अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 1, 2011

बुटवलका एक कांग्रेस कार्यकर्ता शसस्त्र समुहको जिल्ला ईञ्चार्ज

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम संघ रुपन्देहीका सचिव बरकत अलि भूमिगत सशस्त्र संगठन खोलेर चन्दा असुलीमा सक्रिय रहेको प्रहरीले जनाएको छ। तराई मधेश जनमुक्ति मोर्चा गोइत समूहको जिल्ला कमाण्डर बताएर अलिले रुपन्देहीका उद्योगी व्यवसायीबाट लाखौं रुपैंया चन्दा असुली गरेको प्रमाण प्रहरीले फेला पारेको छ। मोर्चाको जिल्ला कमाण्डर यमराज सिंहका नामले अलि चिनिएका थिए। उनी खुला रुपमा कांग्रेसको जातीय संगठनमा क्रियाशिल छन्। अलि रुपन्देही इञ्चार्ज रहेको तराई मधेश जनमुक्ति मोर्चा गोइत अन्यत्र अस्तित्वमा नरहेको प्रहरी श्रोतको भनाई छ।

तीन साताअघि अनुसन्धानको सिलसिलामा पक्राउ परेका अलिलाई छुटाउन कांग्रेस केन्द्रीय सदस्य एंव पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व राज्यमन्त्री भरत शाहले रुपन्देहीका प्रहरी अधिकृतलाई टेलिफोनबाट र भेटेर नै छोड्न दवाव दिएका थिए। नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर नै अलीलाई पक्राउ गरेको प्रति विरोध जनाएको थियो। उसले अलीलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो।

अलिसँगै प्रहरीले सो समूहको सहायक जिल्ला ईञ्चाज धकधई गाविस-२ लक्ष्मीनगरका २८ वर्षीय विजय सिंह भनिने विष्णु चौधरी, सैन्य कमाण्डर रवि सिंह भनिने २९ वर्षीय रविन्द्र चौधरी, क्षेत्र नम्वर २ का इञ्चार्ज प्रदीप प्रजापति भनिने प्रभु नारायण कोहार र सदस्य फरेना गाविस-३ बिजगौलीका २४ वर्षीय श्यामदेव गुप्तालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ परेका विष्णुको साथबाट एक थान कटुवा पेस्तोल र ६ राउण्ड गोली, प्रभुनारायणको घरबाट तराई मधेश जनमुक्ति मोर्चा गोइत लेखेको एक सय ७१ थान रसिद लगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ। उनीहरुले सर्बसाधारणबाट उठाएको चन्दाबारेमा अनुसन्धान र बयान भइरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्रनाथ रेग्मीले नागरिकलाई बताए। उनीहरुले चन्दा नदिए मार्ने धम्की दिएको पत्र यहाका उद्योगी व्यवसायीलाई पठाएका पत्रहरु समेत प्रहरीले संकलन गरेको छ।

मोर्चाका जिल्ला ईञ्चार्ज अलि बैशाखमा झण्डै नौ महिना लामो जेल जीवन बिताएर छुटेका थिए। अलीले फेरि पुरानै क्रियाकलापमा सक्रिय भएको सूचनाका आधारमा अनुसन्धानका लागि प्रहरीले असार २० गते पक्राउ गरेको थियो। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले अलि निर्दोष रहेको र प्रहरीले अनाहकमा फसाउन खोजेको दावी गरे।

हतियार कारोवारको अभियोगमा गत बर्षको साउन ५ गते पक्राउ परेका अली गत बैशाख २ गते ७५ हजार जरिवानामा छुटेका थिए। गत बर्ष भारतीय नागरिक ओमप्रकाश पासवान र राहुलप्रताप सिंहबाट अलीले ९ एमएनको इटालियन पेस्तोल भारतीय २१ ह्जार रुपैंयामा खरिद गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। भारतबाट हतियार खरिद गरेर यहा ल्याउने र बेच्ने धन्दामा लागेका अली पछिल्लो पल्ट सशस्त्र समूहको नाममा चन्दा असुली र धम्कीमा लागेको पाइएको प्रहरीको भनाई छ।

हतियारको कारोवार अघि उनी गाडी चोरी तस्करीमा संलग्न रहेका थिए। गाडी मोटरसाइकलको नक्कली ब्यूबुकसहित पक्राउ अलि दुई बर्ष अघि रुपन्देही जिल्ला अदातलमा परेको मुद्धामा अदालतले सामान्य धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो।

No comments:

Post a Comment