक्षात्कारमा सिंहले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। उहाँले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए । यसकोलागी आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गर्नुभयो। उहाँले लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर गर्नुपर्ने बताउनुभयो।

उहाँले एपेकमार्फत चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव समेत दिनुभयो।

पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुवीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उहाँले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गर्नुभयो। नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायीत्वमा भारतको चासो र सदभाव रहेको उहाँको जोड रहेको थियो।

कार्यक्रममा डा. सिंहले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतिहरु प्रयाप्त रहेको बताउनुभयो। उहाँले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुवीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायीत्वमा भारत सधै चासो रहने बताउनुभयो। साक्षात्कारका सभापति क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको भन्दै भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाईदा लिनसक्नु पर्ने बताउनुभयो।

Sunday, November 6, 2011

रिडी - काली गण्डकी स्नानको लागि तीर्थालुको घुइँचो

हरिबोधनी एकादशीका अवसरमा पवित्र काली गण्डकी स्नान र ह्रिशी केशव भगवानको दर्शनको लागि रिडी काली नदीको किनरमा बिहानैदेखि स्नान गर्ने तीर्थालु भक्तजनको घुइँचो लागेको छ। गाउँगाउँबाट आएका तीर्थालु भक्तजनको स्नान गर्न घुइँचो लागेको हो। भक्तजनहरुले काली नदीमा स्नानपश्चात् ऋषिकेशव भगवानको पूजा अर्चना गरेका छन्।


बिहानैदेखि रिडी रुरु परिसरमा भक्तजनहरुले भजनकीर्तन समेत गरेर उपवास बसिरहेका छन्। पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीमा एकादशी मेला लागेकै बेला र्‍याफ्टिङ महोत्सव हुँदैछ। शुक्रबारदेखि सुरु महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव–२०६८ अन्तर्गत आजको आकर्षण र्‍याफ्टिङ रहेको आयोजकले बताएका छन्। महोत्सव अयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँडले आज र भोली र्‍याफ्टिङ हुने बताए। राम्दीमा श्रीमदभागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ। पण्डित दिनबन्धु पोखरेलको कथा बाचनमा चलेको महायज्ञमा हजारौंले सहभागिता जनाएका र कात्तिक २४ गतेसम्म चल्ने यज्ञबाट ६ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको खाँडले बताए। महायज्ञ जारीनै छ भने आज लाग्ने एकादशी मेला र र्‍याफ्टिङ उत्सवले राम्दी क्षेत्र तिर्थालु र आन्तरिक पर्यटकहरुको जमघटले खचाखच भरिने बताइएको छ। पाल्पाका रानीघाटमा पनि एकादशी मेला लागेको छ। यस्तै गुल्मीको ऐतिहासीक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा दिनभर श्रृद्धालु भक्तजनहरुको निक्कै घुँईचो लाग्ने गर्दछ। रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका सम्पूर्ण पापहरु नष्ट हुने धार्मिक विश्वास रहेको छ। रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत टाढा टाढाबाट पनि श्रृद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। रेसुङ्गा क्षेत्रमा श्रृद्धालु भक्तजनहरुको सुविधाका लागि सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेलले बताए।

Friday, November 4, 2011

पाल्पाली युवाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थाले

पाल्पाली युवाले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थालेका छन्। 'बाबुरामलाई काम गर्न देउ' लेखिएका गन्जी लगाएर युवाले पार्टी भन्दा माथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्ने बताए।


बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर उनीहरुले योग्यलाई मौका दिनुपर्ने बताए। कुनै दलसँग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुले बताए।



'सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ, अखिर कसैलाई त विश्वास गर्नै पर्‍यो' अभियानका अगुवा सागर घिमिरेले भने 'परीक्षामा सँधै प्रथम भएका, कुशल अर्थमन्त्री भैसकेका र अहिलेसम्म जनचाहना बुझेर अघि बढेका प्रधानमन्त्री भएकाले हामीले उहाँलाई समर्थन गरेका हौँ।'

उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको उनीहरुले बताए। अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका प्रिय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको बताए। उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन्।

टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागिन

  
स्थानीय विकासमन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागेकी छिन् ।


बुटवल लक्ष्मीनगरका रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र विवाहपछि खान लाउन नदिएको भन्दै सीमा अंश मागसहित रुपन्देही जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेकी छिन् । उजुरी दर्ता गरेको जानकारीपछि माओवादी अबध राज्यसमितिका सचिव निर्मलकुमारले आजै एक बिज्ञप्ति जारी गरि सीमालाई अनैतिक र अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको बताएका छन् ।

बिसं २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाका २२ बषिर्य छोरा र १८ बषिर्य छोरी रहेका छन् । कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र ३-४ महिनाअघि मात्र विवाह गरेको सीमाले दावी गरेकी छिन् । माओवादी स्रोतका अनुसार युद्धकालदेखि नै ठेकेदारहरुसँग सम्बन्धमा रहँदै आएकी सीमाको टोपबहादुरसँग राम्रो सम्बन्ध थिएन् । तर उनले रायमाझीसँग सम्बन्ध विच्छेद गरेकी छैनन । रायमाझी भौतिक योजनामन्त्री छँदा उनलाई खानेपानी संस्थानको बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

योगमायाले कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ । रामु कार्की भनिने रामबहादुर बुटबलमा ठेकेदार र म्यानपावर दलालका रुपमा चिनिन्छन् । माओवादीको वाईसिएलमा संलग्न रहेका उनी बुटवलका सार्वजनिक कार्यक्रमहरुमा सँगै देखिनुका साथै एकअर्काप्रति अस्वभाविक माया प्रर्दशन गर्दथे ।

माओवादी अवध राज्यसमिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो ।

टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि.सं. २०४० को दशकमा योगमायासँग भेट भएको थियो । लाहुरेकी छोरी योगमायाले मन पराएपछि २ जनाबीच बि.सं. २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । अर्घाखाँचीका रायमाझी विवाह गर्दा २८ वर्षका थिए ।

Wednesday, November 2, 2011

कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी

गएराति कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ भन्दा बढिको क्षती भएको छ । आगलागीबाट फ्रिज, टिभी, राइसकुकरलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रहरीले आगलागीबाट २० लाख भन्दा बढिको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले आगलागी कसरी भयो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । मध्ये रातमा सुरु भएको आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।

छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित

गत साउन २२ गतेदेखि वेपत्ता छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित बनेका छन् । तानसेन नगरपालिका–४, बारुदखानका १६ वर्षिय किशोर न्यौपानेको अहिलेसम्म अवस्था सार्वजनिक नभएको हो ।


दुईसाता अघि प्रहरीले पत्रकार सम्मेलन गरी किशोर आफै अपहरणको नाटक गरेको दाबी गरेको थियो । बाबु रामप्रसाद र आमा नुनाकुमारीले मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले जे भनेको भएपनि अवस्था पत्ता लगाईदिन सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । उनीहरुले राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, विद्यार्थी, उद्योगी, प्रशासन, प्रहरी सबैसंग आफ्नो छोराको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।

उनीहरुले प्रहरीले भनेजस्तै किशोर आफैले घटना बनाउन नसक्ने दावी गरे । ‘उसले आफै अपहरणको नाटक गरेपनि प्रहरीले खोज्नु पर्यो’ बाबु रामप्रसादले भने, ‘छोरा भारततिर गएको भनेर प्रहरी उम्किन मिल्दैन । मेरो छोराको खोजी गरिनुपर्छ' उनले छोरा दोषी भए त्यसलाई पक्रेर कारवाही गर्न समेत आग्रह गरे । प्रहरीले दुईसाता अघि पत्रकार सम्मेलन गरी अपहरण नभएको बताएको थियो ।

प्रहरीको दावी झुठा रहेको दावी उनीहरुले गरे । ‘मेरो छोराको बानी राम्रोसंग थाहा छ’ उनले भने, ‘कुनै हालतमा यस्तो योजना बनाउन सक्दैन ।’ प्रहरीले छोरालाई पक्रेर पुष्टी गर्नुपर्नेमा जोड दिए । अनुसन्धानमा ढिलाई हुँदा सत्य कुरा लुक्न सक्ने उनीहरुले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत् भारतको विभिन्न स्थानमा खोजी कार्यका लागि अनुरोध गरिसकिएको बताए । अपहरणको नाटक गरेका किशोर नेटवर्किङ् व्यवसायको सिलसिलामा भारतमा गएको थपलियाले दाबी गरे ।