अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 22, 2011

कविता थापा आत्महत्याका दोषीलाई कारवाही गर : संसदीय समिति

बुटवल नगरपालिका–१३ बस्ने कविता थापालाई स्थानीय आमा समूहले यातना दिएको र त्यसपछि आत्महत्या गरेको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति समक्ष बुझाएको छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिको सोमबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा उपसमितिले प्रतिवेदन बुझाउँदै घटनामा स्थानीय जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको छ ।

बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा ‘आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने’ कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मृतक कविता थापामाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको समयमा त्यहाँ कार्यरत प्रहरीको भूमिकासमेत प्रभावकारी नदेखिएकाले वडा प्रहरी कार्यालय, योगीकुटीका इन्चार्जसहितको टोली परिवर्तन गर्न र छुट्टै अनुसन्धान टोली खटाई उक्त घटनाको निष्पक्ष ढङ्गले छानबिन र अनुसन्धान गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत बैठकले दिएको छ ।

समितिका सभापति सन्ध्यादेवीको अध्यक्षतामा बसेको सो बैठकले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसात्मक घटनाको जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई भदौ ७ गते आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने समितिका सदस्यहरु विनोद पहाडी, कविता सरदार बाँतर, सीता पौडेललगायतले विभिन्न स्थानमा महिलामाथि हत्या, हिंसा र दुव्र्यवहारका घटना भइरहेता पनि प्रहरी प्रशासन मौन रहेकामा आपत्ति जनाए ।

बैठकले महिला जिल्ला समन्वय समिति गठन एवं कार्यविधि र संरचनाको संशोधनका लागि अध्ययन गर्न गठित उपसमितिको म्याद आगामी भदौ १० गतेसम्म थप गर्ने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment