अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, August 31, 2011

अर्घाखाँचीमा नाचगान गरेर तीज मनाइदै


आज हरितालिका तीज अथार्त हिन्दू नारीहरुले आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै निराहार व्रतबसि नाचगानका साथ यास पर्व मनाउने दिन । यसै अवसरमा काठमाडौँको पशुपतिनाथ  सहित अर्घाखाँचीमा पनि नाचगान गरेर   तीज मनाइदै छ / अहिले अर्घाखाँचीको बलकोट , चिदिका , ठुलापोखरा , केरुंगा , सन्धिखर्क लगायत ४२ वटै गाविसमा तीज गीतहरुको कारण संगीतमय भएको छ /


भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाएर आज तृतीयाका दिन व्रत बसी पाचमीको दिन सप्तर्षिको पूजा गरेपछि तीज सम्पन्न हुन्छ ।तीजको दर खान विशेषगरी माइतीले छोरी चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन यस पर्वमा पाइन्छ । हिन्दू महिलाको महान् धार्मिक पर्वका रुपमा लिइने तीजमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।

नारी स्वतन्त्रताको प्रतीकका रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी चुरा पोते र गरगहनामा सजिएका महिलाको आज बिहानैदेखि घुइँचो लागेको छ । धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराणमा वर्णन छ ।

भाद्र शुक्ल पूर्णिमाको तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न व्रत बसेपछि शिवजी पति पाएकाले तीजको व्रतको महत्व बढेको छ । सधवा नारीले पतिको आयु वृद्धिका लागि कन्याले उत्तम पुरुष पतिका रुपमा पाउन र विधवाले पतिको मुक्तिका लागि व्रत बस्ने गरेको पाइन्छ ।

तीजमा विगतका केही वर्षदेखि सरकारी र गैरसरकारीस्तरमा सामूहिकरुपमा दर खाने र चुरापोते बाँड्ने चलन पनि बढिरहेको छ । यस दिन महिलाका लागि सरकारी बिदा घोषणा गरिएको छ ।

बुटवलमा आधुनिक मासु प्रशोधन उद्योग

विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ ।

सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो ।

२०६६ फागुन १० गते बुटवल–१५ बदेलपोखरीमा स्थापना गरिएको उद्योगले चिकन ससेज, बफ ससेज र अस्ट्रिच सिफुडलगायत विभिन्न मासु परिकार उत्पादन गर्छ । हाल लुम्बिनी अञ्चलका ६ जिल्लालाई लक्षित गरी दैनिक ४ क्विन्टलका दरले उत्पादन भइरहेको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । निकट भविष्यमै उत्पादन बढाएर नारायणी, गण्डकी र राप्ती अञ्चलमा बजार विस्तार गर्ने लक्ष्य उद्योगको छ ।

करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योग अवलोकनका लागि जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । उद्योगले हाल स्थानीय बजारबाट नगन्य मात्रामा खसी पाइरहेको छ । सबैभन्दा बढी भारत र चीनको खासाबाट भेडा, च्यांग्रा आयात गर्ने गरिएको पौडेलले बताए ।

“७० प्रतिशत खसी नेपालबाहिरबाट र ३० प्रतिशत स्थानीयस्तरमा उपलब्ध हुन्छ,” उनले भने, “यो अवस्था कम गर्न थप ६० लाख रुपैयाँ लगानी गरेर यही वर्ष पाँच सय बाख्रा आफैं पाल्दैछौं ।”

आगामी पाँच वर्षभित्र २ हजार बाख्रा पाल्ने लक्ष्यसहित काम भइरहेको पौडेलले बताए । “कृषिप्रधान मुलुकमा बर्सेनि अर्बौं रुपैयाँका खसीबोका विदेशबाट आयात हुन्छ, यहाँका जनशक्ति काम नपाएर खाडी मुलुक भौतारिन्छन्,” उनले भने, “त्यसैले बाख्रापालनमा राष्ट्रकै ध्यान खिच्न हामीले उद्योगसँगै देशकै ठूलो बाख्रापालन फार्म सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।”

हाल खसी र कुखुराका गरी करिब ७० परिकार उपलब्ध गराउँदै आएको उद्योगले रुपन्देहीका मुख्य सहरहरूमा गाडीमार्फत फास्टफुड काउन्टरसमेत सञ्चालन गरिरहेको छ । उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगबाट निस्कने फोहरबाट बायोग्यास निकाल्ने गरिएकाले प्रदुषण नहुने पौडेल बताउँछन् । “फोहर पानी प्रशोधन गरेर सिँचाइ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको छ,” उनले भने

Tuesday, August 30, 2011

अर्घाखाँचीमा एटिएमतर्फ आकर्षण बढ्दो

चाहिएका बेला जहाँबाट पनि झिक्न सकिने भएपछि बैंकका ग्राहकको आकर्षण एटिएमतर्फ बढेको छ । सहरबाट बिनाझन्झट रकम निकाल्न सकिने भएपछि ग्राहकले चेकभन्दा बढी एटिएमलाई रुचाएका हुन् ।

सन्धिखर्कमा पहिलोपटक एटिएम सेवा सुरु गरेको आइएमई फाइनान्सिएलका प्रायः सबै ग्राहकले एटिएम कार्ड प्रयोग गरेका छन् ।

'एटिएम कार्ड प्रयोग गर्ने ग्राहक ९० प्रतिशत छन्,' बैंकका प्रबन्धक प्रदीप पन्थीले भने, 'सजिलो भएकाले धेरैको रुचि बढेको हो ।'

निजी क्षेत्रबाट स्थापित बैंकले एटिएम सेवा दिएपछि ग्राहक बढी आकषिर्त भएका छन् । दैनिक ५ देखि १० ग्राहकले एटिएम कार्ड लिने गरेका पन्थीले जानकारी दिए । मेगा र बैंक अफ काठमाडौं बैंकका पनि ३ हजारजति ग्राहकले एटिएम प्रयोग गर्छन् । सुरक्षित र सजिलो भएकाले ग्राहकहरूको आकर्षण एटिएम सेवाप्रति रहेको बैंक अफ काठमाडौंका शाखा प्रबन्धक मदन गौतमले बताए ।

जोखिम मोलेर रकम लिएर हिँड्न नपर्ने र कार्ड भएपछि जुन ठाउँबाट पनि रकम निकाल्न सजिलो हुने भएकाले ग्राहक बढेको उनले बताए ।



Monday, August 29, 2011

साउदी अरबमा एक अर्घाखाँचीबासीको मृत्यु

बैदेसिक रोजगारीको सिलसिलामा साउदी अरब गएका अर्घाखाँची जिल्ला सन्धिखर्क ६ निवासी २६ बर्षिय कमल मुखीयाको प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ । काम सकेर औषधी पसलमा औषधी लिन साईकलमा गईरहेको समयमा प्रहरीको गाडीको ठक्करबाट मुखीयाको घटनास्थलमै मृत्यु भएको छ ।

Sunday, August 28, 2011

सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेध

संविधान निर्माण नभएसम्म संविधान सभाका सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेधको घोषणा गरिएको छ। जनमोर्चा निकट अखिल छैठौंले तानसेन सितलपाटीमा सभामार्फत् शनिबार यस्तो घोषणा गरेको हो। तानसेनमा सभासद निषेध गर्न कालो ब्यानर टाँगिएको छ। अखिल छैठौंका महासचिव अनिल किशोर घिमिरेले संविधान निर्माणमा भन्दा सत्ताको खेलमा लागेका भन्दै देशभर सभासदलाई खबरदारीका कार्यक्रम गरिएको बताए। ‘हाम्रो घोषणा अवज्ञा गरेर पाल्पा आउने सभासदलाई बाटो छेक्छौं, कालो झण्डा देखाउँछौं,' उनले भने, ‘संविधान सभामा सभासदले संविधान निर्माणका लागि यस्तै दवाबका कार्यक्रम गर्न पनि हामी आग्रह गर्छौ।'


उनले संविधान निर्माणमा भन्दा म्याद थपेर भत्ता खाने र सत्ताका लागि लुछाचुडी गर्ने प्रवृत्तिको विरोधमा यस्तो गरिएको बताए।

‘संविधान नलेख्दासम्म सभासदलाई जिल्ला निषेध छ' सितलपाटी मुल ढोकामा टाँगिएको ब्यानरमा लेखिएको छ, ‘संविधान लेख्न छाडेर सत्ता र भत्तामा लिप्त हुन जनताले जिताएका हैनन्।'

Friday, August 26, 2011

नक्कली नोट सहित एक जनालाई पक्राउ

इलाका प्रहरी कार्यालय कावासोती नवलपरासीले बिहीबार राति ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको रजहरबाट नेपाली एक हजार रुपैयांका नक्कली नोट एक सय १२ थान सहित नुवाकोट भिकुरी ४ बस्ने ४४ वर्षीय छोरा शिवराम भट्टलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेसंग एक लाख १२ हजार रुपैयां नक्कली नेपाली नोट र केही नक्कली मुगा समेत बरामद भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी मुकुन्द मरासिनीका बताए । भट्टलाई राति ना ४ ख ३१९८ नम्बरको रात्रिबस मार्फत काठमाडौंबाट धनगढी जाने क्रममा सुराकीको आधारमा पक्राउ गरेको डिएसपी मरासिनीले जनाए । यसअघि काठमाडौं र भैरहवा लगायतका स्थानबाट यस्तो नक्कली नेपाली नोट बरामद गरिए पनि नवलपरासीमा पहिलो पटक यतिको ठूलो परिणाममा नक्कली नोट बरामद भएको हो । पक्राउ परेकोलाई खोटो चलन अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।



