अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, August 24, 2011

लुम्बिनीमा नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने

बुद्धको जन्मथलो लुम्बिनीमा पहिलोपल्ट नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने भएको छ । लुम्बिनी विकास कोषले वज्रयानी परम्परामा आधारित विहार बनाउन यसैसाता नेपाल परम्परागत बौद्ध धर्म संघलाई जिम्मेवारी दिएको हो ।


लुम्बिनीमा दर्जनभन्दा बढी विदेशी विहार भए पनि अहिलेसम्म नेपाली विहार छैन । लुम्बिनीमा विभिन्न देशका विहार स्थापना गर्न 'मोनास्टिक जोन' छुट्टयाइएको छ । त्यसमा चीन, कोरिया, जापान, थाइल्यान्ड, बर्मा, भियतनाम, जर्मनी र अरू बौद्ध धर्म पछ्याउने देशका विहार छन् ।

बुद्ध जन्मथलो घुम्न आउनेहरूका लागि यी विहार सर्वाधिक आकर्षण केन्द्र रहने गरेका छन् । 'लुम्बिनीको बौद्ध विहार क्षेत्रमा पहिलोपल्ट नेपाली मौलिक वास्तुकलामा आधारित विहार बन्न लागेको हो,' बौद्ध विद्वान् नरेशमान वज्राचार्यले भने । यो विहार 'मोनास्टिक जोन' को 'डब्लूसी-टु प्लट' मा छ ।

विहार ८० स्क्वायर मिटरमा बन्ने छ । नेपाली मौलिक परम्परागत वास्तुकलामा आधारित विहार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर पाँच सयको हाराहारीमा छन् ।

यी विहारको निर्माण लिच्छवि र मल्लकालदेखि अहिलेसम्म अटुट रूपमा चलिआएको छ । विहारको निर्माण बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार हुने गर्छ ।

'विहारको प्रारम्भिक स्वरूप मात्र तयार भएको छ, अन्तिम स्वरूपबारे अझै बौद्धिक छलफल गर्नेछौं,' वज्राचार्यले भने । उनले विहारको निर्माण चाँडै सुरु हुने र कम समयमा निर्माण सम्पन्न गर्न प्रयास हुने बताए । विहार निर्माणका लागि चाहिने अर्थ संकलनबारे पनि नीति-नियम बन्न बाँकी छ ।



No comments:

Post a Comment