अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, October 30, 2011

ब्रिटिश म्यूजियममा गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।


'द डिपार्टमेन्ट अफ एसिया' कक्षअन्तर्गत 'द लाइफ अफ द बुद्ध' शीर्षकमा टांगिएको दस्तावेजमा बुद्धिज्मलाई भारतको धर्मअन्तर्गत राख्दै 'बुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तरपूर्वी भारतको एक शाही परिवारमा जन्मिनुभएको हो' उल्लेख छ । बुद्धको जन्म महारानी मायाबाट लुम्बिनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ ।

'उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट बिरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्ना किन भइरहेका छन् भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी बोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो,' म्युजियममा उल्लेख छ । उक्त दस्तावेजमा बुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि बुद्धका उपदेश शिष्यहरुमा बाँडिएको लेखिएको छ ।

ग्रेट रसेल स्टि्रटमा अवस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । 'हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन,' एक कर्मचारीले भने ।

बि्रटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहाससम्बन्धी जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको 'अ हिस्टि्र अफ द वल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स' मा समेत बुद्धबारे त्यही भ्रमपूर्ण तथ्य प्रसारण भएको थियो ।

बुद्धिष्ट कम्युनिटी सेन्टर, यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले आगामी १२ नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्‍याउन पहल गर्ने जनाए । कानुनवेत्ता सोलिसिटर राजु थापाले संग्रहालयमा रहेको उक्त तथ्यलाई 'हास्यास्पद' भन्दै संग्रहालयलाई गल्ती सच्याउन पत्राचार गर्ने जनाए । 'नेपाल र नेपालीको पहिचान मेटिने काम कहीं कतै हुन्छ भने कानुनी प्रक्रियाबाटै त्यसविरुद्ध जान हामी तयार छौं,' उनले भने ।

कपिलवस्तु दिवस अभियानसंग सम्बद्ध इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि 'गौतम बुद्ध भारतमा जन्मिएको' भन्ने गलत विवरण सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे, 'नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।'

लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन दाहाल अमेरिका जाने

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आगामी साता संयुक्त राज्य अमेरिका जानुहुने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास गर्न राष्ट्रसङ्घको भूमिका तथा हुन सक्ने अन्य सहयोगबारे महासचिव बानकी मुनसँग विचारविमर्श गर्न अध्यक्ष दाहाल नेतृत्वको उच्च प्रतिनिधिमण्डल आउँदो शनिबार न्यूयोर्क जान लागेको हो।


लुम्बिनीको समग्र विकासका निम्ति गुरुयोजना तयार गर्नेलगायत बुद्ध जन्मस्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमा प्रवद्र्धन गर्न हालै सरकारले एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालको संयोजकत्वमा एक समिति गठन गरेको थियो। हालै बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको संयोजकत्वमा गठिन समितिलाई अमेरिका पठाउने निर्णय गरेको हो ।

न्यूयोर्क जाने नेपाली टोलीमा वन तथा भूसंरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान, पूर्वमन्त्रीद्वय डा मिनेन्द्र रिजाल र डा मङ्गलसिद्धि मानन्धर र निजी क्षेत्रबाट बैङ्कर मनोजबहादुर श्रेष्ठ हुनुहुन्छ। टोलीमा संयोजक दाहालका सहयोगीका रुपमा स्वकीय सचिव प्रकाश र समिर दाहाल पनि रहनुहुने छ।

स्वकीय सचिव दाहालका अनुसार सम्भवतः नेपाली प्रतिनिधिमण्डल र महासविच बानबीच यही कात्तिक २१ गते वार्ता हुनेछ। यसअघि महासचिव बानले प्रधानमन्त्री डा बाबुराम भट्टाराईसँगको भेटमा लुम्बिनीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

संयुक्त राष्ट्रसङ्घको ६६ औं महासभामा भागलिने क्रममा प्रधानमन्त्री भट्टराईले महासचिव बानलाई गत महिना न्यूयोर्कमा भेटवार्ता गर्नुभएको थियो। महासचिव बानले राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन युनेस्कोमार्फत लुम्बिनीको विकासमा सघाउने आशय प्रकट गर्दै आउनुभएको छ ।

रिडी बजारमा म्ह पूजा

नेपाल संवत ११३२ तथा म्ह पूजाको अबसरमा नेवार समुदाय द्वारा आज रिडी बजारमा मोटर साइकल र्याली तथा म्ह पूजा गरिएको छ। रयाली निकाल्नु अघी सुगन्ध बिहारमा सामुहिक रुपमा म्ह पूजा गरिएको थियो। पूजा नेवार समुदायका जेष्ठ ब्यक्तीत्व श्री अयोध्या मान श्रेष्ठले गर्नु भएको थियो। पूजा समाप्ती पस्चात बिहान १० बजे मोटर साइकल र्याली निकालीएको थियो। सयौ युवाहरुको सहभागिता रहेको उक्त र्यालीले रिडी बजार परीक्रमा गरेको थियो।

तानसेनमा नेपाल सम्वत् ११३२ को भव्य स्वागत

ऐतिहासिक एवं काठमाण्डौको भाई भनिने पाल्पाको तानसेनमा नेपाल सम्वत् ११३२ को भव्य स्वागत गरिएको छ । पाल्पाको तानसेन स्थित इलाभेन ब्रदर्शको आयोजनामा बिहिवार तानसेनमा नेपाल सम्वतको स्वागतार्थ मोटरसाईकल र्‍याली निकालिएको छ ।