पक्राउ विद्यार्थी छुटाउन रातभर नाराबाजी

पक्राउ विद्यार्थी छुटाउन नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीले बिहीबार रातभर नाराबाजी गरेका छन् । राजनीतिक दलको दबाबमा शिक्षक कुटेको आरोपमा शारदा उच्च मावि ख्याहाका विद्यार्थी र सवारीधनीलाई पक्राउ गरेर झुठा मुद्दा लगाउन खोजेको विरोधमा जिल्ला प्रहरी कार्यालयको गेट घेराउ गरेका हुन् । उनीहरले राति १२ बजे प्रहरी हिरासतमा रहेका विद्यार्थीलाई छुटाउन सफल भए ।

'शिक्षकले जे गरे पनि हुने भन्ने छ र ? राजनीतिक पहुंच लगाएर विद्यार्थीलाई झुठा मुद्दा चलाउन खोजियो' नेविसंघका नेता केशव बस्यालले भने, 'त्यसैले पनि रातभर नाराबाजी गरेरै भएपनि विद्यार्थी छुटाउन बाध्य भयौ ।' दिउँसो कुरा नमिलेपछि विद्यार्थीले राति ८ बजेपछि जिल्ला प्रहरी र प्रशासन कार्यालय जाने गेटमा बसेर नाराबाजी गरेका हुन् ।

नेता बस्यालले सहमतिमा जाने भन्दा पनि राजनीतिक पहुंच लगाउन खोजिएकाले रातिमै भएपनि नाराबाजी गर्नु परेको बताए । प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका विद्यार्थीको दबाब थेग्न नसकेपछि बाध्य भएर प्रहरीले विद्यार्थी रिहा गरेको थियो । शिक्षक कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको थियो ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले राजनीतिक दलकै दबाबमा मुद्दा चलाउछु जे गर्ने गर्नुस् भनेपछि तानसेनका नेविसंघ र क्रान्तिकारीका विद्यार्थी आक्रोशित भएका हुन् । प्रमुख थपलियाले अनावश्यक राजनीति भएको आरोप लगाए । एमाले सभासद्, पुर्वसांसद साथै जिल्ला नेताले मुद्दा चलाउन दबाब दिएको नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले आरोप लगाएका थिए । एमाले अध्यक्ष यादवबहादुर रायमाझीले गाउँको मुद्धा गाउँमै मिलाउनुपर्नेमा राजनीतिकरण भएको बताए । 'दलकै केही साथीहरुले प्रतिष्ठाको विषय बनाउदा समस्या भएको हो' उनले भने, 'अहिले त हाम्रो दबाब कम भएछ भन्ने लागेको छ ।'

शारदा उच्च मावि ख्याहामा शिक्षकले बिद्यार्थी कुटेपछि सुरु भएको विवाद जिल्लासम्म आईपुग्दा राजनितिकरण भएपछि घटनाले अर्कै मोड लिएको हो । गत भदौ ५ गते बिद्यालयमा लाईनलाग्दा ढिलो आएको भन्दै कक्षा ९ मा अध्यनरत शेरबहादुर विश्वकर्मालाई शिक्षकद्धय गोपी भण्डारी र कृष्ण पाण्डेले कुटपिट गरेका थिए । भोलिपल्ट नै बिद्यार्थी जम्मा भएर शिक्षक कुटेको आरोप छ । स्थानीय गोपाल न्यौपानेका अनुसार नजिकमा रहेका सवारी चालक र धनीले छुट्याएकै कारण ठुलो घटना नभएको हो ।

भदौ ७ गते बसेको सर्वदलिय बैठकले घटनालाई गाउँमै मिलाएर अब आईन्दा दुबै पक्षले यस्ता गल्ती नदोहोर्याउने सहमति भएको स्थानीयले बताए । सहमति भएपनि शिक्षकले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि घटनाले अर्को रुप लिएको हो । प्रहरीले शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोपमा थुनामा राखेर मुद्धा चलाउने तयारी गरेको थियो ।

Thursday, August 25, 2011

पहिलो दिन विद्यार्थीलाई शिक्षकले र दोस्रो दिन विद्यार्थीले शिक्षकलाई कुटे

पाल्पामा  चार शिक्षकलाई कुटेको आरोपमा जिल्ला प्रहरीले तीन विद्यार्थीलाई पक्राउ गरेको छ । पाल्पाको पश्चिम ख्याहास्थित शारदा उच्च माविका शिक्षकलाई कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ ।
प्रहरीका अनुसार विद्यालयका शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोप छ । विद्यालयका प्राचार्य तुल्सीप्रसाद न्यौपानेले विद्यालयको अनुशासन पालना नगरेको भन्दै शिक्षकले पहिलो दिन कुटेको झोकमा विद्यार्थीले शिक्षकलाई कुटेका हुन् ।

स्थानीयबासीका अनुसार हो । मंगलबार लाइन लाग्न अटेर गरेको भनेर शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको प्राचार्य न्यौपानले बताए । अर्को दिन विद्यार्थीले शिक्षकलाई विद्यालयमै कुटेका हुन् । दण्डरहित शिक्षणविधि अपनाउन सरकारले आग्रह गरेका बेला शिक्षकले विद्यार्थीलाई त्यसरी कुट्न नहुने स्थानीय एक शिक्षकले बताए ।

शिक्षक कुट्नेमा संलग्नलाई कारबाही गर्न जिल्लास्थित विभिन्न शिक्षकका संघसंस्थाले माग गरेका छन् । घटनाको विरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक परिषद्, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक युनियन लगायतका शिक्षक सम्वद्ध संघसंस्थाले विज्ञप्ति निकालेर दोषी व्यक्तिलाई कानुनी कारबाहीको माग गरेका छन् । शिक्षक सम्वद्ध संघसंस्थाले भने शिक्षकद्धय कृष्णप्रसाद पाण्डे र गोपीप्रसाद भण्डारीमाथि मात्र कुटपिट भएको विज्ञप्तिमा जनाएका छन् ।







Wednesday, August 24, 2011

लुम्बिनीमा नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने

बुद्धको जन्मथलो लुम्बिनीमा पहिलोपल्ट नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने भएको छ । लुम्बिनी विकास कोषले वज्रयानी परम्परामा आधारित विहार बनाउन यसैसाता नेपाल परम्परागत बौद्ध धर्म संघलाई जिम्मेवारी दिएको हो ।


लुम्बिनीमा दर्जनभन्दा बढी विदेशी विहार भए पनि अहिलेसम्म नेपाली विहार छैन । लुम्बिनीमा विभिन्न देशका विहार स्थापना गर्न 'मोनास्टिक जोन' छुट्टयाइएको छ । त्यसमा चीन, कोरिया, जापान, थाइल्यान्ड, बर्मा, भियतनाम, जर्मनी र अरू बौद्ध धर्म पछ्याउने देशका विहार छन् ।

बुद्ध जन्मथलो घुम्न आउनेहरूका लागि यी विहार सर्वाधिक आकर्षण केन्द्र रहने गरेका छन् । 'लुम्बिनीको बौद्ध विहार क्षेत्रमा पहिलोपल्ट नेपाली मौलिक वास्तुकलामा आधारित विहार बन्न लागेको हो,' बौद्ध विद्वान् नरेशमान वज्राचार्यले भने । यो विहार 'मोनास्टिक जोन' को 'डब्लूसी-टु प्लट' मा छ ।

विहार ८० स्क्वायर मिटरमा बन्ने छ । नेपाली मौलिक परम्परागत वास्तुकलामा आधारित विहार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर पाँच सयको हाराहारीमा छन् ।

यी विहारको निर्माण लिच्छवि र मल्लकालदेखि अहिलेसम्म अटुट रूपमा चलिआएको छ । विहारको निर्माण बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार हुने गर्छ ।

'विहारको प्रारम्भिक स्वरूप मात्र तयार भएको छ, अन्तिम स्वरूपबारे अझै बौद्धिक छलफल गर्नेछौं,' वज्राचार्यले भने । उनले विहारको निर्माण चाँडै सुरु हुने र कम समयमा निर्माण सम्पन्न गर्न प्रयास हुने बताए । विहार निर्माणका लागि चाहिने अर्थ संकलनबारे पनि नीति-नियम बन्न बाँकी छ ।



अर्घाखाँचीमा भाईरल विरामीको चाप बढदै

जिल्ला अस्पताल अर्घाखाँचीमा विरामीको चाप बढदै गएको छ । जिल्ला अस्पतालमा गत एक हप्ता देखि दैनिक ४० जनासम्म विरामि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा विषेश गरी भाईरल ज्वरो, जण्डिस, टाईफाईट, निमोनिया लगायतका विरामीको चाप बढदै गएको छ । विरामिको संख्या वढ्दै गएपछि वेड अभावमा विरामीहरु भुईमै सुतेर उपचार गर्न बाध्य भएका छन ।


अस्पतालमा सबैभन्दा बढी भाईरल ज्वरोका विरामी आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले वताउनु भयो । जिल्ला अस्पतालमा मात्रै नभएर गाउ“का स्वास्थ्य केन्द्रमा समेत यस पटक भाईरल ज्वरो, जण्डिस, टाईफाईट जस्ता विरामीको चाप बढेको छ । विरामीको सख्या बढी भएपछि डाक्टर एवं चिकित्सकहरुलाई पनि उपचार र सेवा दिन कठिनाई भएको गुनासो गरेका छन । अस्पतालमा दैनिक विरामीको सख्या थपिदै गएको र सबैभन्दा बढी वालवालिका, महिला र बुढाबुढीहरु विरामी परेको जिल्ला अस्पतालले जनाएको छ ।

