अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, November 24, 2011

अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषको ज्यान गयो


अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा गएराति एक पुरुषको ज्यान गएको छ । यसरी ज्यान जानेमा सन्धिखर्क ६ तारामार्गका ५२ वर्षीय विष्णुवहादुर वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखान्चीले जनाएको छ । राति मदिरा सेवनवाट लठ्ठीएर सडकमा लडिरहेको अवस्थामा उनलाई गस्ती प्रहरीले फेला पारेपछि उपचारको लागि जिल्ला अस्पतालमा लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको थियो । मृतक वोहोराले जिल्ला अस्पताल सन्धिखर्कमा कार्यालय सहयोगिको पदमा रही काम गर्दै अएका थिए । मृतकको शव अहिले पोष्टमाटमकालागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको बताइएको छ ।


लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा

लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा पुगेको छ । यही वर्षको अन्त्यसम्ममा योजना लागू गर्ने तयारी भएको हो । युनेस्कोको 'वल्र्ड हेरिटेज सेन्टर' ले लुम्बिनीको दीर्घकालीन विकासका लागि योजना ल्याउनुबाहेकको विकल्प नरहेको बताएपछि नेपाली पक्ष तातेको छ ।


करिब सात महिनाअघि यो योजनाका लागि पुरातत्त्व विभाग, युनेस्को कन्सल्ट्यान्ट, संस्कृति मन्त्रालय र लुम्बिनी कोष सम्मिलित समितिले छलफल गरेर योजनालाई अन्तिम रूप दिंदैछ । 'नोभेम्बरमा हुने दुईवटा बैठकले यसको टुंगो लगाउनेछ,' पुरातत्त्व विभागका अधिकृत सुरेश श्रेष्ठले सोमबार कान्तिपुरसँग भने । उनी कमिटीमा फोकल प्वाइन्टको रूपमा सहभागी छन् ।

छरिएर आउने लगानीलाई एकद्वारबाट विकासमा लगाउन र जथाभावी निर्माण रोक्न यस्तो अवधारणा ल्याइएको उनले बताए । जापानी वास्तुविद् क्यान्जो टाङ्गेले ३० वर्षअघि लुम्बिनीको एक माइल टाढाबाट सुरु हुने नहरदेखि मायादेवी मन्दिरसम्मको भागलाई आधुनिकीकरण र कोलाहलबाट टाढा राखेर शान्त स्थलका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । विभागका महानिर्देशक विष्णुराज कार्कीले यही मान्यताको आधारमा लुम्बिनीमा विकास हुनुपर्ने युनेस्कोले भन्दै आएको बताए । एकद्वार प्रणालीअन्तर्गत त्यहाँ हुने विकास निर्माण कार्यको समन्वय गर्न र बिनाविवाद अन्तर्राष्ट्रिय सहभागिता जुटाउन 'आईएमपी' आवश्यक भएको उनले बताए । 'योजना तयार भएर विभागमा प्रस्तुत हुनेछ, संस्कृति मन्त्रालय हँुदै मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ,' महानिर्देशक कार्कीले भने, 'पारित गर्नुको विकल्प छैन ।'

'लुम्बिनीमा हुने लगानीको एकीकृत हिसाबकिताब राख्न पनि सरल हुन्छ,' उनले भने,' दातृ मुलुकले सहयोग ल्याउनुअघि तयार पार्नेगरी अधिकारीहरू जुटिसकेका छन् ।' विश्वसम्पदा सूचीमा रहेकाले त्यहाँको निर्माण मापदण्ड हेर्ने, तय गर्ने र अनुगमन गर्ने प्रमुख सरोकारवाला विभाग हो । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुरूप पनि उक्त क्षेत्रको संरक्षणको मुख्य जिम्मेवारी पुरातत्त्वको हो । विभागले २०५२ सालमा उक्त क्षेत्रका १२ वटा साइटहरूको संरक्षण गरेको थियो ।

दाताले लुम्बिनीमा पाँचतारे होटल खोल्ने, अन्तर्राष्ट्रिय उद्यान बनाउने, विद्युतीय डुंगा सञ्चालन गर्ने, पुस्तकालय र अनुसन्धान केन्द्र खोल्ने ११ अर्बभन्दा बढी रुपैयाँको योजना अघि सारिसकेका छन् । जापानी ट्रस्ट फन्ड र युनेस्कोद्वारा सञ्चालित भिन्दाभिन्दै कार्यक्रमले उक्त क्षेत्रमा उत्खनन जारी राखेका छन् ।

चीन र श्रीलंकालगायत मुलुक पनि लुम्बिनी विकासमा सहभागी हुन इच्छुक देखिएको संस्कृति मन्त्रालयका अधिकारीले जनाएका छन् ।

विभिन्न टिमद्वारा लुम्बिनीको देवदहमा गरिएको उत्खननमा यस वर्ष र गत वर्ष बुद्धकालका हुक्का, इँटा, बुद्धका मूर्ति, मन्दिर, कोठाहरू, दियो र पोखरी फेला परिसकेको विभागले बताएको छ ।

देवदह विकास समिति र अन्य सरोकारवालाले संरक्षण, उत्खनन र विकासलाई गति दिनका लागि

आईएमपी कार्यक्रम लागू गर्न सरकारसँग लगातार माग गरिरहेको मन्त्रालयले जनाएको छ । उत्खनन गरिएका वस्तुको संरक्षण गर्न छुट्टै प्याकेज बनाउने तयारीसमेत भइरहेको महानिर्देशक कार्कीले बताए ।

'स्थानीयवासीमा चेतनाको अभाव र बढ्दो सहरीकरणले उक्त क्षेत्रमा पर्न सक्ने क्षतिलाई बचाउने गरी योजना अघि बढिसकेको छ,' उनले भने । उत्खनन र तिलौराकोट दरबारलाई बचाउन वरिपरिबाट पर्खालले घेर्ने कामसँगै स्थानीयमा जागृति कार्यक्रम लान आवश्यक भएको उनले बताए । 'घेरा हालेर मात्र संरक्षण सम्भव छैन,' महानिर्देशक कार्कीले भने, 'यसको महत्त्व बुझाउनु जरुरी छ ।'

लुम्बिनीमा सहयोग र योजनाभन्दा कार्यान्वयनको प्रतिबद्धता आवश्यक रहेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'लुम्बिनी बनेमा त्यहाँ ओइरिने पर्यटकले मुलुकको अर्थतन्त्र धान्न सक्छ,' ती अधिकारीले भने, 'खेतीपाती र उद्योगधन्धाभन्दा यो बहुमूल्य सम्पदा उत्पादनमूलक छ ।'

संस्कृति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मीले उक्त क्षेत्रको विकासका लागि सबै सरकारी संयन्त्र गृहकार्यमा जुटेको बताए । यसपछि यो कार्यले एक प्याकेजका रूपमा गति लिने उनले बताए ।