इलाभेन ब्रदर्शले तानसेनमा हरेकवर्ष नेपाल सम्वत्को स्वागत गर्न मोटरसाईकल र्‍याली गर्ने गरेको छ । तानसेनको आन्दोलनचोकबाट सुरु भएको र्याली बर्तुङ्ग, कैलाशनगर, टक्सार, मखनटोल, भुसालडाडा, गोर्खेकोट, मेहलधारा हुदै बजारको परिक्रमा गरेको थियो । २ सय बढी मोटरसाईकलले नेपाल सम्वत्को स्वागतमा हर्न लगाउदै बजार परिक्रमा गर्दा सबैलाई सन्देश पुगेको कार्यक्रम संयोजक सुशील शाक्यले बताए ।

शाक्यका अनुसार मोटरसाइकल र्‍यालीमा सहभागी सबैलाई विभिन्न उपहार राखिएको थियो । तानसेन बजारको टोल टोलमा नेपाल सम्वत्लाई स्वागत गर्न तुल व्यानर राखिएका छन् । नेवारी समुदायमा घर घरमा घडामा पानी र फुल राखेर आगन्तुकलाई समेत स्वागत गरिरहेका छन् । नेवार समुदायले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा समेत पुजा आजा गरेका छन् ।

Tuesday, October 25, 2011

बिपाको पूर्ण पाठ

                                                          बिपाको पूर्ण पाठ  


नेपाल सरकार तथा भारत सरकार बीच सम्पन्न लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौता


नेपाल सरकार तथा भारत सरकार यसपछि ‘संविदाकारी पक्षहरु’ भनिएको; एक राष्ट्रका लगानीकर्ताहरुको बृहत्तर लगानी अर्को राष्ट्रको इलाकाभित्र फस्टाउने अनुकूल अवस्था सिर्जना गर्न इच्छुक हुँदै; निजी क्षेत्रको उपक्रमलाई अभिपे्ररित गर्न त्यस्ता लगानीको प्रोत्साहन र पारस्परिक प्रबद्र्धन एवं संरक्षण अत्यावश्यक भएको र त्यसले दुबै राष्ट्रहरुमा समृद्धि अभिबृद्धि गर्ने कुरालाई मान्यता दिदै; देहाय बमोजिम गर्न सहमत भएका छन्ः



धारा १

परिभाषाहरु

यस सम्झौताको प्रयोजनका लागिः

क) ‘कम्पनी’ भन्नाले देहाय बमोजिम सम्झनु पर्दछः

१) नेपालको हकमाः नेपालमा प्रचलित कानून अन्तर्गत संस्थापित गठित वा स्थापित संस्थान फर्म र संस्थाहरु

२) भारतको हकमाः भारतको कुनै भागमा प्रचलित कानून अन्तर्गत संस्थापित गठित वा स्थापित संस्थान फर्म र संस्थाहरु ।

ख) ‘लगानी’ भन्नाले एक संविदाकारी पक्षको लगानीकर्ताद्वारा अर्को संविदाकारी पक्षको कानून बमोजिम सो संविदाकारी पक्षको इलाकामा स्थापना भएका वा प्राप्त भएका हरेक प्रकारका जायजेथा एवं त्यस्तो लगानीका स्वरुपगत परिवर्तनहरु समेतलाई सम्झनु पर्दछ र सो शव्दले खासगरी देहायका कुराहरु समेतलाई जनाउँदछ-

१) चल र अचल सम्पत्ति एवं त्यससँग सम्बन्धित अन्य अधिकारहरु जस्तै बन्धकी लियन वा धितो

२) कम्पनीका शेयरहरु र स्टक एवं ऋणपत्र डिवेन्चरहरु तथा कुनै कम्पनीमा त्यस्तै स्वरुपका अन्य कुनै संलग्नता

३) मौदि्रक वा वित्तीय मूल्य भएको कुनै करारको परिपालनाको दावी;

४) संविदाकारी पक्षको आ-आफ्ना कानून बमोजिमका बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार;

५) तेल एवं अन्य खनिजहरुको अन्वेषण एवं निस्सारण गर्न दिइने सहुलियतहरु लगायतका

कानूनद्वारा वा करार अन्तर्गत प्रदत्त व्यावसायिक सहुलियतहरु;

ग) ‘लगानीकर्ताहरु’ भन्नाले एउटा संविदाकारी पक्षको इलाकामा कुनै लगानी गरेको अर्को संविदाकारी पक्षको नागरिक वा कम्पनी सम्झनु पर्दछ;

घ) ‘नागरिकहरु’ भन्नाले देहाय बमोजिम सम्झनु पर्दछः

१) नेपालको हकमाः नेपालमा प्रचलित कानूनद्वारा नेपाली नागरिकका रुपमा आफ्नो हैसियत प्राप्त गरेका प्राकृतिक व्यक्तिहरु;

२ भारतको हकमाः भारतमा प्रचलित कानूनद्वारा भारतीय नागरिकका रुपमा आफ्नो हैसियत प्राप्त गरेका प्राकृतिक व्यक्तिहरु;

ङ) ‘प्रतिफलू भन्नाले कुनै लगानीबाट हासिल भएको मौदि्रक रकम जस्तै नाफा ब्याज पूँजीगत लाभ लाभांश रोयल्टी र शुल्कहरु सम्झनु पर्दछ ।