Tuesday, August 23, 2011

अर्घाखाँचीको केरुंगा अमराईमा श्रीकृष्णको भब्य रथ यात्रा

अर्घाखाँचीको केरुंगा अमराई उर्फ अमारेमा  श्रीकृष्ण जन्माष्ठमीको अवशरमा श्रीकृष्णको भब्य रुपमा  रथ  यात्रा सम्पन्न गरिएको छ । यसरी  अमराई स्थित राधा कृष्ण  मन्दिर परिशरवाट मन्दिर व्यवस्थापन समितिद्वारा निकालिएको रथ यात्रा वाजागाजा र पुजाआजा सहित अमराई वजार परिक्रमा गराइएको थियो ।   गए राती मध्यरातमा श्रीकृष्णको जन्म भएको खुसियालीमा श्रद्धालुहरुले यसरी प्रत्यक वर्ष विभिन्न झाँकिहरुका साथमा रथयात्रा गरदै  आएका छन् ।    

रथ यात्रा हेर्नको लागि जिल्लाका विभिन्न स्थानहरुवाट श्रद्धलुहरुको ठुलो घुँईचो समेत लाग्ने गर्दछ । त्यस्तै यसै अबसरमा नेवार समुदायको  परम्परागत जातीय संस्कृति लाखे नाच पनि केरुंगाको हटिया बजारमा प्रदशन हुने गर्दछ /  

Monday, August 22, 2011

कविता थापा आत्महत्याका दोषीलाई कारवाही गर : संसदीय समिति

बुटवल नगरपालिका–१३ बस्ने कविता थापालाई स्थानीय आमा समूहले यातना दिएको र त्यसपछि आत्महत्या गरेको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति समक्ष बुझाएको छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिको सोमबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा उपसमितिले प्रतिवेदन बुझाउँदै घटनामा स्थानीय जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको छ ।

बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा ‘आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने’ कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मृतक कविता थापामाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको समयमा त्यहाँ कार्यरत प्रहरीको भूमिकासमेत प्रभावकारी नदेखिएकाले वडा प्रहरी कार्यालय, योगीकुटीका इन्चार्जसहितको टोली परिवर्तन गर्न र छुट्टै अनुसन्धान टोली खटाई उक्त घटनाको निष्पक्ष ढङ्गले छानबिन र अनुसन्धान गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत बैठकले दिएको छ ।

समितिका सभापति सन्ध्यादेवीको अध्यक्षतामा बसेको सो बैठकले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसात्मक घटनाको जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई भदौ ७ गते आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने समितिका सदस्यहरु विनोद पहाडी, कविता सरदार बाँतर, सीता पौडेललगायतले विभिन्न स्थानमा महिलामाथि हत्या, हिंसा र दुव्र्यवहारका घटना भइरहेता पनि प्रहरी प्रशासन मौन रहेकामा आपत्ति जनाए ।

बैठकले महिला जिल्ला समन्वय समिति गठन एवं कार्यविधि र संरचनाको संशोधनका लागि अध्ययन गर्न गठित उपसमितिको म्याद आगामी भदौ १० गतेसम्म थप गर्ने निर्णयसमेत गरेको छ ।

सडक सुरक्षा अवधारणा लागू हुने

प्रहरीले यहाँ सडक सुरक्षा चेक प्वाइन्ट -आरएससीसी) अवधारणा लागू गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई कसिलो, वैज्ञानिक र व्यवस्थित गर्न प्रहरीले उक्त अवधारणा ल्याएको हो । यो भदौ पहिलो साताबाट जिल्लामा लागू गरिने प्रहरीले बतायो ।

प्रहरी उपरीक्षक धीरु बस्न्यातले उक्त अवधारणा आफैं बनाई लागू गर्न लागेका हुन् । अवधारणाअन्तर्गत एक दिनमा ३० स्थानमा मोबाइल ब्यारिकेट -फलामको चलायमान ब्यारियर) राखेर चेकजाँच गरिनेछ । १० समूहमा रहने प्रहरी टोलीले एक ठाउँमा ४ घन्टासम्म बसेर चेक जाँच गर्नेछ । त्यसपछि फेरि अर्को पूर्वनिर्धारित ठाउँमा गएर चेकजाँच गर्नेछ । यसरी एक दिनमा एउटा टोलीले ३ स्थानमा गई चेकजाँचमा कडाइ गर्नेछ । टोलीमा संलग्न पूर्वका प्रहरीलाई पश्चिम, पश्चिमकालाई पूर्व तथा उत्तरकालाई दक्षिण र दक्षिणकालाई उत्तर पठाइनेछ ।

प्रत्येक चेक प्वाइन्टमा ९ प्रहरी खटाइनेछ । प्वाइन्टमा खटिने प्रहरीसँग मेटल डिडेक्टर, मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्ने उपकरण 'बे्रथ लाइजर', गाडी कति स्पिडमा गइरहेको छ भन्ने थाहा पाउन प्रयोग गरिने 'र्‍याडर' लगायतको उपकरण पनि रहनेछ । त्यस्तै ट्राफिक कोन, राति लगाउने ज्याकेट, हेड टर्च र लामो लाइट र भरटेक्स सञ्चार सेट पनि हुनेछन् । प्रधान कार्यालय र मन्त्रालयले रकम नदिए पनि प्रहरीले स्थानीय साधन स्रोत उपयोग गरेर अवधारणाअन्तर्गत काम गर्न लागेको हो ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पिपरा, जितपुर, अर्घाखाँची चोक, गोरुसिंगे, चन्द्रौटा र शिवपुरमा चेक प्वाइन्ट राखी चेकजाँच गरिनेछ । त्यस्तै कृष्णनगर-चन्द्रौटा सडक अन्तर्गत बहादुरगन्ज र शिवानगर चोक तथा तौलिहवा-लुम्बिनी सडकअन्तर्गत जमुबार पुल र पकडीमा चेकजाँच गरिनेछ । त्यस्तै तौलिहवा-मर्जादपुर सडकअन्तर्गत बरदहवा र तौलिहवा-महाराजगन्ज सडकअन्तर्गत छोटकी तौलिहवा लगायतका स्थानमा चेक प्वाइन्ट बनाइनेछ ।

सुरक्षाका लागि ३० मोबाइल ब्यारिकेट ल्याइसकिएको छ । बे्रथ लाइजर, र्‍याडर भने सिंगापुरबाट मगाइएको छ ।

अवधारणाअन्तर्गत जिल्लाका राजमार्ग, दक्षिणी भारतीय सीमा र छिमेकी रूपन्देही, अर्घाखाँची र दाङसँग जोडिने पक्की र कच्ची गरी ३ सय ३३ किलोमिटरभित्र सय बढी चेक प्वाइन्ट राखिनेछ ।



Friday, August 19, 2011

अर्घाखाँची बलकोट घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मिया र लगायतलाई सार्वजनिक मुद्दा

भन्सार अधिकृत र कर्मचारीमाथि दुव्र्यवहार गरी कुटपिट गर्ने २ जनालाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दा चलाएको छ ।

कृष्णनगर भन्सारका २२ कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै प्रशासनमा उजुरी गरेपछि आरोपीलाई पक्राउ गरी मुद्दा चलाइएको हो । गत साउन ३० मा कृष्णनगर गाविस २ बस्ने अकिल मिया र अर्घाखाँची बलकोट २ घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मियाले भन्सार अघिकृत लगायत ६/७ कर्मचारीलाई कार्यालयमा गई गाली गलौज, दुव्र्यवहार र हातपात गरेका थिए । उनीहरूले अवैध रूपमा चोरी तस्करी गरी ल्याएका समान गत साउन २६ मा कृष्णनगरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको थियो ।


कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई २ नगरपालिका बनाउन सिफारिस

कपिलबस्तुमा नगरपालिका बनाउन नेपाल सरकारले घोषणा गरेपछि कपिलबस्तुमा पनि अहिले जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण सिफारिस समितिले जिल्लामा २ नगरपालिका बनाउन सिफारिस पठाएको छ । उक्त सिफारिस समितिले कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई बिभिन्न गाबिससंग गाभेर केन्द्रिय सिफारिस समितिमा नगरपािलका बनाउन सिफारिस पठाएको बताएको छ ।उक्त समितिले यसरी कष्णनगर र शिवराज नगरपािलका नामाकरण गरेको छ । उक्त २ नगरलाई नगरपालिकाको सिफरिस गरी पठाएको जिबिस कपिलबस्तुले बताएको छ । जिल्लामा एक साता सम्म ब्यापकरुपमा अध्ययन, अवलोकन, छलफल र बैठक गरी नगरपालिकाको सिफारिस गर्न समितिलेनिर्णय गरेको हो । उक्त दुई स्थानमा नगरपािलकाका लागि चाहिने सम्मपुर्ण मापदण्ड पुरा भएको बताईएको छ ।


समितिका संयोजक तथा स्थानीय बिकास अधिकारी चिरीञ्जीवी भण्डारीका अनुसार समितिले नगरपािलको नाम, समाबेश गाबिसको संख्या, नगरपािलकाको केन्द्र, वडा संख्या र चार किल्ला बिभाजन गरी सिफारिस पठाएको बताउनुभयो ।

Wednesday, August 17, 2011

लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा दुई किलोको हाईडाटिड सिष्टको सफल अप्रेसन

कलेजोमा जोडिएर रहेको दुई किलोको हाईडाटिड सिष्टको लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा अप्रेसन सफल भएको छ । ल्याप्रोटोमी प्रविधिबाट गरिएको अप्रेसन सफल भएपछि चिकित्सकहरु खुसी भएका छन् ।

