अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, July 17, 2011

सन्धिखर्क नगरपालिका घोषणा

सरकारले बजेटमार्फत अर्घाखाँचिको सदरमुकाम सन्धिखर्क सँगै ४१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । २०५८ सालमा प्रा. सूर्यलाल अमात्यको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको सिफारिस अनुसार सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो ।


अर्घाखाँचिको जिल्लाको सदरमुकाम सन्धिखर्क गाविसलाई  सन्धिखर्क  नगरपालिका घोषणा गरिएको हो । त्यसैगरी छिमेकी जिल्ला गुल्मीको  सदरमुकाम  तम्घास गाविसलाई  पनि तम्घास नगरपालिका घोषणा गरिएको छ ।

काठमाडौंमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको छ। त्यस्तै ललितपुर भैंसेपाटी क्षेत्रका केही गाविस मिलाएर कार्यविनायक नगरपालिका घोषणा भएको छ। ललितपुरमै अर्को चम्पापुर नगरपालिका थपिएको छ।

स्थानीय विकास मन्त्रालयका उपसचिव राजकुमार श्रेष्ठका अनुसार थपिएका नगरपालिकामा ताप्लेजुङ, फिदिम (पाँचथर), बिर्तामोड (झापा), उर्लाबारी (मोरङ), म्याङलुङ (तेह्रथुम), भोजपुर, दिक्तेल (खोटाङ) छन्।

त्यस्तै उदयपुर कटारी, सप्तरी कन्चनपुर रुपनगर र मोहनपुर कल्याणपुर, सिरहाको रामनगर मिर्चैया पनि नगरपालिका घोषणा भएका छन्। धनुषामा धनुषाधाम र सखुवा महेन्द्रनगर दुई थपिएका छन्। महोत्तरीमा निगौल गौशाला, रामेछापको मन्थली, सर्लाही हरिऔन, रौतहट चन्द्रनिगाहपुर, बारा जीतपुर पनि नगरपालिका भएका छन्।

धादिङको निलकण्ठ, सिन्धुपाल्चोक चौतारा, काभ्रे पाँचखाल पनि नगरपालिका भएका छन्। काभ्रेमा पाँचखाल नगरपालिका भएपछि जिल्लामा चार नगरपालिका भएका छन्। तनहुँमा खैरेनीटार दुलेगौंडा, बन्दीपुर गरी दुई नगरपालिका बनाइएको छ। लमजुङको बेंसीसहरलाई पनि नगरपालिका बनाइएको छ।


पर्वतको कुस्मा, म्याग्दी बेनी, गुल्मी तम्घास, अर्घाखाँची सन्धीखर्क, नवलपरासी गैंडाकोट र सुनौल पनि नगरपालिका भएका छन्। त्यस्तै प्युठान, सल्यान, बाँके कोहलपुर, बर्दिया राजापुर, बझाङ चैनपुर, अछाम मंगलसेन र साफेँबगर र जुम्लाको चन्दननाथ नगरपालिका भएका छन्।

Friday, July 15, 2011

तानसेन-बुटवल सडक खण्ड कहालिलाग्दो

सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन-बुटवल सडक खण्ड । जहाँ दैनिक १५ सय भन्दा बढी गाडी गुड्छन् । विगत केही बर्षदेखि यो सडकको न त मर्मत सम्भार नै भएको छ न त स्तरोन्नति नै । बरु दिन प्रतिदिन सडक विगार्ने काम भएको छ । वर्षेनी आउने पहिरोले यो सडको विजोग त भएको थियो नै अहिले त जताततै सडक खनेर भताभुङ्ग पारिएको छ ।

विकासका लागि विनास हुन्छ । यो सत्य हो । तर विकासका नाममा भएको संरचना र तयो पनि अन्त्यन्तै संवेदनशील क्षेत्रमा गरिने यस्तो कार्यले तानसेन-बुटवल सडक खण्ड अस्तव्यस्त भएको छ । हुन त सडक मर्मतका लागि बर्षेनी करोडौ बजेट निकासा गरिन्छ । तर त्यो मात्र टालटुलमा सिमित हुन्छ ।

सडक डिभिजन कार्यालयले हरेक बर्ष मर्मत गरेपनि बाटोको अवस्थामा खासै सुधार आउने गरेको छैन् । यस्तो अप्ठ्यारो खण्डमा नै डोजर लगाएर राजमार्ग खन्न दिएपछि सवारी साधन ओहोरदोहोर गर्न कठिनाई भएको छ । राजमार्ग भत्काएर रुपन्देहीको वुटवल बजारमा खानेपानी लैजान पाईप बिछ्याउने भनी सडक भत्काउने काम भएपछि सडकको यो हालत भएको हो ।