च) ‘इलाका’ भन्नाले देहाय बमोजिम सम्झनु पर्दछः

क) भारतको हकमाः आफ्नो प्रादेशिक जलक्षेत्र सहितको गणतन्त्र भारतको इलाका एवं त्यस माथिको हवाई क्षेत्र र भारतको प्रचलित कानून १९८२ को सामुदि्रक कानून सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि र अन्तर्राष्ट्रिय कानून बमोजिम गणतन्त्र भारतको सार्वभौमसत्ता

सार्वभौमिक अधिकारहरु वा एकलौटी क्षेत्राधिकार भएको एकलौटी आर्थिक क्षेत्र एक्सक्लुसिभ इकोनोमिक जोन र महाद्धिपीय तख्ता कन्टिनेनटल सेल्फ समेटिएको अन्य सामुदि्रक क्षेत्र समेत।

ख) नेपालको हकमाः नेपालको संविधान एवं अन्तर्राष्ट्रिय कानून बमोजिम नेपालको सार्वभौमसत्ता एवं क्षेत्राधिकार भित्र पर्ने इलाका ।

धारा २

सम्झौताको क्षेत्र

यो सम्झौता प्रारम्भ हुनुभन्दा अगाडि वा पछाडि जहिलेसुकै गरिएको भए तापनि कुनै एक संविदाकारी पक्षका

लगानीकर्ताहरुले अर्को संविदाकारी पक्षका इलाकामा पछिल्लो संविदाकारी पक्षका कानून एवं नियमहरु बमोजिम

स्वीकृत गरिएको कुनै पनि लगानीका हकमा यो सम्झौता लागू हुनेछ । तर यो सम्झौता लागू हुनुभन्दा अगािड

उत्पन्न भएको लगानी सँग सम्बन्धित कुनै पनि विवाद वा समाधान भैसकेको दावीका हकमा यो सम्झौता लागू

हुनेछैन ।

धारा ३

लगानी प्रबद्र्धन एवं संरक्षण

१) प्रत्येक संविदाकारी पक्षले आफ्नो इलाकामा अर्को संविदाकारी पक्षको लगानीकर्ताका लगानीहरुलाई प्रोत्साहन दिने सोका लागि अनुकूल अवस्था सिर्जना गर्ने र आफ्ना नीति कानून र नियमहरु बमोजिम त्यस्ता लगानीहरु स्वीकार गर्नेछन् ।

२) प्रत्येक संविदाकारी पक्षका लगानीकर्ताका लगानी एवं प्रतिफलहरुलाई अर्को संविदाकारी पक्षको इलाकामा सधै उचित र समन्यायिक व्यवहार गरिनेछ ।

धारा ४

राष्ट्रिय व्यवहार तथा अति-सौविध्यतापूर्ण-राष्ट्र व्यवहार

१) प्रत्येक संविदाकारी पक्षले अर्को संविदाकारी पक्षका लगानीकर्ताको लगानीहरुलाई तिनका आफ्ना लगानीकर्ताका लगानीहरुलाई वा कुनै तेस्रो राष्ट्रका लगानीकर्ताको लगानीलाई प्रदान गरिएको व्यवहारभन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछन् ।

२) त्यसका अतिरिक्त प्रत्येक संविदाकारी पक्षले अर्को संविदाकारी पक्षका लगानीकर्ताहरुलाई तिनका लगानीहरुको प्रतिफलका हकमा समेत कुनै तेस्रो राष्ट्रका लगानीकर्ताहरुलाई प्रदान गरिएको भन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछन् ।

३) देहायका कुराहरु अन्तर्गत व्यवस्था भएको कुनै पनि व्यवहार अग्राधिकार वा विशेषाधिकारको फाइदा वा हित अर्को संविदाकारी पक्षका लगानीकर्ताहरुलाई दिने गरी विस्तार गर्न एउटा संविदाकारी पक्षलाई बाध्य बनाउने गरी उल्लिखित प्रकरण १ र २ का व्यवस्थाहरुलाई व्याख्या गरिने छैनः

क) आफु पक्ष भएको वा हुनसक्ने कुनै विद्यमान वा भावी भन्सार संघहरु वा त्यस्तै किसिमका अन्तर्राष्ट्रिय सम्झौता; वा

ख) सम्पूर्ण रुपमा वा मुख्य रुपमा कराधानसंग सम्बद्ध कुनै बिषय।

धारा ५

अधिग्रहण

१) कुनै संविदाकारी पक्षका लगानीकर्ताका लगानीहरुलाई भेदभावरहित आधारमा उचित एवं समन्यायिक क्षतिपूर्ति दिई कानून बमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक अर्को संविदाकारी पक्षको इलाकामा राष्ट्रियकरण वा अधिग्रहण वा त्यस्तै प्रभाव भएको अन्य कुनै कारवाही यसपछि समग्रमा ‘अधिग्रहण’ भनिएको गरिने छैन।

२) यो बुझिएको छ किः क हकको औपचारिक हस्तान्तरण वा सोझै जफत नगरी प्रत्यक्ष अधिग्रहण सरहको प्रभाव भएको संविदाकारी पक्षवाट गरिएको गरेको कुनै कारवाही वा कारवाहीको श्रृफ्लाबाट अप्रत्यक्ष अधिग्रहण उत्पन्न हुन्छ

ख) कुनै संविदाकारी पक्षको कुनै कारवाही वा कारवाहीको श्रृफ्लाले अप्रत्यक्ष अधिग्रहण सिर्जना गर्दछ वा गर्दैन भनी निर्धारण गर्दा अन्य कुराहरुका अतिरिक्त देहायका कुराहरुलाई समेत विचार गरी प्रत्येक विषयको छुट्टाछुट्टै तथ्यमा आधारित जाँचबुझ आवश्यक पर्नेछ ।

