अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Friday, September 2, 2011

आज पनि दुर्घटना

आज बुटवल बाट सालझंदी तर्फ जादैगरेको लु .१ ज २१३९ नम्बरको जीपले परुवा ४ मा घरबाट सडकतर्फ निस्कन लाग्दै गरेको लु.१ ज.३५७४ नम्बर को कार लाई ठक्कर दिदा चालक प्रदीप गौतम घाइते हुनुभएको छ / घाइतेभएका गौतमको स्थानीय मेडिकल मा उपचार भै रहेको छ /

यसैगरि बुटवलबाट पश्चिमतिर जादैगरेको लु .४ प. ८४०३ नम्बरको मोटर साइकलले सोहि दिसातिर गैरहेको लु .१० प. ९८०९ नम्बरको मोटरलाई परुवा-४ मुर्गीयामा ठक्कर दिदा रुपन्देही मानपकडीका जनार्दन चौहान घाइते भएका छन् , चौहान लाई स्थानीय परुवा मेडिकलमा उपचार हुननसक्दा थप उपचारको लागि बुटवल ल्याइएको प्रहरी स्रोतले जनाएको छ /
 

पाल्पाको चिदीपानीमा ट्याक्सी दुर्घटना

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी -१ विरौटामा शुक्रवार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

पोखराबाट वुटवल हिडेको ग १ ज ३८०५ नम्वरको ट्याक्सी दुर्घटनामा परी बाग्लुङ्ग, ताराखोलाका चेतराम कन्डेलको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दी मुन गाविस ४ का नन्दप्रसाद रोकामगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको लुम्विनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ ।

घाइते चालक गोरखा ठूलो रिपका गणेश रानामगर र बाग्लुङ्गका धनबहादुर रानामगरको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाग्रस्त ट्क्याक्सी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनायो ।



Wednesday, August 31, 2011

अर्घाखाँचीमा नाचगान गरेर तीज मनाइदै


आज हरितालिका तीज अथार्त हिन्दू नारीहरुले आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै निराहार व्रतबसि नाचगानका साथ यास पर्व मनाउने दिन । यसै अवसरमा काठमाडौँको पशुपतिनाथ  सहित अर्घाखाँचीमा पनि नाचगान गरेर   तीज मनाइदै छ / अहिले अर्घाखाँचीको बलकोट , चिदिका , ठुलापोखरा , केरुंगा , सन्धिखर्क लगायत ४२ वटै गाविसमा तीज गीतहरुको कारण संगीतमय भएको छ /


भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाएर आज तृतीयाका दिन व्रत बसी पाचमीको दिन सप्तर्षिको पूजा गरेपछि तीज सम्पन्न हुन्छ ।तीजको दर खान विशेषगरी माइतीले छोरी चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन यस पर्वमा पाइन्छ । हिन्दू महिलाको महान् धार्मिक पर्वका रुपमा लिइने तीजमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।

नारी स्वतन्त्रताको प्रतीकका रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी चुरा पोते र गरगहनामा सजिएका महिलाको आज बिहानैदेखि घुइँचो लागेको छ । धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराणमा वर्णन छ ।

भाद्र शुक्ल पूर्णिमाको तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न व्रत बसेपछि शिवजी पति पाएकाले तीजको व्रतको महत्व बढेको छ । सधवा नारीले पतिको आयु वृद्धिका लागि कन्याले उत्तम पुरुष पतिका रुपमा पाउन र विधवाले पतिको मुक्तिका लागि व्रत बस्ने गरेको पाइन्छ ।

तीजमा विगतका केही वर्षदेखि सरकारी र गैरसरकारीस्तरमा सामूहिकरुपमा दर खाने र चुरापोते बाँड्ने चलन पनि बढिरहेको छ । यस दिन महिलाका लागि सरकारी बिदा घोषणा गरिएको छ ।

बुटवलमा आधुनिक मासु प्रशोधन उद्योग

विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ ।

सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो ।

२०६६ फागुन १० गते बुटवल–१५ बदेलपोखरीमा स्थापना गरिएको उद्योगले चिकन ससेज, बफ ससेज र अस्ट्रिच सिफुडलगायत विभिन्न मासु परिकार उत्पादन गर्छ । हाल लुम्बिनी अञ्चलका ६ जिल्लालाई लक्षित गरी दैनिक ४ क्विन्टलका दरले उत्पादन भइरहेको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । निकट भविष्यमै उत्पादन बढाएर नारायणी, गण्डकी र राप्ती अञ्चलमा बजार विस्तार गर्ने लक्ष्य उद्योगको छ ।

करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योग अवलोकनका लागि जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । उद्योगले हाल स्थानीय बजारबाट नगन्य मात्रामा खसी पाइरहेको छ । सबैभन्दा बढी भारत र चीनको खासाबाट भेडा, च्यांग्रा आयात गर्ने गरिएको पौडेलले बताए ।

“७० प्रतिशत खसी नेपालबाहिरबाट र ३० प्रतिशत स्थानीयस्तरमा उपलब्ध हुन्छ,” उनले भने, “यो अवस्था कम गर्न थप ६० लाख रुपैयाँ लगानी गरेर यही वर्ष पाँच सय बाख्रा आफैं पाल्दैछौं ।”

