पाल्पामा चार शिक्षकलाई कुटेको आरोपमा जिल्ला प्रहरीले तीन विद्यार्थीलाई पक्राउ गरेको छ । पाल्पाको पश्चिम ख्याहास्थित शारदा उच्च माविका शिक्षकलाई कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ ।
प्रहरीका अनुसार विद्यालयका शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोप छ । विद्यालयका प्राचार्य तुल्सीप्रसाद न्यौपानेले विद्यालयको अनुशासन पालना नगरेको भन्दै शिक्षकले पहिलो दिन कुटेको झोकमा विद्यार्थीले शिक्षकलाई कुटेका हुन् ।
स्थानीयबासीका अनुसार हो । मंगलबार लाइन लाग्न अटेर गरेको भनेर शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको प्राचार्य न्यौपानले बताए । अर्को दिन विद्यार्थीले शिक्षकलाई विद्यालयमै कुटेका हुन् । दण्डरहित शिक्षणविधि अपनाउन सरकारले आग्रह गरेका बेला शिक्षकले विद्यार्थीलाई त्यसरी कुट्न नहुने स्थानीय एक शिक्षकले बताए ।
शिक्षक कुट्नेमा संलग्नलाई कारबाही गर्न जिल्लास्थित विभिन्न शिक्षकका संघसंस्थाले माग गरेका छन् । घटनाको विरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक परिषद्, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक युनियन लगायतका शिक्षक सम्वद्ध संघसंस्थाले विज्ञप्ति निकालेर दोषी व्यक्तिलाई कानुनी कारबाहीको माग गरेका छन् । शिक्षक सम्वद्ध संघसंस्थाले भने शिक्षकद्धय कृष्णप्रसाद पाण्डे र गोपीप्रसाद भण्डारीमाथि मात्र कुटपिट भएको विज्ञप्तिमा जनाएका छन् ।