१)उक्त कारवाही वा कारवाहीको श्रृफ्लाको आर्थिक असर तर कुनै कारवाही वा कारवाहीको श्रृफ्लाले कुनै लगानीको आर्थिक मूल्यमा प्रतिकूल

प्रभाव पारेको छ भन्ने तथ्य मात्रैले अप्रत्यक्ष अधिग्रहण भएको छ भन्ने अर्थ लाग्दैन ।

२)कुनै पक्षको कुनै लगानीकर्ता वा कुनै कम्पनीका हकमा गरेको उक्त कारवाही क्षेत्र वा सो को प्रयोगमा विभेदकारी रहेको हद

३) कारवाही वा कारवाहीको श्रृफ्लाले लगानीसँग सम्बन्धित विशिष्ट मनासिव लगानी-समर्थित अपेक्षामा गरेको हस्तक्षेपको हद

४)सार्वजनिक हितको उद्देश्यका लागि भएको वा नभएको तथा अधिग्रहण गर्ने मनसाय र त्यस्तो कारवाहीका बीच मनासिव माफिकको अन्तर-सम्बन्ध भए वा नभएको जे भएतापनि त्यस्ता कारवाही वा कारवाहीको श्रृफ्लाको चरित्र र अभिप्राय ।

ग) अपवादजनक परिस्थितिमा बाहेक ती उद्देश्यहरु हाँसिल गर्न असल नियतले तय गरी लागू गरिएको भनी मनासिव किसिमले मान्न नसकिने गरी अत्यन्त कडा भएका उपायहरु बाहेक स्वास्थ्य सुरक्षा र वातावरण संरक्षण लगायतका वैध जनकल्याणकारी उद्देश्य संरक्षण गर्ने

अभिप्रायले तय गरी लागू गरिएका कुनै संविदाकारी पक्षवाट अपनाईएका विभेदरहित नियमनकारी उपायहरुवाट अधिग्रहण वा राष्ट्रियकरण सिर्जना हुदैन ।

घ) कुनै संविदाकारी पक्षका न्यायिक निकायहरुका स्वास्थ्य सुरक्षा र वातावरणीय सरोकारहरुलाई

सम्बोधन गर्न बनाईएका लगायतका सार्वजनिक हितका लागि निर्मित प्रयुक्त वा जारी भएका

कारवाही र निर्णयलाई अधिग्रहण वा राष्ट्रिकरण गरेको मानिने छैन ।

३)अधिग्रहण गरिएको लगानीको क्षतिपूर्ति अधिग्रहण भएको वा आसन्न अधिग्रहण सार्वजनिक जानकारीमा आएको मितिमध्ये जुन पहिले हुन्छ सोको तत्काल अगाडिको वास्तविक मूल्य बराबर हुनेछ सो क्षतिपूर्तिमा अधिग्रहणको मितिदेखि भुक्तानीको मितिसम्मको उचित एवं समन्यायिक दरको व्याज समेत समाविष्ट हुनेछ र क्षतिपूर्तिलाई अुनचित विलम्ब बिना प्रभावकारी रुपमा असूलयोग्य र स्वतन्त्रतापूर्वक

हस्तान्तरणयोग्य बनाइनेछ ।

४)प्रभावित लगानीकर्तालाई आफ्ना लगानीको अधिग्रहण र मूल्याङ्कन यस धारामा स्थापित सिद्धान्तहरु अनुसार भएको छ छैन भन्ने निर्धारण गर्ने प्रयोजनकालागि त्यस्तो अधिग्रहण गर्ने संविदाकारी पक्षको कुनै न्यायिक वा अन्य स्वतन्त्र अधिकारीद्वारा आफ्नो विषयको शीघ्र पुनरावलोकन गराउन पाउने अधिकार हुनेछ ।

५) कुनै संविदाकारी पक्षले आफ्नो प्रचलित कानून बमोजिम आफ्नो इलाकामा गठन भएको तथा अर्को संविदाकारी पक्षका लगानीकर्ताहरु सहभागी भएको कुनै कम्पनीको जायजेथा अधिग्रहण गर्दा त्यस्ता लगानीकर्ताहरुलाई उचित एवं समन्यायिक क्षतिपूर्तिको प्रत्याभूति हुने गरी यस धाराका व्यवस्थाहरु लागू भएको सुनिश्चित गर्नेछ ।

धारा ६

नोक्सानी वापतको क्षतिपूर्ति

कुनै संविदाकारी पक्षको इलाकामा युद्ध वा अन्य सशस्त्र द्वन्द राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले त्यस्तो संविदाकारी पक्षको इलाकामा लगानी भएको कुनै संविदाकारी पक्षको लगानीकर्ताले नोक्सानी व्यहोर्नु परेमा त्यस्ता लगानीकर्तालाई निजको पुनः प्रतिस्थापन हर्जाना क्षतिपूर्ति वा अन्य समाधानका सम्बन्धमा सो संविदाकारी पक्षले सो संविदाकारी पक्षका आफ्ना लगानीकर्ता वा अन्य कुनै तेस्रो राष्ट्रको लगानीकर्तालाई प्रदान गरिएकोभन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछ । यसवाट प्राप्त हुने भुक्तानी

