अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Tuesday, August 9, 2011

आत्महत्या गरेकी कविता थापाको शव तेस्रो दिन पनि उठ्न सकेन

स्थानीय जनजागरण महिला समूहको यातनापछि आत्महत्या गरेकी योगीकुटीकी कविता थापाको शव तेस्रो दिन पनि उठ्न सकेन ।


रक्सी खाने बानी सुधार्ने नाममा सार्वजनिक स्थानमा लगेर महिला समूहले यातना दिएकाले आत्महत्या गरेकी कविताको शव आफन्तहरूले दोषीमाथि कारबाही माग गर्दै नउठाएका हुन् । उनको शव सोमबार रातिसम्म घरको बरन्डामै छ ।

महिला समूहले शनिबार हातखुट्टा बाँधेर कालोमोसो दली उनलाई यातना दिएका थिए । पछि प्रहरीले आएर बाँधिएको हातखट्टाको डोरी फुकाउन लगाएको थियो । यातनासहित सार्वजनिक बेइज्जती गरेपछि उनले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

'दोषीउपर कारबाही नहुँदासम्म शव उठाउँदैनौं,' बुहारी तारा थापाले भनिन्, 'मृत्युको मुखमा पुर्‍याउनेमाथि कारबाही हुनैपर्छ, नत्र हामी शव उठाउने छैनौं ।' घटनापछि योगीकुटी शोकमग्न बनेको छ । शव घरमा राखिएका कारण भावविह्वल भएर हेर्न आउनेहरूको भीड र आत्महत्या गर्न बाध्य बनाएको भन्दै आक्रोसित समूहको चहलपहलका कारण सोमबार दिनभर योगीकुटी बजारमा भीडभाड भएको थियो । शोकका कारण सोमबार योगीकुटीमा लाग्ने साप्ताहिक हाट पनि लागेन ।

अघिल्लो दिन महिला समूहलाई दोषी देखाएर मौखिक उजुरी गरेका मृतक कविताका श्रीमान् गोपाल थापाले सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक अपराधसम्बन्धी किटानी जाहेरी दर्ता पनि गराएका छन् । उक्त जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक कृष्णकुमार महतले बताए । किटानीकै आधारमा जनजागरण आमा समूह आवद्ध महिलालाई इलाका प्रहरी कार्यालय बुटवलमा सोधपुछ सुरु गरिएको छ ।

सोमबार चार जनालाई सोधपुछ गरिएको छ । 'आत्महत्या आफंैले गरेको भए पनि आत्महत्या गर्न बाध्य पार्नु गाली बेइज्जती हुन सक्छ । कानुनलाई समेत हातमा लिएर महिला समूहले जुन क्रियाकलाप गरेको भनिएको छ, त्यो वास्तवमै उनीहरूले गलत गरेका हुन्,' नायव उपरीक्षक महतले भने, 'उनीहरू कानुनको दायरामा आउँछन् ।'

स्थानीय महिला समूहका अगुवाले भने मादक पदार्थ सेवन गर्ने गरेको र परपुरुषसँग अनैतिक सम्बन्ध रहेको 'हल्ला चलेका' ले कवितालाई सही बाटोमा ल्याउन त्यसो गरिएको तर्क गरेका छन् । 'म त्यहाँ थिइन तर मैले साथीहरूलाई कवितालाई सुधार्नका लागि सम्झाउनु भनेकी हुँ,' महिला समूहकी अध्यक्ष शुष्माकुमारी अर्यालले भनिन्, 'उनलाई सामाजिक सचेतना गराउँदा घटनाले दुःखद मोड लिन पुग्यो ।'

मृतक कविताका भाइ भीमसेन पोखरेलका अनुसार घटना 'मिलाउने' भन्दै पीडित पक्ष, स्थानीय र केही नागरिक अगुवा सोमबार इलाका प्रहरी कार्यालय बुटवल तथा स्थानीय शिवालयमा छलफलमा बसेका थिए । तर पीडित पक्षले दोषीमाथि कारबाही नभएमा घटना मिलाउनुको कुनै औचित्य नहुने प्रस्ट पारेको थियो । 'कानुन हातमा लिएर सार्वजनिक स्थलमा यातना दिई दुव्र्यवहार गरेकै कारण दिदी आत्महत्या गर्न बाध्य भएकाले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि नबढ्दासम्म हामी शव उठाउन्नौं,' पोखरेलले भने ।

यसैबीच घटनाको सत्यतथ्य अध्ययनका लागि व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले विधायक विनोद पहाडीको संयोजकत्वमा ४ सदस्यीय संसदीय छानबिन समिति बनाएको छ । समितिमा एमालेका पुरणसिंह दयाल, कांग्रेसका विमला नेपाली, सावित्री सिंह सदस्य छन् । समितिले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा घटनाको अविलम्ब निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाहीको निर्देशन पनि गरेको छ । यता छानबिन समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले गृहसचिव लीलामणि पौडेललाई भेटेर घटनाबारे जानकारी लिएको छ । समितिले घटनास्थलमै आएर घटनाको अध्ययन गर्ने र एक साताभित्र प्रतिवेदन बुझाउने संयोजक पहाडीले बताए ।

No comments:

Post a Comment