गुल्मीको बुढीचौर घर भएका ११ वर्षीय सन्तोष सुनारीको कलेजोबाट मंगलवार शल्यक्रिया गरेर सिस्ट निकालिएको हो । प्राध्यापक डा. वाईजी ताम्बे, डा. प्रकाश सापकोटा र डा. प्रदिप तिमिल्सेना लगायत चिकित्सकको टोलीले शल्यक्रिया गरेका हुन् । ल्याप्रोटोमी प्रविधिबाट पहिलो पटक यति ठूलो सिस्टको सफल अप्रेसन गरिएको हो ।

सुनारीको कलेजोमा दुई किलो एकसय ग्रामको सिस्ट रहेको थियो । बरिष्ठ सर्जन डा. प्रकाश सापकोटाका अनुसार डेढ लिटर पानीले भरिएको अवस्मा रहेको सिस्टलाई सफलतापुर्वक शल्यक्रिया गरिएको छ । सामान्य मासु पलाउने र पानी जम्ने भएपनि यति ठुलो कमै हुने उनले बताए । शल्यक्रिया पश्चात् सुनारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



Friday, August 12, 2011

बुटवल योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार

जनजागरण महिला समूहका महिलालगायत स्थानीय महिलाको यातनापछि आत्मग्लानिका कारण आत्महत्या गरेकी भनिएकी बुटवलको योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार गरिएको छ ।

पीडित पक्ष, संसदीय छानबिन टोली, महिला आयोगको अध्ययन टोली, जिल्लास्तरीय सुरक्षा निकाय र राजनीतिक दलहरूबीच सबै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, पीडितलाई न्यायोचित राहत उपलब्ध गराउने र सबै पक्षको सहभागितामा सम्मानजनक अन्त्येष्टि गर्ने तीन कुरामा सहमति भएपछि मृतकका परिवार शव दाहसंस्कार गर्न सहमत भएका हुन् । 'सबै पक्षबाट तिमीहरू अन्यायमा पर्दैनौ, मृत्युपछि भए पनि आमाले न्याय पाउँछिन् भन्ने भएपछि संस्कार गर्ने भएका हौं,' मृतक कविताका छोरा सविनले भने, 'कानुन मिचेर आमालाई यो गतिमा पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएपछि मात्र आमाको आत्माले शान्ति पाउनेछ ।'

आफन्त दाहसंस्कारमा सहमत भएपछि कविताको शव करिब तीन घन्टा उनलाई यातना दिएको स्थान शिवालय परिसरमा राखिएको थियो । शव हेर्न र श्रद्धाञ्जलि दिन स्थानीय सयौंको भीड लागेको थियो । संसदीय छानबिन टोली, महिला मानव अधिकार आयोगको टोली, मानव अधिकार आयोगको टोली, प्रहरी प्रमुख, प्रशासन प्रमुख, अधिकारकर्मी, महिला अधिकारकर्मीर्लगायतको पनि सहभागिता थियो ।

उनको तिनाउ नदीस्थित मगरघाटमा दाहसंस्कार गरिएको छ । रक्सी सेवन तथा परपुरुषसँग लसपसको आरोपमा गत शनिबार स्थानीय महिला समूहका महिलाले मोसो दलेर हातखुट्टा बाँधी कुटपिट गरेको आफन्तको भनाइ थियो ।



एपेक अध्ययन टोली लुम्बिनीमा

लुम्बिनीलाई मुस्लिमको मक्का, इसाइको जेरुसेलम जस्तो पवित्र पर्यटकीय नगर बनाउने तीन अर्ब डलरको बृहद परियोजना बोकेको एशिया प्यासिफिक एक्सचेञ्ज एण्ड को अपरेशन फाउण्डेशन (एपेक) का सह अध्यक्ष कोलीन सेसेलटिन सहितको टोलीले बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको छ। भ्रमणको क्रममा सह अध्यक्ष कोलिनले लुम्बिनीलाई पवित्र तीर्थस्थलको रुपमा आधुनिक सेटेलाइट सिटीको रुपमा विकास गर्ने गरी सघाउन चाहेको बताए।


कोलीनले लुम्विनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदाको संरक्षण गरि पुरानो गुरुयोजनालाई सघाउ पुर्‍याउँदै अन्य भौतिक पूर्वाधार निर्माणको काममा सहयोग रहने जानकारी दिए।

लुम्बिनी सूचना केन्द्रमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पहिलो चरणमा लुम्विनीमा आधुनिक संचार सेवा पुर्‍याउने योजना सुनाए। त्यसका लागि आधुनिक मोबाईल सेवा, स्याटेलाईट फोन र अन्य आधुनिक संचारका पूर्वाधारहरुको विकास गर्ने योजनाका साथ काम हुने उनको भनाई छ।

विश्वका धेरै व्यापारिक प्रतिष्ठान, विभिन्न राष्ट्र एवं संघसंस्थाबाट सहयोग सम्बन्धि श्रोत जुटाउन लागेको पनि उनले जानकारी दिए। लुम्विनीमा अन्तराष्ट्रिय स्तरको विमानस्थल, सडक, रेल वे, सूचना प्रविधि, संचार सेवा पुर्‍याई लुम्विनीलाई अत्याधुनिक सेटेलाईट शहर बनाउने योजना रहेको एपेकका सदस्य सचिव नरेन्द्र उलकले जानकारी गराए। हेलिकोप्टरबाट आएका दुई पत्रकारसहित आठ एपेक प्रतिनिधिले लुम्विनी भ्रमण गरी काठमाण्डौ विहिवार नै फर्केको छ।

कोलिन सहितको टोलीलाई यहा लुम्विनी विकास कोषका कोषाध्यक्ष मझिलाल थारु थनेत लगायत कोषका कर्मचारीले स्वागत गरे। लुम्विनी गुरु योजनाका बारेमा कोषका सुचना अधिकृत हरि राईले जानकारी गराए।


ताईवानको प्रसिद्ध सञ्चार कम्पनी ताईतुङ कम्युनिकेशन कर्पोरेशन(टिसीसी)ले लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा पुर्‍याउनको लागि आवश्यक अध्ययन गर्न लुम्विनी आइपुगेको छ। टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लिको नेतृत्वमा मंगलबार आएको टोलीमा लि सहित पाँच सञ्चार विशेषज्ञ छन्।

एपेकले लुम्विनीमा अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गर्न खटाएको लिले जानकारी दिएका छन्। एपेकले टिसीसीलाई लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा सम्वन्धी अध्ययन गर्ने जिम्मा दिएको उनको भनाई छ।

टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लि सहितको टोलीले पाँच विशेषज्ञ सहित अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गरेको बताए पनि लुम्विनी विकास कोषले प्राविधिक अध्ययनको बिषयमा कुनै जानकारी नभएको बताएको छ।



Thursday, August 11, 2011

एसएलसी पुरक परीक्षा अन्तर्गत गणित विषयको परीक्षामा अर्घाखाँचीमा ३६ विद्यार्थी निष्कासित

जारी एसएलसी पुरक परीक्षा अन्तर्गत  अनिवार्य गणित विषयको परीक्षामा अर्घाखाँचीमा   ३६ परीक्षार्थी निष्कासित भएका   छन् । यसरी निष्कासित हुनेमा  हुनेमा अर्घाखाँची  आवासीय उच्च माविबाटको केन्द्रवाट ६, जनज्योती उच्च माविबाट ११ र भगवती उच्च माविको केन्द्रवाट १९ जना परीक्षार्थीलाई परीक्षाको मर्यादा विपरित काम गरेकाले निस्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनुभयो । यस अघि अग्रेजी विषयको परीक्षामा अर्घाखांचीमा ६ जना निस्कासित भएका थिए । परीक्षा हलभित्र चिट चोरेको भन्दै जिल्ला शिक्षा कार्यालयका कर्मचारीले उनीहरुको परीक्षा रद्द गरेका हुन ।

खिल्जी गाविसको एक किराना पसलमा आगलागी

अर्घाखाँचीको खिल्जी गाविसको एउटा किराना पसलमा आगलागी हुँदा एक लाख ३५ हजार वरावरको धनमाल जलेर नष्ट भएको छ । खिल्जी गाविस वार्ड नं. २ रामपुर स्थित श्यामलाल चुँदालीको किराना पसलमा आगलागी हुँदा पसलमा रहेको दैनिक उपभोग्य सामान, भाँडाकुँडा, अन्नपात, नगद तथा कागजपत्रहरु सवै जलेर नष्ट भएको प्रहरीले वताएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन /




   

कविता थापा घटना मध्ययुगीन बर्बरता

जनजागरण महिला समुहका सदस्यहरुको यातनापछि आत्महत्या गरेकी बुटवलको योगीकुटीकी कविता थापाको घटनाबारे सत्यतथ्य अध्ययन गर्न आएको चार सदस्यीय संसदीय छानवीन टोलीले बुधबारदेखि स्थलगत अध्ययन थालेको छ ।


घटनास्थल, प्रत्यक्षदर्शी, हिरासतमा रहेका महिला तथा स्थानीय प्रहरी प्रशासनसंगको सोधपुछपछि प्रतिक्रीया दिंदै टोली संयोजक विनोद पहाडीले कवितामाथि महिला समुहले गरेको कार्य मध्ययुगीन बर्बरता तथा मानव सम्यतालाई नै चुनौति दिने खालको भएको टिप्पणी गरेका छन् ।

दवाउन खोजिएको घटनालाई बाहिर ल्याएर सञ्चार माध्यमले राज्यको आँखा खोलेको बताउँदै टोलीले अब यस्ता घटना दोहोरिन नदिन पनि घटनाको गहिरो अध्ययन गर्ने उनको भनाई थियो । स्थलगत अध्ययनमा संलग्न नैनकला थापाले घटनालाई जघन्य अपराधका रुपमा लिएर अध्ययन सुरु गरेको र त्यसअनुसार घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।

टोलीले बिहीबार पनि घटनाको थप अध्ययन गर्ने र पीडित तथा प्रत्यक्षदर्शी मानवअधिकारकर्मी, पत्रकारलगायतसंग छलफल गर्ने जनाएको छ । शनिबार दिउँसो रक्सी खाने कुलतमा लागेको आरोप लगाउँदै स्थानीय जनजागरण महिला समुहका सदस्यहरुले यातना दिएपछि आत्मग्लानीका कारण कविताले त्यसराति घरमा झुण्डीएर आत्महत्या गरेकी थिइन् ।

संसदीय छानविन टोलीको अध्ययनपछि पनि मृतक पक्षधरले प्रहरीले सबै दोषी महिलालाई पक्राउ गर्नु पर्ने तथा पीडितलाई राहत उपलब्ध नगराउँदासम्म शव नउठाउने भन्दै पाँचौं दिन बुधबार पनि शव घरकै बरण्डामा राखेको छ ।

मृतकका आफन्त तथा स्थानीयले स्थलगत अध्ययनकालागि आएको संसदीय टोलीसंग घटनाको सत्यतथ्य अध्ययन गर्न तथा सबै दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्दै केहीबेर बाटो समेत छेकेका थिए । शव हेर्न आउने मृतकका दाजुभाइ तथा टाढा टाढाका आफन्तहरुसमेतको घरआसपासमा भीड लागेको छ ।

आक्रोशीत समुहको भीडले योगीकुटी बजार थप तनाग्रत बनेको छ । प्रहरीले घटनामा संलग्न देवु ढकाल, श्याम कुमारी गिरी, माया थापा र कमला न्यौपानेलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ ।

Wednesday, August 10, 2011

लुम्बिनीको विकासका लागि छलफल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि आयोजना गरिएको छलफलमा भाग लिन नै आफू मलेसिया गएको स्पष्ट पारेका छन् ।

मलेसियाको चार दिन बसाइपछि बुधबार स्वदेश फर्किएका अध्यक्ष दाहालले बुधबार त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै बैठकमा लुम्बिनीको विकासका लागि अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरियालगायतका प्रतिनिधिसित छलफल भएको बताए ।

लुम्बिनीमा तीन अर्ब अमेरिकी डलरको महत्त्वाकांक्षी परियोजना घोषणा गर्ने चिनियाँ संस्थाको आधिकारिकता विवाद उठेकाबेला दाहाल एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेसन फाउण्डेसन -एपीईसीएफ)को बैठकमा सहभागी हुन मलेसिया गएका थिए ।

'यसबारे विवादास्पद कुरा आएका छन्,' दाहालले भने, 'तर त्यस्तो केही होइन, यो एक्लै लुकेर गर्ने कुरा होइन, सरकारसँग सहकार्य गरेरै हुन्छ ।' उनले नेपालसहित भारत र चीनसमेत मिलेर लुम्बिनीलाई धार्मिक पर्यटकीय क्षेत्रकारुपमा विकास गरिने बताए ।

माओवादी अध्यक्ष दाहालले अबको राजनीति ५ बुँदे सहमतिअनुसार नै अघि बढ्ने बताए । प्रधानमन्त्री झलनाथ खनाललाई सन्चो भएपछि सहमति प्रयासका लागि गृहकार्य हुनेसमेत जानकारी दिए ।

दाहाल आइतबार विदेश विभाग प्रमुख कृष्णबहादुर महरासहित मलेसिया उडेका थिए ।

पाल्पा दरवारको पून निर्माण कार्य तिव्र गतीमा

२०६२ साल माघ १८ गते तात्कालीन विद्रोही नेकपा माओवादीद्धारा तानसेन आक्रमणका क्रममा ध्वस्त भएको ऐतिहासिक दरवारको पून निर्माणको कार्य यतिखेर तिव्र गतीमा बढेको छ ।२०६७ साल असार मसान्तमै सकिसक्नु पर्ने ठेक्का सम्झौता भएपनि ठेकेदार कम्पनीले काठको समस्या देखाउादै निर्माण कार्यलाई कछुवाको गतीमा अगाडी बढाएको दरबारको पुरानै स्वरुप र शैलीमा पूनर्निमाण हुन लागेको हो । वि.सं. १९६३ सालमा पाल्पा गौडाका तात्कालीन जनरल प्रताप शमशेरले दैनिक प्रशाशनिक कार्य सञ्चालनका लागी ४ तला २ वटा बुर्जा सहित एक बैठक कक्ष सहित ६७ वटा कोठा भएको दरबार निर्माण गराएका थिए ।

शान्ति तथा पूनर्निमाण मन्त्रालयद्धारा प्राप्त ४ करोड ९२ लाख रुपैयाामा पूननिर्माण भएको दरबार कोढे काठ र इट्टाबाट बन्न लागेको हो भने पाको इट्टा पिसेर चुना मिसाइ निर्माण गरिएको सुर्की लगाइ निर्मित यस दरबारमा ध्वस्त हुनु पूर्व प्रमुख जिल्ला अधिकारीको निवास सहित एक दर्जन सरकारी कार्यालयले आफ्नो दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आएका थिए ।


दरबारलार्य आवश्यक पर्ने काठ ठूला ठूला साइजको भएको र अत्यन्त कमै पाइने काठ नेपालको पश्चिमी जिल्लाबाट ल्याउनु पर्दा काठको कारणले गर्दा ०६७ आषाढ मसान्तमा निर्माण कार्य पुरा गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । ४ करोड ९२ लाख रुपैयाा टेनडर प्रक्रियाबाट पूर्ननिर्माण हुन लागेको दरबार ऐतिहासिक, पुरातात्वीक दृष्टिकोणबाट महत्वपूर्ण र सरकारी कार्यालयहरुले दैनिक कार्य सम्पादन गर्नलाइृ विगतमा अत्यन्त सहज भएपनि पूननिर्माण पश्चात् सरकारी कार्यालयलाई पुन स्थापना गर्ने वा दरबारलाईृ संग्राहालय बनाउने विषयमा स्थानीय प्रशासन, राजनैतिक पार्टीका स्थानीय प्रतिनिधी बिच समन्वय हुन नसक्दा भावी योजना अलपत्र छ ।

दरबार परिसरमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, राष्ट्रीय अनुसन्धान, कोष तथा लेखा नियन्त्रक, मालपोत, भूमिसुधार, सरकारी वकिलको कार्यालय सहित प्रमुख जिल्ला अधिकारीको निवास समेत रहेको थियो । २००७ सालको राजनैतिक परिवर्तन पछि लामो समयसम्म सरकार संरक्षित दरबारमा २०१५ साल देखि सरकारी अड्डा तात्कालिन स्वर्गीय राजा महेनद्रको मैखिक आदेशबाट राखीएको थियो ।

पुरानो स्वरुप पुरानै शैलीमा निर्मित दरबार प्रशाशनकि कार्यका लागि उपयुक्त नहुने र यसलाई राष्ट्रिय महत्वका साथमा सङग्राहालय बनाउुपर्ने राजनैतकि दलहरको भनाइ रहेको छ । प्रशासनिक कार्य सञ्चालनका लागी कोठा सााघुरा सुविधा विहिन हुादा कार्य सम्पादनका लागी कठीन कुने हुादा अन्यत्र सारीनु पर्दछ भन्ने यहााका प्रशासकहरुको भनाइ रहेको छ ।

 ६७ कोठा भएको दरबार २०६२ साल माघ १८ गते तात्कालीन विद्रोही नेकपा माओवादीद्धारा तानसेन आक्रमणका क्रममा ध्वस्त भएको थियो ।

Tuesday, August 9, 2011

जलुके गाविसमा सिकार खेल्न जंगलमा गएको बेला आफ्नै साथीले चलाएको गोलीलागेर एक जनाको ज्यान गयो

अर्घाखाँचीको जलुके गाविसमा सिकार खेल्न जंगलमा गएको बेला आफ्नै साथीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

जलुके गाविस वाड नं ५ बुढीदमारको जंगलमा सिकार खेल्न गएको बेला टंकबहादुर पुनले मृग भनेर चलाएको गोली लागेर आफ्नै साथी स्थानीय ५२ बषिर्य डालबहादुर कुमाल -- के एम ) को ज्यान गएको हो ।

हिजो दिउसो सिकार खेल्न गएको समयमा आफ्नै साथीको मृग भनेर गोली चलाउदा मृत्यु भएको गोली चलाउने पुनले स्थानीय बासिन्दा समक्ष स्वीकारेको स्थानीय बासिन्दाले बताएका छन् ।

हत्या गर्ने पुन फरार भएका छन् । अर्घाखाँची,प्युठान र दांगको सिमाना तथा बिकट गाँउमा घटना भएकाले समाचार आज दिउसो मात्र प्राप्त भएको हो ।


घटनाको बारेमा जानकारी लिनर् इलाका प्हरी कार्यलय ठाडाको एक टोली घटनास्थल तर्फगएको तर घटनाको बारेमा आधिकारिक जानकारी नआईसकेको प्रहरी नायब उपरिक्षक अरुण पौडेलले बताउनु भयो ।

जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले एसएलसी मौका परिक्षामा परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै ७ जना परिक्षार्थीलाई निष्कासन

जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले एसएलसी मौका परिक्षामा परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै ७ जना परिक्षार्थीलाई निष्कासन गरेको छ । अर्घाखाँचीमा एसएलसीबाट परिक्षार्थी निष्कासन गरिएको यो पहिलो पटक हो ।




अर्घाखाँचीको अर्घाखाँची आबसीय उच्च मा वी केन्द्रबाट १४७१२५६ टि र १४७१२६७ इ,१४७०३९र्६र् इ,०४७०१३९ जि सिम्वोल नम्वरका ४ जना परिक्षार्थी र जनज्योती उच्च मा वी सन्धिर्खक केन्द्रबाट १४७०१८८ आर,१४७०१७३ सी,१४७०३४४ आर सिम्वोल नम्वरका ३ जना परिक्षार्थीहरु निष्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए ।



परिक्षाको मर्यादा माथी गएर काम गरिएको अवस्था भेटाएपछि आजको अग्रेजी परिक्षाबाट ६ जना प्ररीक्षार्थी निष्कासन गरिएको खनालले बताउनुभयो । परिक्षा सञ्चालन हुन भन्दा १ हप्ता अगाडी देखी र परिक्षा हलमा प्रवेश गरेपछि पनि परिक्ष्ँार्थीलाई सचेत गर्राईएको भएपनि नियमको कुनै वास्ता नगरेकाले निष्कासन गरिएको कार्यालय जनाएको छ ।



एसएलसी बिग्रे अर्घाखाँची जानु पर्छ भन्ने मान्यतालाई जिल्ला शिक्षा कार्यालयको कदमले पक्कै पनि चुनौती दिएको छ । विगतमा भन्दा यो वर्ष मौका परिक्षा थप मर्यादित बनाउने कार्यालयको योजनामा धेरै सफलता मिलेको शिक्षा विदहरुको बुझाई रहेको छ । ३ केन्द्रमा परिक्षा सञ्चालन भएको थियो।

आत्महत्या गरेकी कविता थापाको शव तेस्रो दिन पनि उठ्न सकेन

स्थानीय जनजागरण महिला समूहको यातनापछि आत्महत्या गरेकी योगीकुटीकी कविता थापाको शव तेस्रो दिन पनि उठ्न सकेन ।


रक्सी खाने बानी सुधार्ने नाममा सार्वजनिक स्थानमा लगेर महिला समूहले यातना दिएकाले आत्महत्या गरेकी कविताको शव आफन्तहरूले दोषीमाथि कारबाही माग गर्दै नउठाएका हुन् । उनको शव सोमबार रातिसम्म घरको बरन्डामै छ ।

महिला समूहले शनिबार हातखुट्टा बाँधेर कालोमोसो दली उनलाई यातना दिएका थिए । पछि प्रहरीले आएर बाँधिएको हातखट्टाको डोरी फुकाउन लगाएको थियो । यातनासहित सार्वजनिक बेइज्जती गरेपछि उनले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

'दोषीउपर कारबाही नहुँदासम्म शव उठाउँदैनौं,' बुहारी तारा थापाले भनिन्, 'मृत्युको मुखमा पुर्‍याउनेमाथि कारबाही हुनैपर्छ, नत्र हामी शव उठाउने छैनौं ।' घटनापछि योगीकुटी शोकमग्न बनेको छ । शव घरमा राखिएका कारण भावविह्वल भएर हेर्न आउनेहरूको भीड र आत्महत्या गर्न बाध्य बनाएको भन्दै आक्रोसित समूहको चहलपहलका कारण सोमबार दिनभर योगीकुटी बजारमा भीडभाड भएको थियो । शोकका कारण सोमबार योगीकुटीमा लाग्ने साप्ताहिक हाट पनि लागेन ।

अघिल्लो दिन महिला समूहलाई दोषी देखाएर मौखिक उजुरी गरेका मृतक कविताका श्रीमान् गोपाल थापाले सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक अपराधसम्बन्धी किटानी जाहेरी दर्ता पनि गराएका छन् । उक्त जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक कृष्णकुमार महतले बताए । किटानीकै आधारमा जनजागरण आमा समूह आवद्ध महिलालाई इलाका प्रहरी कार्यालय बुटवलमा सोधपुछ सुरु गरिएको छ ।

सोमबार चार जनालाई सोधपुछ गरिएको छ । 'आत्महत्या आफंैले गरेको भए पनि आत्महत्या गर्न बाध्य पार्नु गाली बेइज्जती हुन सक्छ । कानुनलाई समेत हातमा लिएर महिला समूहले जुन क्रियाकलाप गरेको भनिएको छ, त्यो वास्तवमै उनीहरूले गलत गरेका हुन्,' नायव उपरीक्षक महतले भने, 'उनीहरू कानुनको दायरामा आउँछन् ।'

स्थानीय महिला समूहका अगुवाले भने मादक पदार्थ सेवन गर्ने गरेको र परपुरुषसँग अनैतिक सम्बन्ध रहेको 'हल्ला चलेका' ले कवितालाई सही बाटोमा ल्याउन त्यसो गरिएको तर्क गरेका छन् । 'म त्यहाँ थिइन तर मैले साथीहरूलाई कवितालाई सुधार्नका लागि सम्झाउनु भनेकी हुँ,' महिला समूहकी अध्यक्ष शुष्माकुमारी अर्यालले भनिन्, 'उनलाई सामाजिक सचेतना गराउँदा घटनाले दुःखद मोड लिन पुग्यो ।'

मृतक कविताका भाइ भीमसेन पोखरेलका अनुसार घटना 'मिलाउने' भन्दै पीडित पक्ष, स्थानीय र केही नागरिक अगुवा सोमबार इलाका प्रहरी कार्यालय बुटवल तथा स्थानीय शिवालयमा छलफलमा बसेका थिए । तर पीडित पक्षले दोषीमाथि कारबाही नभएमा घटना मिलाउनुको कुनै औचित्य नहुने प्रस्ट पारेको थियो । 'कानुन हातमा लिएर सार्वजनिक स्थलमा यातना दिई दुव्र्यवहार गरेकै कारण दिदी आत्महत्या गर्न बाध्य भएकाले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि नबढ्दासम्म हामी शव उठाउन्नौं,' पोखरेलले भने ।

यसैबीच घटनाको सत्यतथ्य अध्ययनका लागि व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले विधायक विनोद पहाडीको संयोजकत्वमा ४ सदस्यीय संसदीय छानबिन समिति बनाएको छ । समितिमा एमालेका पुरणसिंह दयाल, कांग्रेसका विमला नेपाली, सावित्री सिंह सदस्य छन् । समितिले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा घटनाको अविलम्ब निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाहीको निर्देशन पनि गरेको छ । यता छानबिन समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले गृहसचिव लीलामणि पौडेललाई भेटेर घटनाबारे जानकारी लिएको छ । समितिले घटनास्थलमै आएर घटनाको अध्ययन गर्ने र एक साताभित्र प्रतिवेदन बुझाउने संयोजक पहाडीले बताए ।

Monday, August 8, 2011

घाँस बिक्री गरेर सामुदायिक विद्यालय

नजिकै छोराछोरीलाई पढाउनै भनेर अर्घाखाँचीका उपभोक्ताले घाँस खेती गरेर सामुदायिक विद्यालय चलाएका छन् । बाँगी-७ कुझेका गाउँलेले स्थानीय नृसिंह प्रावि घाँस बेचेर आएको पैसाले नै सञ्चालन गरेका हुन् । आठ वर्षदेखि गाउँलेले राष्ट्रिय वनलाई सामुदायिक बनाएर घाँस खेती गरेका र त्यसबाट हुने आम्दानीले विद्यालय चलाएको देउराली सामुदायिक वनका अध्यक्ष मोतीबहादुर खड्काले बताए ।


विद्यालय नजिक नहुँदा स-साना नानीहरूलाई समस्या परेपछि अभिभावकले यस्तो अभियान थालेका हुन् । सरकारले वास्ता नगरेपछि गाउँमै छोराछोरीलाई पढाउन लागेको उनीेहरू बताए । भवन निर्माणदेखि शिक्षकलाई तलब र विद्यालय खर्च घाँस बेचेर आएको पैसाले पुर्‍याएका छन् । कुझे, गोवदी पलसपाटा पोखेडाँडा लगायत ६५ परिवारका ५० भन्दा बढी

बालाबालिकाले यही विद्यालयमा पढ्छन् । शिक्षाले यस वर्षदेखि एक राहत दरबन्दी दिएको छ भने २ शिक्षकको व्यवस्था स्थानीय स्रोतबाट जुठाएको छ ।

कक्षा २ सम्म विद्यालय चलाउँदै आए पनि अन्य कक्षा भने आर्थिक अभावका कारण थप्न नसकेको खड्का बताउँछन् । 'घाँस खेती नगरेको भए विद्यालय चल्ने थिएन, शिक्षामा बारम्बार अनुरोध गर्दा चासो नदिएपछि यस्तो उपाय अपनाएका हौं,' उनले भने । उनीहरू घाँस र दाउरा बेचेर वाषिर्क ५० हजार आम्दानी गर्छन् । आफ्नो वडाभित्र पर्ने १० हजार रोपनीभन्दा बढी जग्गामा स्कुल चलाउन घाँस खेती गरेका छन् ।

घाँस बिक्री नभए आफैं काट्ने र बेचेर पैसा उठाउने गरेको व्यवस्थापन समिति अध्यक्ष भुमबहादुर महतले बताए ।