स्वतन्त्रतापूर्वक हस्तान्तरणयोग्य हुनेछ ।

धारा ७

लगानी र प्रतिफलको स्वदेश फिर्ता

१) प्रत्येक संविदाकारी पक्षले आफ्नो इलाका भित्रको कुनै लगानीसंग सम्बद्ध अर्को संविदाकारी पक्षको कुनै लगानीकर्ताका सवै रकमहरु अनुचित बिलम्ब नगरी भेदभावरहित तवरले स्वतन्त्रतापूर्वक हस्तान्तरण गर्न आफ्ना कानून अनुसार अनुमति दिनेछ । त्यस्ता रकममा देहायका रकमहरु समावेश हुन सक्नेछन्

१) लगानीहरु कायम राख्न र बृद्धि गर्न उपयोग भएका पूँजी र अतिरिक्त पूँजीगत रकम;

२ )आफ्नो शेयरको अनुपातको लाभांश र व्याज लगायतका खुद मुनाफा;

३ )लगानीसंग सम्बद्ध ऋण सम्झौता बमोजिमको कुनै ऋणको ब्याज लगायतका पुनः भुक्तानीहरु;

४ )लगानीसंग सम्बद्ध रोयल्टीहरु र सेवा शुल्कहरुको भुक्तानी;

५ )तिनीहरुका शेयरको बिक्रीबाट प्राप्त आम्दानी;

६ )लगानीकर्ताहरुले बिक्री वा आंशिक बिक्री वा खारेजी लिक्विडेशन बाट प्राप्त गरेका आम्दानी;

७ )अर्को संविदाकारी पक्षको इलाकामा रहेको लगानीको सिलसिलामा काम गर्ने कुनै संविदाकारी पक्षका नागरिकका आर्जनहरु;

२) यस धाराको प्रकरण १ को कुनै पनि कुराले यस सम्झौताको धारा ६ अन्तर्गतको कुनै क्षतिपूर्तिको हस्तान्तरणलाई असर पार्ने छैन ।

३) संविदाकारी पक्षहरुले अन्यथा मन्जूर गरेमा बाहेक मूल लगानीको मुद्रामा वा संविदाकारी पक्ष र लगानीकर्ता बीच पारस्परिक सहमति भएको अन्य कुनै परिवत्र्य मुद्रामा यस धाराको प्रकरण (१) अनुसारको मुद्रा हस्तान्तरण गर्न अनुमति दिईनेछ। हस्तान्तरण हुदाँका मितिमा बजारमा प्रचलित विनिमय दरमा त्यस्तो हस्तान्तरण गरिनेछ ।

धारा ८

प्रत्याशन (सब्रोगेशन)

कुनै एक संविदाकारी पक्ष वा यसको तोकिएको निकायले अर्को संविदाकारी पक्षको इलाकामा आफ्ना कुनै पनि लगानीकर्ताको लगानीसंग सम्बन्धित गैर-ब्यापारिक जोखिम विरुद्ध कुनै हर्जाना इन्डेम्निटी को प्रत्याभूति ग्यारेन्टी गरेको र त्यस्ता लगानीकर्तालाई यस सम्झौता अन्तर्गतका तिनका दावीहरुको सन्दर्भमा कुनै भुक्तानी गरेको भएमा सो संविदाकारी पक्ष वा त्यसको तोकिएको निकायलाई प्रत्याशन सब्रोगेशन को कारणबाट त्यस्ता लगानीकर्ताका अधिकारको प्रयोग गर्ने र दावी गर्ने हक प्राप्त हुन्छ भनी अर्को संविदाकारी पक्ष मन्जूर गर्दछ । प्रत्याशन गरिएका अधिकारहरु वा दावीहरु त्यस्ता लगानीकर्ताको मूल ओरिजिनल अधिकार वा दावी भन्दा बढी हुने छैनन् ।

धारा ९

लगानीकर्ता र संविदाकारी पक्ष बीचका विवादको समाधान

१) कुनै संविदाकारी पक्षको लगानीकर्ता र अर्को संविदाकारी पक्षका बीच यस सम्झौता अन्तर्गत सो लगानीकर्ताले गरेको कुनै लगानीसंग सम्बन्धित विवाद सम्भव भएसम्म सो विवादका पक्षहरु बीचको वार्ताद्वारा मैत्रीपूर्ण रुपमा समाधान गरिनेछ ।

२) छ महिना भित्र मैत्रीपूर्ण रुपमा समाधान नभएको कुनै पनि विवादलाई दुवै पक्षहरुले मन्जूर गरेमा देहाय बमोजिम पेश गर्न सकिनेछ

क) लगानीलाई स्वीकृत गर्ने संविदाकारी पक्षको कानून बमोजिम सो संविदाकारी पक्षको सक्षम न्यायिक निकाय मध्यस्थ वा प्रशासकीय निकाय समक्ष विवाद समाधानका निम्ति; वा

ख) अन्तर्राष्ट्रिय व्यापार कानूनको लागि संयुक्त राष्ट्रसंघीय आयोगको मेलमिलाप सम्बन्धी नियमहरु अनुसार अन्तर्राष्ट्रिय मेलमिलापका निम्ति ।

३)यस धाराको प्रकरण २ मा व्यवस्था भएको विवाद समाधान कार्यविधिमा पक्षहरु सहमत हुन नसकेमा वा कुनै विवादलाई मेलमिलापका लागि पेश गरिएको तर समाधान सम्झौता हुन नसकी अन्य तरिकाले मेलमिलाप कारवाही समाप्त गरिएको भएमा सो विवादलाई मध्यस्थताको लागि पेश गर्न सकिनेछ।

