अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, November 2, 2011

कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी

गएराति कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ भन्दा बढिको क्षती भएको छ । आगलागीबाट फ्रिज, टिभी, राइसकुकरलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रहरीले आगलागीबाट २० लाख भन्दा बढिको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले आगलागी कसरी भयो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । मध्ये रातमा सुरु भएको आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।

छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित

गत साउन २२ गतेदेखि वेपत्ता छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित बनेका छन् । तानसेन नगरपालिका–४, बारुदखानका १६ वर्षिय किशोर न्यौपानेको अहिलेसम्म अवस्था सार्वजनिक नभएको हो ।


दुईसाता अघि प्रहरीले पत्रकार सम्मेलन गरी किशोर आफै अपहरणको नाटक गरेको दाबी गरेको थियो । बाबु रामप्रसाद र आमा नुनाकुमारीले मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले जे भनेको भएपनि अवस्था पत्ता लगाईदिन सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । उनीहरुले राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, विद्यार्थी, उद्योगी, प्रशासन, प्रहरी सबैसंग आफ्नो छोराको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।

उनीहरुले प्रहरीले भनेजस्तै किशोर आफैले घटना बनाउन नसक्ने दावी गरे । ‘उसले आफै अपहरणको नाटक गरेपनि प्रहरीले खोज्नु पर्यो’ बाबु रामप्रसादले भने, ‘छोरा भारततिर गएको भनेर प्रहरी उम्किन मिल्दैन । मेरो छोराको खोजी गरिनुपर्छ' उनले छोरा दोषी भए त्यसलाई पक्रेर कारवाही गर्न समेत आग्रह गरे । प्रहरीले दुईसाता अघि पत्रकार सम्मेलन गरी अपहरण नभएको बताएको थियो ।

प्रहरीको दावी झुठा रहेको दावी उनीहरुले गरे । ‘मेरो छोराको बानी राम्रोसंग थाहा छ’ उनले भने, ‘कुनै हालतमा यस्तो योजना बनाउन सक्दैन ।’ प्रहरीले छोरालाई पक्रेर पुष्टी गर्नुपर्नेमा जोड दिए । अनुसन्धानमा ढिलाई हुँदा सत्य कुरा लुक्न सक्ने उनीहरुले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत् भारतको विभिन्न स्थानमा खोजी कार्यका लागि अनुरोध गरिसकिएको बताए । अपहरणको नाटक गरेका किशोर नेटवर्किङ् व्यवसायको सिलसिलामा भारतमा गएको थपलियाले दाबी गरे ।

Monday, October 31, 2011

अर्घाखाँचीका डोकामान्द्रा बुन्ने चित्रेको पेशा संकटमा


 अर्घाखांची जिल्लाका ग्रामीण भेगका डोकामान्द्रा बुन्ने चित्रेको पेशा क्रमश संकटमा पदै गएको छ । गाउंशहर जताततै आजभोली बढ्दो प्लाष्टीक जन्य भांडाकुडाको प्रयोगका कारण बांसबाट बनाइने चित्रेको पेशा समेत संकटमा पदै गएको हो ।


पहिले प्रत्येक घरमा बर्षमा आधादर्जन बढि चाहिने डोकामान्द्रा मानिसको खेतीप्रतीको रुचीको कमिका साथै आधुनिक समानको बढ्दो प्रयोगले कमि आएको अर्घातोष ५ अर्घाखांचीका ७७ वर्षिय चित्रे धनबहादुर विकको भनाइ छ । पहिला बालीप्रथामा बर्षदिन डोका-मान्द्रा बुन्ने गरेकोमा अहिले बल्लतल्ल ज्यालादारीमा समेत काम पाउन मुश्कील हुने गरेको उनको अनुभव छ । दलित जातीका बुढा, पुराना विश्वकर्माले डोकामान्द्रा बुन्ने काममा बढि रुचि राखेपनि अहिलेका युवापुस्ता यो पेशाबाट भन्दा अन्य पेशाबाट बढि आम्दानी लिन थालेपछि चित्राबुन्ने पेशाबाट विमुख हुंदा कमि आएको स्थानीयबासिन्दा बताउंछन् ।

अर्घाखाँचीको जलुके गाविमा एक सुत्केरी महिलाको गयो

 
अत्याधिक रक्तश्राबका कारण अर्घाखाँचीको जलुके गाविमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ढीलोे प्रसुति सेवावाट वच्चा जन्माए पनि महिलालाई अत्यन्तै रक्तश्राव भएपछि जलुके १ जुवाकोट निवासी १९ वर्षीय तारा पुलामीको ज्यान गएको हो ।


लामो समयसम्म सुत्केरी व्यथाले च्याँपेछि झण्डै १० घण्टाको वाटो डोलिमा वोकेर प्रसुति सेवाको लागि अर्घाखँचीकै ठाडा प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याईएको थियो । प्राथमिक स्वास्थ्यकेन्द्रमा नवजात शिशुलाई जन्म दिएकि सुत्केरी पुलामिको घरफर्कदै गर्दा वाटोमै ज्यान गएको स्थानीयवासीले वताएका छन् । नवजात शिशु सकुसल रहे पनि वालपोषणमा भने निकै समस्या भएको छ । वर्षातको समयमा अवरुद्ध वनेको सडक मर्मत नहुँदा सवारी साधन नचलेपछि ती महिलालाई समयमै स्वास्थ्यचैकि सम्म पुर्याउन नसकेको स्थानीयवासीले वताएका छन् ।

