विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ ।
सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो ।
२०६६ फागुन १० गते बुटवल–१५ बदेलपोखरीमा स्थापना गरिएको उद्योगले चिकन ससेज, बफ ससेज र अस्ट्रिच सिफुडलगायत विभिन्न मासु परिकार उत्पादन गर्छ । हाल लुम्बिनी अञ्चलका ६ जिल्लालाई लक्षित गरी दैनिक ४ क्विन्टलका दरले उत्पादन भइरहेको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । निकट भविष्यमै उत्पादन बढाएर नारायणी, गण्डकी र राप्ती अञ्चलमा बजार विस्तार गर्ने लक्ष्य उद्योगको छ ।
करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योग अवलोकनका लागि जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । उद्योगले हाल स्थानीय बजारबाट नगन्य मात्रामा खसी पाइरहेको छ । सबैभन्दा बढी भारत र चीनको खासाबाट भेडा, च्यांग्रा आयात गर्ने गरिएको पौडेलले बताए ।
“७० प्रतिशत खसी नेपालबाहिरबाट र ३० प्रतिशत स्थानीयस्तरमा उपलब्ध हुन्छ,” उनले भने, “यो अवस्था कम गर्न थप ६० लाख रुपैयाँ लगानी गरेर यही वर्ष पाँच सय बाख्रा आफैं पाल्दैछौं ।”
आगामी पाँच वर्षभित्र २ हजार बाख्रा पाल्ने लक्ष्यसहित काम भइरहेको पौडेलले बताए । “कृषिप्रधान मुलुकमा बर्सेनि अर्बौं रुपैयाँका खसीबोका विदेशबाट आयात हुन्छ, यहाँका जनशक्ति काम नपाएर खाडी मुलुक भौतारिन्छन्,” उनले भने, “त्यसैले बाख्रापालनमा राष्ट्रकै ध्यान खिच्न हामीले उद्योगसँगै देशकै ठूलो बाख्रापालन फार्म सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।”
No comments:
Post a Comment