सडक खनिएको कारण सवारी साधन ओहोरदोहोरमा समस्या परेको छ भने दैनिक सवारी साधन जाममा फस्ने गरेका छन् । सडकमा खनेको माटो सडकमै छोड्दा सडक कच्चीजस्तै भएको छ भने धुलोले ढाकेको छ । खानेपानी कार्यालयले धरौटी बाटो मर्मतका लागि ८० लाख राखेपनि बाटो खनाई औपचारिक मात्र बनेको छ । यो सडकमा हरेक बर्ष हुने दुर्घटनामा धेरैले ज्यान गुमाउने गरेका छन् । यो बाटो विगारेपछि ५ वटा दुर्घटना भइसकेका छन् । जसमा दर्जनौ घाइते भएका छन् भने ३ जनाको ज्यान गइसकेको छ । चालकहरुले यो बाटोमा हत्केलामा ज्यान राखेर गाडी चलाउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने गरेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलले दोभान ५ भुम्साको सिस्नेमुलबाट २० इन्चको पानी लैजान पाईप बिछ्याउने काम गरेपनि सडकको विकासमा भने पटक्कै ध्यान दिएको छैन । ठेकेदारले मनपरी रुपमा सडक भत्काउँदासमेत अनुमति दिने निकायबाट अनुगमन नहुँदा आवश्यकता भन्दा बढी सडक खनिएको चालकहरु बताउँछन् । त्यसै त अप्ठ्यारो सडक त्यसमाथि सडक नै खनेपछि यात्रुहरु भगवान भरोसा भनेर िहंड्न बाध्य भएका छन् ।

खानेपानी डिभिजन कार्यालयले पाइपमा मात्रै ध्यान दिएका कारण राजमार्गको यस्तो दुरावस्था भएको हो । वुटवल भएर पाल्प्ाा गुल्मी स्याङ्गजा कास्कीलगायत विभिन्न जिल्लामा चल्ने गाडी यही सडक भएर चल्ने भएपनि विकासको नाममा सडकको विनास भएको छ । विकास गर्ने दुई निकाय खानेपानी र सडक डिभिजन आपुू अनुकूल चल्दा यस्तो अवस्था आएको बताउँछन् स्थानीयहरु । खानेपानीसंग धरौटी लिएर बाटो खन्न दिएकाले त्यसको मर्मत कार्य छिट्टै गरिने सडक डिभिजन पाल्पाका इन्जिनीयर गौतम श्रेष्ठ बताउँछन् ।

इन्जीनियरको भनाई मान्ने हो भने पनि हरेक बर्ष मर्मत गरिने सडकको हालत सधै नै उस्तै किन त आपुूहरुले सडक भत्काएर पाईप लैजानुभन्दा अन्य किसिमबाट पाईप बिछ्याउन माग गरेपनि पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ । सिदार्थ राजमार्ग मर्मतका लागी बर्षेनी ६० लाख भन्दा बढी बजेट विनोजित हुने गरेको छ तर त्यो बजेटको सदुपयोग भने भएको देखिदैन् । सडक खनेर पाईप बिछ्याउन दिने कामलाई सहमतिको रंग दिएपनि यस्तो काम गैरकानुनी हुने कानुनविदहरुको भनाई छ ।

सर्पको टोकाईबाट बालकको मृत्यु

अर्घाखाँचीको जलुके गाविसमा सर्पको टोकाईवाट  एक बालकको ज्यान गएको छ । जलुके गाविस वाड नं २ साखा डाँडा निवासी डिल बहादुर नेपालीका १ २ बर्षिय छोरा दिपकको ज्यान गएको हो । बिहान घरमै सुतीरहेको अबस्थामा बालकलाई सर्पले टोकेपछि उपचारका लागि उपस्वास्थ्य चौकी लैजाँदै गर्दा आज बाटौ मै ज्यान गएको बताईएको छ ।

Tuesday, July 12, 2011

दाउरा खोज्ने क्रममा भिरवाट लडेर मृत्यु

सीता भण्डारी
दाउरा खोज्ने क्रममा भिरवाट लडेर गुल्मीको वलिथुममा हिजो साँझ एक महिलाको ज्यान गएको छ । वलिथुम गाविस वार्ड नं ८ निवासी ३२ वर्षीय दुर्गामाया घर्तिको घर नजिैकै पर्ने छाँचुरेको सकिना भन्ने भिरवाट लडेर मृत्युभएको हो । हिजो साँझ ५ वजे तिर दाउरा खोज्न गएकि दुर्गामाया साँझ सम्म घर नफर्किएपछि खोज्न जाने क्रममा भिर देखि करिव ५ सय मिटर तल गम्भिर घाईते अवस्थामा फेला परेकी थिईन् । घाईते घर्तिलाई घर तर्फ लैजादै गर्दा वाटोमै मृत्यु भएको पारीवारीक श्रोतले जनाएको छ