'सामुदायिक वनमा घाँस खेती नगरेको भए विद्यालय सञ्चालन गर्न सम्भव थिएन,' उनले भने, 'यसले ठूला सहयोग पुर्‍याएको छ ।'

कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाद्वारा आत्महत्या

बानी सुधार्ने नाममा स्थानीय जनजागरण महिला समूहका पदाधिकारीसहितका महिलाले हातखुट्टा बाँधी कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाले आत्महत्या गरेकी छन् । 

यातनापछि आत्मग्लानिका कारण बुटवल-१३ योगीकुटीकी ४२ वर्षे कविता थापाले राति आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको स्थानीयवासीले बताए ।रक्सी खाएर होहल्ला गरी हिँडेको र परपुरुषसँग लसपस गरेको लगायत आरोपमा शनिबार दिउँसो योगीकुटीको शिवालयमा उनलाई कालोमोसो दलेर हातखुट्टा बाँधी यातना दिएका थिए ।

अमानवीय व्यवहारका कारण कविता आत्महत्या गर्न बाध्य भएको भन्दै महिला समूह त्यसमा जिम्मेवार रहेको परिवार र स्थानीयले बताएका छन् । उनीहरूले समूहका पदाधिकारीमाथि कडा कारबाहीको माग राख्दै प्रहरीमा उजुरी गरेका छन् ।'झन्डै ५०-६० महिलाले शिवालय अगाडि लगेर हातखुट्टा बाँधेर एक घन्टाभन्दा बढी समय रक्सी छोड्ने कि नाई भन्दै थर्काउने, कुटपिट गर्ने र कालो दल्ने गरेका थिए,' छिमेकी मन्जु रेस्टुरेन्टकी रूपा भण्डारी छेत्रीले भनिन्, 'दुव्र्यवहार र यातनाकै कारण उनले आत्महत्याको बाटो अंगालेकी हुन् ।'

प्रत्यक्षदर्शीहरूका अनुसार श्रीमान्, बुहारी र नातिका साथ बस्ने भए पनि महिला समूहका पदाधिकारीसहितले आइतबार कवितालाई घरमा कोही नभएका बेलामा नियन्त्रणमा लिएका थिए । उनीहरूले दुव्र्यवहार गर्दा वरपरका धेरैजसो रमिते भएका थिए । केहीले 'यसो नगर' भन्दा समूहका महिलाहरूले 'उनको जिम्मा लिन्छौ र' भन्दै हकारेका थिए ।

धेरैबेरपछि योगीकुटीमा रहेको नगर प्रहरी आएर गाली गरेपछि मात्र महिलाहरूले कवितालाई छोडेका थिए । 'मुखभरि कालोमोसो भएकी कविताले मैले पानी दिएपछि मुख धोएकी थिइन्,' प्रत्यक्षदर्शी रूपाले थपिन् । यातनापछि घर गएकी कविता खाना पनि नखाई कोठामा पसेको र राति झुन्डिएको अवस्थामा भेटिएको बुहारी तारा थापाले बताइन् । आत्महत्या गरेकी कविताका मुखभरि नीलडाम थिए । भाइ भीमसेन पोखरेलले दिदीको गल्ती भए सुधार्ने अरू उपाय हुन्थ्यो भन्दै महिला समूहका नाममा कानुन हातमा लिएर यातना दिँदा दिदीले ज्यान गुमाउनु परेकामा आक्रोश व्यक्त गरे । दिदीको शवनजिकै रोइरहेका उनले समूहका महिलाहरूले सबै कुराको सीमा नाघेको बताए । 'मैले दिदी गुमाएँ तर अब यस्तो पीडा अरूले भोग्न नपरोस् भन्नका लागि पनि उनीहरूमाथि कारबाही हुनुपर्छ,' उनले भने ।

घटनास्थल पुगेका प्रहरी कार्यालय योगीकुटीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक होम श्रेष्ठले आइतबार दिउँसो स्थानीयले खबर गरेपछि आफू पुग्दा समूहका महिलाहरूले कविताका खुट्टा बाँधेर यातना दिएको देखेको र तत्काल खोल्न लगाई उनीहरूलाई हटाएको बताए । कविताको आत्महत्यापछि आइतबार साँझसम्म शव आँगनमै राखिएको छ भने स्थानीय योगीकुटी टोल पूरै शोकमग्न छ ।
जनजागरण महिला समूहले भने कविताको बानीले गाउँ समाजमा नकरात्मक सन्देश गएकाले सधार्न सम्झाएको र नमानेपछि सामान्य कारबाही गरेको दाबी गरेको छ । 'हाम्रो उद्देश्य उनलाई मार्ने होइन, उनले खाने रक्सी र परपुरुषको लसपस हटाउनु थियो,' समूहकी सचिव लक्ष्मी छेत्रीले भनिन्, 'त्यसैले राम्ररी सम्झाउँदा मानिनन्, उल्टै मुखमुखै लागेपछि अलिकति बाँधेर डर देखाएका मात्र हौं । मर्नुको कारण हामी होइनौं ।'
समूहकी अध्यक्ष सुषमाकुमारी अर्यालले २०५२ मा स्थापित समूहले यसअघि पनि घरेलु हिंसा, बहुविवाह, दमन, रक्सी छुटाउनेलगायत अभियानमा सम्झाउने/बुझाउने लगायत काम गर्दै आएकामा यस्तो दुःखदायी घटना भने नभएको बताइन् ।प्रहरी सहायक निरीक्षक श्रेष्ठले महिला समूहले सुधारका नाममा यातना दिनु र कानुन हातमा लिने काम गर्नु गलत रहेको बताए ।

यातनाकै कारण आत्मग्लानिले कविताले आत्महत्या गरेको भए पनि मृत्युमा महिलाहरूको प्रत्यक्ष संलग्नता नरहेकाले भरसक घटनालाई स्थानीयस्तरमै मिलाउन प्रयास भएको उनले बताए । 'पीडित पक्ष, महिला समूह, स्थानीय बुद्धिजीवी र प्रहरी बसेर छलफल गरिरहेका छौं,' घटनास्थलमै छलफलमा व्यस्त उनले आइतबार राति भने, 'भरसक गल्ती नदोहोरिने गरेर उनीहरूलाई सचेत पारेर घटना मिलाउँछौं ।'

Saturday, August 6, 2011

खज्याङ्गका खिमबहादुर महिलालाई बलात्कार गरेको अभियोगमा थुनामा

पल्लीकोट गाविसकी ४५ वर्षीया एक दलित अभियोगमा खज्याङ्ग गाविस-९  ४० वर्षीय  बुचालाई जिल्ला अदालतले ०६८ साउन १८ गतेदेखि पूपर्क्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आफ्नो पसलमा सामान किन्न गएकी उक्त महिलालाई सामान हेर्ने निँहुमा गोदाममा लगेर पुनले ०६८ साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको सम्बन्धमा पीडित महिलाले ०६८ साउन १३ गते स्थानीयबासीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले पुनलाई सोही दिन पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।



Friday, August 5, 2011

गुल्मीको रुरु गाबिसमा सैन्य ब्यारेक स्थापना गर्ने

नेपाली सेनाले गुल्मीको रुरु गाबिसमा सैन्य ब्यारेक स्थापना गर्ने भएको छ्। ब्यारेक राख्नको लागि उपर्युक्त स्थानको छनोटका लागि आज रिडी आएका सेनाका प्राबिधिज्ञहरुको टोलीले थोर्गाको झँवलेलाइ छनोट  गरेको छ्। त्यस्तै टोलीले त्यहाँका स्थानिय वासिन्दाहरु सँग ब्यारेकको बिषयमा प्रतीकृया समेत लिएको थियो। ब्यारेकमा करीब १२५ देखी १५० जना सम्म सेनाको जवानहरु रहने भनिएको छ।


Wednesday, August 3, 2011

भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझी सवार गाडीले मोटरसाइकललाई ठक्कर


भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी सवार बा १ झ ४२२५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते भएका छन्। नारायणहिटी पश्चिमगेट नजिकै बा २२ प ९२२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कृष्णबहादुर तामाङ र सवार मिलन आचार्य घाइते भएका हुन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। मन्त्री रायमाझी चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएपछि ट्राफिकले प्रहरीले गाडी र चालक इन्द्रमणि पौडेललाई नियन्त्रणमा लिएको थियो। केही समय नियन्त्रणमा राखेर बुधबार हाजिर हुनेगरी पौडेललाई छाडिएको छ।





पर्वतमा हँसिया प्रहार गरेर दुई महिलाको हत्या

पर्वतमा एक व्यक्तिले हँसिया प्रहार गरेर दुई महिलाको हत्या गरेका छन् भने दुई महिला घाइते भएका छन्। लिमिठान-९का भक्त भण्डारीले श्रीमती मीना भण्डारी र काकी हरिकला भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट भक्तकी आमा धनशरी र भाइबुहारी पवित्रा घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।मंगलबार साँझ हत्या गरेर फरार भएका भण्डारीलाई भाग्दै गरेको अवस्थामा कुर्घा-६ बाट पक्राउ गरेको प्रहरी सहायक निरीक्षक ओम घिमिरेले जानकारी दिए।


दुई दिनदेखि मदिरा सेवन गरेका भण्डारीले घरभित्रबाटै हँसिया निकालेर एक्कासी हानेको स्थानीय सोमबहादुर क्षेत्रीले बताए। भण्डारीका दुई छोरा र एक छोरी छन्।