मध्यस्थता सम्बन्धी कार्यविधि देहाय बमोजिम हुनेछः

१) लगानीकर्ताको संविदाकारी पक्ष र अर्को संविदाकारी पक्ष दुबै राष्ट्रहरु र अर्को राष्ट्रका नागरिकहरु बीचको लगानी सम्बन्धी विवादहरुको समाधान सम्बन्धी महासन्धि १९६५ को पक्ष छन् र लगानी सम्बन्धी विवादहरुको समाधानको अन्तर्राष्ट्रिय केन्द्रमा सो विवाद पेश गर्न

विवादका दुबै पक्षहरुले लिखित रुपमा सहमति गरेमा त्यस्तो विवाद सो केन्द्रमा पेश गरिनेछ; वा

२)विवादका दुवै पक्षहरुले मन्जूर गरेमा मेलमिलाप मध्यस्थता एवं तथ्य-निरोपण कारवाहीहरुको प्रशासनको लागि अतिरिक्त सुविधा समक्ष;

३)देहायका फेरवदलका अधीनमा रही अन्तर्राष्ट्रिय व्यापार कानूनको लागि संयुक्त राष्ट्र संघीय आयोगको मध्यस्थता नियमावली १९७६ अनुसार विवादको कुनै एक पक्षद्वारा कुनै अस्थायी

मध्यस्थ न्यायाधिकरण समक्षः

क)नियमावलीको धारा ७ अन्तर्गत नियुक्त गर्ने अधिकारी कुनै पनि संविदाकारी पक्षको नागरिक नभएको अन्तर्राष्ट्रिय न्यायालयको अध्यक्ष उपाध्यक्ष वा त्यसपछिको वरिष्ठ न्यायाधीश हुनेछ । तेस्रो मध्यस्थकर्ता कुनै पनि संविदाकारी पक्षको नागरिक हुने छैन ।

खं) पक्षहरुले आ-आफ्ना मध्यस्थकर्ताहरुको नियुक्ति दुई महीनाभित्र गर्नेछन् ।

ग)यस सम्झौताका व्यवस्थाहरु अनुसार मध्यस्थ निर्णय गरिनेछ र विवादका पक्षहरुलाई सो निर्णय बन्धनकारी हुनेछ; र

घ)मध्यस्थ न्यायाधिकरणले कुनै पक्षको अनुरोधमा आफ्नो निर्णयको आधार उल्लेख गर्नेछ र कारणहरु खुलाउनेछ ।

धारा १०

संविदाकारी पक्षहरु बीचका विवादहरु

१) यस सम्झौताको व्याख्या वा कार्यान्वयनसंग सम्बन्धित संविदाकारी पक्षहरु बीचका विवादहरुको समाधान सम्भव भएसम्म वार्ताद्वारा समाधान गरिनेछ।

२) संविदाकारी पक्षहरु वीचको विवाद सो विवाद उत्पन्न भएको मितिले छ महिनाभित्र त्यसरी समाधान गर्न नसकिएमा त्यस्तो विवादलाई कुनै एक संविदाकारी पक्षको अनुरोधमा कुनै मध्यस्थ न्यायाधिकरण समक्ष पेश गरिनेछ।

३)प्रत्येक विवादको समाधानका लागि त्यस्तो मध्यस्थ न्यायाधिकरणलाई देहाय अनुसार गठन गरिनेछ। मध्यस्थताको लागि अनुरोध प्राप्त भएको दुई महीनाभित्र प्रत्येक संविदाकारी पक्षले न्यायाधिकरणको एक÷एक सदस्य नियुक्त गर्नेछ । ती दुई सदस्यहरुले त्यसपछि तेस्रो राष्ट्रको एक नागरिक छनौट गर्नेछन्। जसलाई दुवै संविदाकारी पक्षहरुको समर्थनमा न्यायाधिकरणको अध्यक्ष नियुक्ति गरिनेछ । दुई जना

सदस्यहरुको नियुक्तिको मितिबाट दुई महीनाभित्र अध्यक्षको नियुक्ति गरिनेछ ।

४) यस धाराको प्रकरण ३ मा उल्लेख भएको अवधि भित्र आवश्यक नियुक्तिहरु नगरिएमा कुनै अर्को सम्झौताको अभावमा कुनै पनि संविदाकारी पक्षले अन्तर्राष्ट्रिय न्यायालयको अध्यक्षलाई आवश्यक नियुक्ति गर्न आमन्त्रण गर्न सक्नेछ । अध्यक्ष कुनै एक संविदाकारी पक्षको नागरिक भएमा वा अन्य कुनै कारणले गर्दा निजलाई उक्त कार्य सम्पादन गर्न बन्देज भएमा उपाध्यक्षलाई आवश्यक नियुक्ति गर्न

आमन्त्रण गरिनेछ । उपाध्यक्ष पनि कुनै एक संविदाकारी पक्षको नागरिक भएमा वा अन्य कुनै कारणले गर्दा निजलाई पनि उक्त कार्य सम्पादन गर्न बन्देज भएमा कुनै पनि संविदाकारी पक्षको नागरिक नभएको अन्तर्राष्ट्रिय न्यायालयको बरिष्ठतामा त्यसपछिको सदस्यलाई आवश्यक नियुक्ति गर्न आमन्त्रण गरिनेछ ।

५) मध्यस्थ न्यायाधिकरणले आफ्नो निर्णय बहुमतको आधारमा गर्नेछ । त्यस्तो निर्णय दुवै संविदाकारी पक्षहरुलाई बन्धनकारी हुनेछ । प्रत्येक संविदाकारी पक्षले न्यायाधिकरणको आफ्नो सदस्यको र मध्यस्थ कारवाहीमा आफ्नो प्रतिनिधित्वको खर्च व्यहोर्नेछ । अध्यक्षको खर्च र बांकी खर्चहरु संविदाकारीपक्षहरुद्वारा समान रुपमा व्यहोरिनेछ । तर न्यायाधिकरणले आफ्नो निर्णयमा दुई संविदाकारी पक्षहरु मध्ये

