अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 8, 2011

कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाद्वारा आत्महत्या

बानी सुधार्ने नाममा स्थानीय जनजागरण महिला समूहका पदाधिकारीसहितका महिलाले हातखुट्टा बाँधी कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाले आत्महत्या गरेकी छन् । 

यातनापछि आत्मग्लानिका कारण बुटवल-१३ योगीकुटीकी ४२ वर्षे कविता थापाले राति आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको स्थानीयवासीले बताए ।रक्सी खाएर होहल्ला गरी हिँडेको र परपुरुषसँग लसपस गरेको लगायत आरोपमा शनिबार दिउँसो योगीकुटीको शिवालयमा उनलाई कालोमोसो दलेर हातखुट्टा बाँधी यातना दिएका थिए ।

अमानवीय व्यवहारका कारण कविता आत्महत्या गर्न बाध्य भएको भन्दै महिला समूह त्यसमा जिम्मेवार रहेको परिवार र स्थानीयले बताएका छन् । उनीहरूले समूहका पदाधिकारीमाथि कडा कारबाहीको माग राख्दै प्रहरीमा उजुरी गरेका छन् ।'झन्डै ५०-६० महिलाले शिवालय अगाडि लगेर हातखुट्टा बाँधेर एक घन्टाभन्दा बढी समय रक्सी छोड्ने कि नाई भन्दै थर्काउने, कुटपिट गर्ने र कालो दल्ने गरेका थिए,' छिमेकी मन्जु रेस्टुरेन्टकी रूपा भण्डारी छेत्रीले भनिन्, 'दुव्र्यवहार र यातनाकै कारण उनले आत्महत्याको बाटो अंगालेकी हुन् ।'

प्रत्यक्षदर्शीहरूका अनुसार श्रीमान्, बुहारी र नातिका साथ बस्ने भए पनि महिला समूहका पदाधिकारीसहितले आइतबार कवितालाई घरमा कोही नभएका बेलामा नियन्त्रणमा लिएका थिए । उनीहरूले दुव्र्यवहार गर्दा वरपरका धेरैजसो रमिते भएका थिए । केहीले 'यसो नगर' भन्दा समूहका महिलाहरूले 'उनको जिम्मा लिन्छौ र' भन्दै हकारेका थिए ।

धेरैबेरपछि योगीकुटीमा रहेको नगर प्रहरी आएर गाली गरेपछि मात्र महिलाहरूले कवितालाई छोडेका थिए । 'मुखभरि कालोमोसो भएकी कविताले मैले पानी दिएपछि मुख धोएकी थिइन्,' प्रत्यक्षदर्शी रूपाले थपिन् । यातनापछि घर गएकी कविता खाना पनि नखाई कोठामा पसेको र राति झुन्डिएको अवस्थामा भेटिएको बुहारी तारा थापाले बताइन् । आत्महत्या गरेकी कविताका मुखभरि नीलडाम थिए । भाइ भीमसेन पोखरेलले दिदीको गल्ती भए सुधार्ने अरू उपाय हुन्थ्यो भन्दै महिला समूहका नाममा कानुन हातमा लिएर यातना दिँदा दिदीले ज्यान गुमाउनु परेकामा आक्रोश व्यक्त गरे । दिदीको शवनजिकै रोइरहेका उनले समूहका महिलाहरूले सबै कुराको सीमा नाघेको बताए । 'मैले दिदी गुमाएँ तर अब यस्तो पीडा अरूले भोग्न नपरोस् भन्नका लागि पनि उनीहरूमाथि कारबाही हुनुपर्छ,' उनले भने ।

घटनास्थल पुगेका प्रहरी कार्यालय योगीकुटीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक होम श्रेष्ठले आइतबार दिउँसो स्थानीयले खबर गरेपछि आफू पुग्दा समूहका महिलाहरूले कविताका खुट्टा बाँधेर यातना दिएको देखेको र तत्काल खोल्न लगाई उनीहरूलाई हटाएको बताए । कविताको आत्महत्यापछि आइतबार साँझसम्म शव आँगनमै राखिएको छ भने स्थानीय योगीकुटी टोल पूरै शोकमग्न छ ।
जनजागरण महिला समूहले भने कविताको बानीले गाउँ समाजमा नकरात्मक सन्देश गएकाले सधार्न सम्झाएको र नमानेपछि सामान्य कारबाही गरेको दाबी गरेको छ । 'हाम्रो उद्देश्य उनलाई मार्ने होइन, उनले खाने रक्सी र परपुरुषको लसपस हटाउनु थियो,' समूहकी सचिव लक्ष्मी छेत्रीले भनिन्, 'त्यसैले राम्ररी सम्झाउँदा मानिनन्, उल्टै मुखमुखै लागेपछि अलिकति बाँधेर डर देखाएका मात्र हौं । मर्नुको कारण हामी होइनौं ।'
समूहकी अध्यक्ष सुषमाकुमारी अर्यालले २०५२ मा स्थापित समूहले यसअघि पनि घरेलु हिंसा, बहुविवाह, दमन, रक्सी छुटाउनेलगायत अभियानमा सम्झाउने/बुझाउने लगायत काम गर्दै आएकामा यस्तो दुःखदायी घटना भने नभएको बताइन् ।प्रहरी सहायक निरीक्षक श्रेष्ठले महिला समूहले सुधारका नाममा यातना दिनु र कानुन हातमा लिने काम गर्नु गलत रहेको बताए ।

यातनाकै कारण आत्मग्लानिले कविताले आत्महत्या गरेको भए पनि मृत्युमा महिलाहरूको प्रत्यक्ष संलग्नता नरहेकाले भरसक घटनालाई स्थानीयस्तरमै मिलाउन प्रयास भएको उनले बताए । 'पीडित पक्ष, महिला समूह, स्थानीय बुद्धिजीवी र प्रहरी बसेर छलफल गरिरहेका छौं,' घटनास्थलमै छलफलमा व्यस्त उनले आइतबार राति भने, 'भरसक गल्ती नदोहोरिने गरेर उनीहरूलाई सचेत पारेर घटना मिलाउँछौं ।'

No comments:

Post a Comment