आगामी पाँच वर्षभित्र २ हजार बाख्रा पाल्ने लक्ष्यसहित काम भइरहेको पौडेलले बताए । “कृषिप्रधान मुलुकमा बर्सेनि अर्बौं रुपैयाँका खसीबोका विदेशबाट आयात हुन्छ, यहाँका जनशक्ति काम नपाएर खाडी मुलुक भौतारिन्छन्,” उनले भने, “त्यसैले बाख्रापालनमा राष्ट्रकै ध्यान खिच्न हामीले उद्योगसँगै देशकै ठूलो बाख्रापालन फार्म सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।”

हाल खसी र कुखुराका गरी करिब ७० परिकार उपलब्ध गराउँदै आएको उद्योगले रुपन्देहीका मुख्य सहरहरूमा गाडीमार्फत फास्टफुड काउन्टरसमेत सञ्चालन गरिरहेको छ । उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगबाट निस्कने फोहरबाट बायोग्यास निकाल्ने गरिएकाले प्रदुषण नहुने पौडेल बताउँछन् । “फोहर पानी प्रशोधन गरेर सिँचाइ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको छ,” उनले भने

Tuesday, August 30, 2011

अर्घाखाँचीमा एटिएमतर्फ आकर्षण बढ्दो

चाहिएका बेला जहाँबाट पनि झिक्न सकिने भएपछि बैंकका ग्राहकको आकर्षण एटिएमतर्फ बढेको छ । सहरबाट बिनाझन्झट रकम निकाल्न सकिने भएपछि ग्राहकले चेकभन्दा बढी एटिएमलाई रुचाएका हुन् ।

सन्धिखर्कमा पहिलोपटक एटिएम सेवा सुरु गरेको आइएमई फाइनान्सिएलका प्रायः सबै ग्राहकले एटिएम कार्ड प्रयोग गरेका छन् ।

'एटिएम कार्ड प्रयोग गर्ने ग्राहक ९० प्रतिशत छन्,' बैंकका प्रबन्धक प्रदीप पन्थीले भने, 'सजिलो भएकाले धेरैको रुचि बढेको हो ।'

निजी क्षेत्रबाट स्थापित बैंकले एटिएम सेवा दिएपछि ग्राहक बढी आकषिर्त भएका छन् । दैनिक ५ देखि १० ग्राहकले एटिएम कार्ड लिने गरेका पन्थीले जानकारी दिए । मेगा र बैंक अफ काठमाडौं बैंकका पनि ३ हजारजति ग्राहकले एटिएम प्रयोग गर्छन् । सुरक्षित र सजिलो भएकाले ग्राहकहरूको आकर्षण एटिएम सेवाप्रति रहेको बैंक अफ काठमाडौंका शाखा प्रबन्धक मदन गौतमले बताए ।

जोखिम मोलेर रकम लिएर हिँड्न नपर्ने र कार्ड भएपछि जुन ठाउँबाट पनि रकम निकाल्न सजिलो हुने भएकाले ग्राहक बढेको उनले बताए ।



Monday, August 29, 2011

साउदी अरबमा एक अर्घाखाँचीबासीको मृत्यु

बैदेसिक रोजगारीको सिलसिलामा साउदी अरब गएका अर्घाखाँची जिल्ला सन्धिखर्क ६ निवासी २६ बर्षिय कमल मुखीयाको प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ । काम सकेर औषधी पसलमा औषधी लिन साईकलमा गईरहेको समयमा प्रहरीको गाडीको ठक्करबाट मुखीयाको घटनास्थलमै मृत्यु भएको छ ।

Sunday, August 28, 2011

सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेध

संविधान निर्माण नभएसम्म संविधान सभाका सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेधको घोषणा गरिएको छ। जनमोर्चा निकट अखिल छैठौंले तानसेन सितलपाटीमा सभामार्फत् शनिबार यस्तो घोषणा गरेको हो। तानसेनमा सभासद निषेध गर्न कालो ब्यानर टाँगिएको छ। अखिल छैठौंका महासचिव अनिल किशोर घिमिरेले संविधान निर्माणमा भन्दा सत्ताको खेलमा लागेका भन्दै देशभर सभासदलाई खबरदारीका कार्यक्रम गरिएको बताए। ‘हाम्रो घोषणा अवज्ञा गरेर पाल्पा आउने सभासदलाई बाटो छेक्छौं, कालो झण्डा देखाउँछौं,' उनले भने, ‘संविधान सभामा सभासदले संविधान निर्माणका लागि यस्तै दवाबका कार्यक्रम गर्न पनि हामी आग्रह गर्छौ।'


उनले संविधान निर्माणमा भन्दा म्याद थपेर भत्ता खाने र सत्ताका लागि लुछाचुडी गर्ने प्रवृत्तिको विरोधमा यस्तो गरिएको बताए।

‘संविधान नलेख्दासम्म सभासदलाई जिल्ला निषेध छ' सितलपाटी मुल ढोकामा टाँगिएको ब्यानरमा लेखिएको छ, ‘संविधान लेख्न छाडेर सत्ता र भत्तामा लिप्त हुन जनताले जिताएका हैनन्।'