कुनै एकले उच्च अनुपातमा खर्च व्यहोर्ने गरी निर्दिष्ट गर्न सक्नेछ र यस्तो निर्णय दुवै संविदाकारी पक्षहरुलाई बन्धनकारी हुनेछ । न्यायाधिकरणले आफ्ना कार्यविधिहरु आफै निर्धारण गर्नेछ ।

धारा ११

कर्मचारीहरुको प्रबेश र बसाई

संविदाकारी पक्षले गैर-नागरिकहरुको प्रबेश र बसाइसंग सम्बन्धित आफ्ना प्रचलित कानूनको अधीनमा रही अर्को संविदाकारी पक्षका प्राकृतिक व्यक्तिहरु र अर्को संविदाकारी पक्षका कम्पनीहरुद्वारा काममा लगाइएका कर्मचारीहरुलाई लगानीसंग सम्बद्ध गतिविधिहरुमा संलग्न हुने उद्देश्यका लागि आफ्नो इलाकामा प्रबेश गर्न र रहन अनुमति दिनेछ ।

धारा १२

लागू हुने कानून

१)यस सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै लगानीहरुका हकमा त्यस्ता लगानीहरु गरिएका संविदाकारी पक्षको इलाकामा प्रचलित कानून लागू हुनेछ ।

२) यस धाराको प्रकरण १ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस सम्झौताको कुनै पनि कुराले आतिथ्य प्रदान गर्ने संविदाकारी पक्षलाई आफ्नो कानून अनुसार भेदभावरहित तवरमा सामान्य र मुनासिब रुपमा लागू गरिएको आफ्नो अत्यावश्यक सुरक्षा हितको रक्षाका निम्ति वा अत्यन्त संकटकालीन परिस्थितिमा कुनै कारवाही गर्न रोक लगाउने छैन ।

धारा १३

अन्य नियमहरुको प्रयोग

कुनै एक संविदाकारी पक्षको कानून एवं नियमका व्यवस्थाहरु वा प्रस्तुत सम्झौता बाहेक संविदाकारी पक्षहरु बीच अन्तर्राष्ट्रिय कानून अन्तर्गतका हाल विद्यमान रहेका वा यसपछि सिर्जना हुने दायित्वमा अर्को संविदाकारी पक्षका लगानीकर्ताको लगानीलाई यस सम्झौताद्वारा प्रदान गरिएकोभन्दा बढी सौबिध्यतापूर्ण व्यवहारको हक प्रदान गर्ने सामान्य वा खास नियमहरु समाविष्ट भएका रहेछन् भने त्यस्ता नियमहरु ती बढी सौविध्यतापूर्ण भएको हदसम्म यस सम्झौता उपर लागू हुनेछन् ।

धारा १४

लाभहरुको इन्कारी

१) कुनै गैर-पक्षका व्यक्तिहरुमा एउटा संविदाकारी पक्षका लगानीकर्ताको स्वामित्व वा नियन्त्रण रहेको र इन्कार गर्ने संविदाकारी पक्षलेः

क) त्यस्तो गैर-पक्षसंग कुटनीतिक सम्बन्ध कायम नराखेको भएमा; वा

ख) सो लगानीकर्तासँगको कारोवार निषेध गर्ने गरी त्यस्तो गैर-पक्षसँग सम्बन्धित उपायहरु ग्रहण गरेको वा कायम राखेको भएमा वा सो लगानीकर्तालाई वा सो को लगानीलाई यस सम्झौताका लाभहरु प्रदान गरिएमा त्यस्ता उपायहरुको उल्लंघन वा संकुचन हुन सक्ने भएमा अर्को संविदाकारी पक्षले त्यस्तो संविदाकारी पक्षको सो लगानीकर्तालाई र सो लगानीकर्ताको लगानीलाई यस सम्झौताका लाभहरु दिन इन्कार गर्न सक्नेछ ।

२)एउटा संविदाकारी पक्षको कुनै प्रतिष्ठानको सो संविदाकारी पक्षको इलाकामा कुनै सारभूत व्यावसायिक गतिविधिछैन र उक्त प्रतिष्ठानमा कुनै गैर-पक्ष वा अर्को संविदाकारी पक्षका व्यक्तिहरुको स्वामित्व वा नियन्त्रण छ भने पछिल्लो संविदाकारी पक्षले पहिलो संविदाकारी पक्षको त्यस्तो प्रतिष्ठानको रुपमा रहेको लगानीकर्ता र त्यस्तो लगानीकर्ताका लगानीको हकमा यस सम्झौताका लाभहरु दिन इन्कार गर्न सक्नेछ ।

८)कुनै कम्पनीको सारभूत व्यावसायिक गतिविधि निर्धारण गन्र अन्य कुराका अतिरिक्त रकमको लगानी व्यवस्थापन स्वामित्व हक आर्थिक विवरण उत्पादन रोजगारीको जानकारी तथा कुनै खास समयमा उत्पादन गरिएका वस्तुहरुको सूची जस्ता कुराहरुलाई पनि विचार गर्न सकिन्छ ।

धारा १५

लागू हुने

यो सम्झौता लागू हुनको निम्ति संविदाकारी पक्षका कानूनी शर्तहरु पूरा भएको सुनिश्चित गर्दै्र कुटनीतिक सूचनाहरु आदान प्रदान भएको मितिदेखि यो सम्झौता लागू हुनेछ ।