Sunday, October 30, 2011

ब्रिटिश म्यूजियममा गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।


'द डिपार्टमेन्ट अफ एसिया' कक्षअन्तर्गत 'द लाइफ अफ द बुद्ध' शीर्षकमा टांगिएको दस्तावेजमा बुद्धिज्मलाई भारतको धर्मअन्तर्गत राख्दै 'बुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तरपूर्वी भारतको एक शाही परिवारमा जन्मिनुभएको हो' उल्लेख छ । बुद्धको जन्म महारानी मायाबाट लुम्बिनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ ।

'उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट बिरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्ना किन भइरहेका छन् भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी बोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो,' म्युजियममा उल्लेख छ । उक्त दस्तावेजमा बुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि बुद्धका उपदेश शिष्यहरुमा बाँडिएको लेखिएको छ ।

ग्रेट रसेल स्टि्रटमा अवस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । 'हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन,' एक कर्मचारीले भने ।

बि्रटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहाससम्बन्धी जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको 'अ हिस्टि्र अफ द वल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स' मा समेत बुद्धबारे त्यही भ्रमपूर्ण तथ्य प्रसारण भएको थियो ।

बुद्धिष्ट कम्युनिटी सेन्टर, यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले आगामी १२ नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्‍याउन पहल गर्ने जनाए । कानुनवेत्ता सोलिसिटर राजु थापाले संग्रहालयमा रहेको उक्त तथ्यलाई 'हास्यास्पद' भन्दै संग्रहालयलाई गल्ती सच्याउन पत्राचार गर्ने जनाए । 'नेपाल र नेपालीको पहिचान मेटिने काम कहीं कतै हुन्छ भने कानुनी प्रक्रियाबाटै त्यसविरुद्ध जान हामी तयार छौं,' उनले भने ।

कपिलवस्तु दिवस अभियानसंग सम्बद्ध इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि 'गौतम बुद्ध भारतमा जन्मिएको' भन्ने गलत विवरण सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे, 'नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।'

लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन दाहाल अमेरिका जाने

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आगामी साता संयुक्त राज्य अमेरिका जानुहुने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास गर्न राष्ट्रसङ्घको भूमिका तथा हुन सक्ने अन्य सहयोगबारे महासचिव बानकी मुनसँग विचारविमर्श गर्न अध्यक्ष दाहाल नेतृत्वको उच्च प्रतिनिधिमण्डल आउँदो शनिबार न्यूयोर्क जान लागेको हो।


लुम्बिनीको समग्र विकासका निम्ति गुरुयोजना तयार गर्नेलगायत बुद्ध जन्मस्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमा प्रवद्र्धन गर्न हालै सरकारले एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालको संयोजकत्वमा एक समिति गठन गरेको थियो। हालै बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको संयोजकत्वमा गठिन समितिलाई अमेरिका पठाउने निर्णय गरेको हो ।

न्यूयोर्क जाने नेपाली टोलीमा वन तथा भूसंरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान, पूर्वमन्त्रीद्वय डा मिनेन्द्र रिजाल र डा मङ्गलसिद्धि मानन्धर र निजी क्षेत्रबाट बैङ्कर मनोजबहादुर श्रेष्ठ हुनुहुन्छ। टोलीमा संयोजक दाहालका सहयोगीका रुपमा स्वकीय सचिव प्रकाश र समिर दाहाल पनि रहनुहुने छ।

स्वकीय सचिव दाहालका अनुसार सम्भवतः नेपाली प्रतिनिधिमण्डल र महासविच बानबीच यही कात्तिक २१ गते वार्ता हुनेछ। यसअघि महासचिव बानले प्रधानमन्त्री डा बाबुराम भट्टाराईसँगको भेटमा लुम्बिनीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

संयुक्त राष्ट्रसङ्घको ६६ औं महासभामा भागलिने क्रममा प्रधानमन्त्री भट्टराईले महासचिव बानलाई गत महिना न्यूयोर्कमा भेटवार्ता गर्नुभएको थियो। महासचिव बानले राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन युनेस्कोमार्फत लुम्बिनीको विकासमा सघाउने आशय प्रकट गर्दै आउनुभएको छ ।

रिडी बजारमा म्ह पूजा

नेपाल संवत ११३२ तथा म्ह पूजाको अबसरमा नेवार समुदाय द्वारा आज रिडी बजारमा मोटर साइकल र्याली तथा म्ह पूजा गरिएको छ। रयाली निकाल्नु अघी सुगन्ध बिहारमा सामुहिक रुपमा म्ह पूजा गरिएको थियो। पूजा नेवार समुदायका जेष्ठ ब्यक्तीत्व श्री अयोध्या मान श्रेष्ठले गर्नु भएको थियो। पूजा समाप्ती पस्चात बिहान १० बजे मोटर साइकल र्याली निकालीएको थियो। सयौ युवाहरुको सहभागिता रहेको उक्त र्यालीले रिडी बजार परीक्रमा गरेको थियो।