तास खेल्दै गरेको अबस्थामा १२ जुवाडेलाई खालवाटै रङ्गेहात पक्राउ

प्रहरीले कावासोतीमा तास खेल्दै गरेको अबस्थामा १२ जुवाडेलाई खालवाटै रङ्गेहात पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी मुकुन्द मरासिनीका अनुसार शिवमन्दिर गाविस-२ स्थित लाल बहादुर पुन मगरको घरमा जुवा खेल्दै गरेका स्थानिय १२ जनालाई मंगलवार सांझ पक्राउ गरिएको हो । जुवाडेको खालवाट १५ हजार ३ सय ९७ रुपैया नगद बरामद भएको छ । पक्राउ परेका मध्ये ७० वर्ष माथिका बिरामी अबस्थाका तिन जनालाई कागज गराएर फेरी नखेल्ने सर्तमा बुधवार दिउसो छोडेको छ । अन्य ९ जना बिरुद्ध मुद्धा दायर गरेको छ ।


प्रहरीले कावासोती र आसापासको क्ष्ाेत्रमा एक सातादेखिे जुवा तास र हरेक राति १० बजेपछि जथाभावि मादक पदार्थ बिक्रि बितरणमा रोक लगाउदै आएको दावी गरेको छ ।

अपहरणमा परेका पर्वतका दुई बालिकाको अवस्था अझै अज्ञात

अपहरणमा परेका पर्वतका दुई बालिकाको अवस्था अझै अज्ञात पत्ता लाग्न सकेको छैन। आइतबार राति अपहरित पर्वत पिपलटारी- ९ का नमूना र नविना तिवारीबारे मंगलबार साँझसम्म केही जानकारी फेला नपरेको पर्वत प्रहरीले जनाएको छ। बालिकाबारे अहिलेसम्म केही थाहा लागेन,' डिएसपी राजेन्द्रबहादुर गुरुङले भने, 'अझै गम्भीर अनुसन्धान गर्नेछौं।' प्रहरी निरीक्षक जयबहादुर सेठीको संयोजकत्वमा छानबिन समित बनाई प्रहरीले अनुसन्धान थालेको छ। एक लाख रुपैयाँ मागेर बालिका अपहरण गरेको बाबु कृष्णप्रसादले बताए पनि त्यसपछि फिरौती माग्न कसैले सम्पर्क गरेको छैन। 'यसले घटना रहस्यमय बनेको छ,' डिएसपी गुरुङले भने।सम्भावित ठाउँ र नाकामा प्रहरी परिचालित भएको छ। बालिकाका बाबुलाई पनि प्रहरीले सोधपुछ गरेको छ।

पर्वतका मानवअधिकारवादी संघसंस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै सकुशल रिहाईको माग गरेका छन्। प्याब्सन र एनप्याब्सनले घटनाको परिणाममुखी अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्।

सहपाठी अपहरण भएपछि सकुशल फर्काउन साथीले आग्रह गरेका छन्। 'मेरो साथीलाई कसले किन लगे होला,' नमुनाकी सहपाठी अस्मिता क्षेत्रीले भनिन्, 'नमुनाले कसैको केही बिगारेको छैन, जहाँ भए पनि ल्याइदेऊ।'

Tuesday, August 2, 2011

हर हर गंगे..........हर हर गंगे.......... ...........साउन महिनामा रिडीमा स्नान गर्ने कि .?????

हर हर गंगे..........हर हर गंगे.......... ...........साउन महिनामा रिडीमा स्नान गर्ने कि .?????


प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सिद्ध बाबा मन्दिर



प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सिद्ध बाबा मन्दिर ,    जय सिद्ध बाबा ...................

पाल्पा हुदै अर्घाखाँची जाने सडकको एक दृश्य

पाल्पा हुदै अर्घाखाँची जाने सडकको एक दृश्य   
 
                                                

Monday, August 1, 2011

रुपन्देहीको सालझण्डीस्थित फायरलाइनमा सवारी दुर्घटना

रुपन्देहीको सालझण्डीस्थित फायरलाइनमा भएको सवारी दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।


कपिलवस्तुको कृष्णनगरबाट काठमाडौं जाँदै गरेको लु १ ख ४०५२ नम्मरको बस बिहान ८ बजे पल्टीदा ५ गम्भीरसहित २० यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये धेरैजसो कपिलवस्तुको वाणगंगाबाट जल लिएर पर्रोहा बोलबम धाममा आउँदै गरेका भक्तजन रहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते सबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलका एक कांग्रेस कार्यकर्ता शसस्त्र समुहको जिल्ला ईञ्चार्ज

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम संघ रुपन्देहीका सचिव बरकत अलि भूमिगत सशस्त्र संगठन खोलेर चन्दा असुलीमा सक्रिय रहेको प्रहरीले जनाएको छ। तराई मधेश जनमुक्ति मोर्चा गोइत समूहको जिल्ला कमाण्डर बताएर अलिले रुपन्देहीका उद्योगी व्यवसायीबाट लाखौं रुपैंया चन्दा असुली गरेको प्रमाण प्रहरीले फेला पारेको छ। मोर्चाको जिल्ला कमाण्डर यमराज सिंहका नामले अलि चिनिएका थिए। उनी खुला रुपमा कांग्रेसको जातीय संगठनमा क्रियाशिल छन्। अलि रुपन्देही इञ्चार्ज रहेको तराई मधेश जनमुक्ति मोर्चा गोइत अन्यत्र अस्तित्वमा नरहेको प्रहरी श्रोतको भनाई छ।

तीन साताअघि अनुसन्धानको सिलसिलामा पक्राउ परेका अलिलाई छुटाउन कांग्रेस केन्द्रीय सदस्य एंव पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व राज्यमन्त्री भरत शाहले रुपन्देहीका प्रहरी अधिकृतलाई टेलिफोनबाट र भेटेर नै छोड्न दवाव दिएका थिए। नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर नै अलीलाई पक्राउ गरेको प्रति विरोध जनाएको थियो। उसले अलीलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो।

अलिसँगै प्रहरीले सो समूहको सहायक जिल्ला ईञ्चाज धकधई गाविस-२ लक्ष्मीनगरका २८ वर्षीय विजय सिंह भनिने विष्णु चौधरी, सैन्य कमाण्डर रवि सिंह भनिने २९ वर्षीय रविन्द्र चौधरी, क्षेत्र नम्वर २ का इञ्चार्ज प्रदीप प्रजापति भनिने प्रभु नारायण कोहार र सदस्य फरेना गाविस-३ बिजगौलीका २४ वर्षीय श्यामदेव गुप्तालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ परेका विष्णुको साथबाट एक थान कटुवा पेस्तोल र ६ राउण्ड गोली, प्रभुनारायणको घरबाट तराई मधेश जनमुक्ति मोर्चा गोइत लेखेको एक सय ७१ थान रसिद लगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ। उनीहरुले सर्बसाधारणबाट उठाएको चन्दाबारेमा अनुसन्धान र बयान भइरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्रनाथ रेग्मीले नागरिकलाई बताए। उनीहरुले चन्दा नदिए मार्ने धम्की दिएको पत्र यहाका उद्योगी व्यवसायीलाई पठाएका पत्रहरु समेत प्रहरीले संकलन गरेको छ।

मोर्चाका जिल्ला ईञ्चार्ज अलि बैशाखमा झण्डै नौ महिना लामो जेल जीवन बिताएर छुटेका थिए। अलीले फेरि पुरानै क्रियाकलापमा सक्रिय भएको सूचनाका आधारमा अनुसन्धानका लागि प्रहरीले असार २० गते पक्राउ गरेको थियो। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले अलि निर्दोष रहेको र प्रहरीले अनाहकमा फसाउन खोजेको दावी गरे।

हतियार कारोवारको अभियोगमा गत बर्षको साउन ५ गते पक्राउ परेका अली गत बैशाख २ गते ७५ हजार जरिवानामा छुटेका थिए। गत बर्ष भारतीय नागरिक ओमप्रकाश पासवान र राहुलप्रताप सिंहबाट अलीले ९ एमएनको इटालियन पेस्तोल भारतीय २१ ह्जार रुपैंयामा खरिद गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। भारतबाट हतियार खरिद गरेर यहा ल्याउने र बेच्ने धन्दामा लागेका अली पछिल्लो पल्ट सशस्त्र समूहको नाममा चन्दा असुली र धम्कीमा लागेको पाइएको प्रहरीको भनाई छ।

हतियारको कारोवार अघि उनी गाडी चोरी तस्करीमा संलग्न रहेका थिए। गाडी मोटरसाइकलको नक्कली ब्यूबुकसहित पक्राउ अलि दुई बर्ष अघि रुपन्देही जिल्ला अदातलमा परेको मुद्धामा अदालतले सामान्य धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो।

रिडीमा देवदत्त ऋशीको मुर्ती बनेको बर्षौ पछि अब बल्ल देवदत्त पार्क बन्ने

रिडीमा  देवदत्त ऋशीको मुर्ती बनेको बर्षौ पछि अब बल्ल   देवदत्त पार्क बन्ने भएको छ्। रुरु रेशुङा संरक्षण तथा पर्यतन बिकास समितीमा भएको राजनैतिक खिचातानीका कारण अलपत्र बनेको  देवदत्त ऋशीको मुर्ती र   देवदत्त पार्कको निर्माण कार्य सुरु भएको छ्। करिब दशलाख रुपैयाको लागतमा देव्दत्त ऋशीको मुर्ती नजिक पुग्नको लागि श्रेणी,बारहरु तथा मर्मतसंभार कार्य हुँदैछ् भने,आउदो बर्ष करीब २१लाख रुपैयाको लागतमा देव्दत्त पार्कका अन्य हिस्साको निर्माण कार्य गरिने भएको छ्।