धारा १६

अवधि अन्त्य र संशोधन

१)यो सम्झौता दश वर्षको अवधिसम्म बहाल रहनेछ र त्यसपछि कुनै एक संविदाकारी पक्षले यो सम्झौता अन्त्य गर्ने आफ्नो मनसायको लिखित सूचना अर्को संविदाकारी पक्षलाई नदिएसम्म यसको अवधि स्वतः विस्तार भएको मानिनेछ । त्यस्तो लिखित सूचना प्राप्त भएको मितिले एक बर्षमा यो सम्झौता अन्त्य हुनेछ ।

२) यस धाराको प्रकरण १ बमोजिम यो सम्झौता अन्त्य भएको भए तापनि यो सम्झौता अन्त्य भएको मितिभन्दा अघि गरिएका वा आर्जित लगानीहरुका हकमा यो सम्झौताको बहाली यो सम्झौता अन्त्य भएको मितिबाट दशबर्षसम्मको अर्को अवधिसम्म निरन्तर रहनेछ ।

३)यस सम्झौतालाई पक्षहरुको आपसी सहमतिद्वारा कुटनीतिक पत्रहरुको आदान प्रदान मार्फत् संशोधन गर्न सकिनेछ । यस कुराको प्रमाणस्वरुप आ-आफ्ना सम्बन्धित सरकारहरुबाट विधिवत अख्तियारी प्राप्त गरेका देहायका हस्ताक्षरकर्ताहरुले यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आज मिति २०६८ साल कार्तिक ४ गते तदनुसार सन् २०११ अक्टोबर २१ तारीख शुक्रबारका दिन नेपाली हिन्दी र अंगे्रजी भाषामा दुई-दुई मूल प्रतिहरुमा सबै प्रति समान रुपले प्रामाणिक हुने गरी सम्झौता सम्पन्न भयो । व्याख्यामा कुनै मतभिन्नता भएको अबस्थामा अंगे्रजी भाषाको प्रति मान्य हुनेछ ।

रिडीमा सामुहिक रुपमा म्हपुजा गर्ने

 नेपाल संवत ११३२ नयाँ बर्ष तथा म्हपुजाको अबसर पारेर नेवा देय दबुको आयोजनामा यही आउँदो १० गते म्हपूजाको दिन रिडी बजारमा नेवा र्याली निकालिने भएको छ्। नेवा देय दबु,रिडीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो,साथै उक्त बैठकले सुगन्ध बिहार,रिडीमा सामुहिक रुपमा म्हपुजा समेत गर्ने निर्णय गरेको छ्। म्हपुजा भन्नाले आफुले आफ्नै शरीरको पूजा गर्ने परम्परा हो जुन नेवार समुदायले तिहारको दोश्रो दिन(लक्षमी पूजाको आर्कोदिन)गर्ने गर्छन्।

Monday, October 24, 2011

ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाए

ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएर बसेको पुष्टी भएपछि स्थानीय सर्वसाधारण विरोध गरेका छन ।


ठाडाको डमरु दह छेउ नजिकै रहेको सार्वजनिक जग्गा श्रेष्ठले २७ वर्षदेखि भोगचलन गर्दै आएका थिए ।

जिल्ला अदालतले उक्त जग्गा सार्वजानिक भएको ठहर गरेपछि सयौंको संख्यामा उपस्थित गाउँलेले नारा जुलुससहित विरोध र्याली नै निकालेर श्रेष्ठले कब्जा गरी बसेको जग्गा तुरुन्त छाडन चेतावनी दिएका छन । पर्यटकीय स्थल डमरु तालको छेउमा श्रेष्ठले ५ रोपनी ३ आना ३ दाम महत्वपूर्ण स्थानमा रहेको जग्गा २७ वर्षदेखि कब्जा गर्दै आएका थिए । विरोध सभामा आक्रोशित सहभागीहरुले जनतालाई ठगी सर्वजनिक जग्गा अतिक्रमण गर्ने श्रेष्ठलाई गाउँ छाड्न चेतावनी दिएका छन् । श्रेष्ठ एमाले जिल्ला सदस्य हुन् ।

ठाडामा पंञ्चायतकालमा सदरमुकाम बसेकोले अर्घाखाँचीको दोस्रो सदरमुकामको रुपमा लिईन्छ । अहिले पनि जिल्लाको दक्षिणी क्षेत्रका मुख्य नाका भएकाले उक्त स्थानमा रोपनीको ५० लाख रुपैयाँ मुल्यमा बिक्री हुँदै आएको छ ।

श्रेष्ठले झण्डै चार करोड मुल्य पर्ने सार्वजनिक जग्गा कब्जा गर्दै आएको गाउँलेको भनाई छ । पञ्चायतकालमा पञ्चहरुको आडमा कब्जा गरी बसेको र २०५२ सालमा गाविस अध्यक्ष भएको बेला सार्वजनिक जग्गा आफनो भएको भन्दै पक्की घर बनाएका थिए । अतिक्रमित सार्वजनिक जग्गा छानविन गर्न गाउँलेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला न्यायाधिश ऋषी प्रसाद अधिकारीको एकल ईजालसले जग्गा सर्वाजनिक भएको ठहर गरेपछि ठाडाका सयौं स्थानीय सर्वसाधारण गाउँले अतिक्रमण गरी बसेको जग्गामा उपस्थित भई विरोध गर्दै सार्वजनिक जग्गा छाड्न भन्दै घर घेरेका थिए ।