Monday, July 11, 2011

पाल्लाको गाल्धा गाविसमा झाडापखालाबाट तीन जनाको मृत्यु

टेकनरायण भट्टराई,
 पूर्वी पाल्लाको गाल्धा गाविसमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बिरामी परेका छन्। मृत्यु हुनेमा गल्धा-२ खड्ग डाँडाका हस्तबहादुर बयम्बु, जगत बयम्बु र गल्धा-८ बेला डाँडाका एकको भने नाम खुल्न सकेको छैन। बिरामीहरुको स्थनीय स्वास्थ्य चौकी तथा निजी क्लिनिकमा भर्ना गरिएका छन्।

यतिको संख्यामा बिरामी पर्नुको कारण औंल्याउँदै त्यस क्षेत्रमा हैजा फैलिएको अनुमान जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीको छ। उनले चाँडै नै त्यस क्षेत्रमा स्वास्थ्य टोली पठाउन लागेको बताए।
सदरमुकामबाट करिब ६० किमी पूर्वमा रहेको उक्त गाविसमा जान कठिनाई भएको अधिकारीको भनाई छ।

Saturday, July 9, 2011

खाल्डोमा ४५ दिन निराहार तपस्या

टोपराज शर्मा
मानिस खाना नखाई कति दिन बस्न सक्ला ? दुई-चार दिन अथवा बढीमा एक हप्ता, तर धेरैको यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ३१ वर्षीय सरोज अधिकारीले। रूपन्देहीको पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा आफूलाई शान्तिदूत बताउने अधिकारीले वैशाख १ गतेदेखि जेठ १४ गतेसम्म ४५ दिनसम्म निराहार भूगर्भ तपस्या बसेर सबैलाई अचम्मित तुल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन्। अर्घाखाँची घर भै बुटवल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक अध्ययनरत अधिकारीले विश्व शान्तिको कामना, संविधान निर्माणमा दबाब, पर्यटन वर्ष सफल पार्न टेवा पुर्‍याउने एवं योगको महत्त्व दर्साउन निराहार तपस्या गरेको बताएका छन्। वन विहारमा ९ फिट गहिरो र ९ फिट चौडा खाल्डोमा बसेर तपस्या गरेका अधिकारीले हरेक दिन बिहान ३ बजे पानी मात्र पिउने गरेका थिए।


सुरुमा ४० दिन निराहार बस्ने घोषणा गरेका अधिकारीले जेठ १० गते ५ दिन थप गरेका थिए। अधिकारीले यसअघि दाङमा २१ दिन निराहार तपस्या गरेका थिए। नेपालमा हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको र विश्वमा समेत दुर्लभ मानिने निराहार तपस्याका कारण चर्चामा आएका अधिकारी विश्वमा चुलिँदै गएको खाद्यान्न संकट कम गर्न र मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि हरेक व्यक्ति सातामा कम्तीमा एक दिन निराहार बस्नुपर्छ भन्छन्।
http://www.ekantipur.com/

Friday, July 8, 2011

कर्मचारीको तलब बढ्ने

सरकारले बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेको छ । बुधबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले यस्तो खुलासा गरेका हुन् ।
'सरकारसँग पयाप्त स्रोत नभए पनि सरकारी कर्मचारीको तलब वृद्धि गरिने छ,' आचार्यले भने, 'तर कति वृद्धि गर्ने भनेर टुंगो लागिसकेको छैन ।'
उनले आगमी बजेट ठूला आयोजनामा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा केन्दि्रत रहने जानकारी दिए । जलाशययुक्त जलविद्युत् आयोजना, विद्युत् विकास बैंक र जनताको जलविद्युत् कार्यक्रममा प्राथमिकता दिने उनले बताए ।
वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव समाधान गर्न पनि विशेष कार्यक्रम आउने उनले बताए । बजेटको आकार भने राष्ट्रिय योजना आयोगले तोकेबमोजिम हुने उनको भनाइ थियो ।
अर्थशास्त्री विश्वम्भर प्याकुर्‍यालले बजेटको आकारलाई बढाउन नहुने बताए । आकार वृद्धि गर्दा मुद्रास्फीति बढ्ने उनले बताए । 'सरकारले विकास खर्च गर्न नसक्दा बजेटको आकार मात्र बढाएर अर्थतन्त्रलाई सहयोग हुँदैन,' उनले भने ।
अर्का अर्थशास्त्री चिरञ्जीवी नेपालले तरलता अभावको समस्या तरलता व्यवस्थापन कोष बनाएर हल गर्न सकिने बताए । उनले बजेट वितरणमुखी भएर आउन लागेको गुनासो गरे ।