अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, July 31, 2011

लुम्बिनी परिकल्पना बुनिएको 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' मा को-को छन् त

लुम्बिनीलाई 'मुस्लिमको मक्का' र 'क्रिस्चियनको भेटिकनसिटी'जस्तै बनाउने परिकल्पना बुनिएको तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' का ९ सहअध्यक्षमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित आठ जना गैरचिनियाँ छन् ।


कार्यकारी उपाध्यक्ष एक जना मात्र चिनियाँ व्यक्ति हुन् । सहअध्यक्षहरू प्रायःजसो धनाढ्य छन् भने पाँच जना व्यवसायी हुन् । व्यवसायीमध्ये तीन जना अमेरिकी, एक बेलायती र एक मलेसियाली छन् । नेपाल र थाइल्यान्डका एक-एक राजनीतिज्ञ छन् । बाँकी दुईमध्ये कूटनीतिज्ञ र पूर्वयूवराज हुन् । को-को छन् त संस्थामा ?

१. पुष्पकमल दाहाल

फाउन्डेसनले आफ्नो वेबसाइटमा आफ्नो संस्थाका सहअध्यक्ष पुष्पकमल दाहाललाई नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टी एकीकृत माओवादीका अध्यक्ष भनेर चिनाएको छ । दाहाललाई विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा समेत उल्लेख गरिएको छ । यसअघिका नेपाली प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।

२. पारस शाह

फाउन्डेसनका अर्का सहअध्यक्ष पारस शाहलाई भने नेपालका युवराजकै रूपमा चिनाइएको छ ।

ज्ञानेन्द्र शाहलाई पूर्वराजा

भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्रप्रमुख हुने लेखिएको छ ।

३. जिआओ उनान

स्नातकोत्तरसम्म अध्ययन गरेका ४७ वषर्ीय जिआओ उनान हालसम्म पदमा देखिएका एकमात्र चिनियाँ हुन् । बेइजिङमा जन्मिएका उनान चीनको उत्तरपूर्वी हेलोजियान प्रान्तको राजधानी हारविनका बासिन्दा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य उनी चीनको राष्ट्रिय विकास तथा सुधार आयोगमा पश्चिम क्षेत्रीय उपनिर्देशक छन् । विश्व बौद्ध शान्ति प्रतिष्ठान र चीनको सामाजिक, आर्थिक तथा सांस्कृतिक आदानप्रदान समितिका समेत उनी उपाध्यक्ष हुन् । राष्ट्रसंघअन्तर्गत औद्योगिक विकास संगठन र विभिन्न चिनियाँ बैंकमा काम गरेको उनको अनुभव छ । अक्सफोर्ड आर्थिक अनुसन्धानमा वरिष्ठ सल्लाहकार, युनिभर्सिटी अफ हाइफा इजरायलका कार्यकारी निर्देशकलगायत उनी संलग्न संघसंस्थाको फेहरिस्त लामै छ ।

४. लियोन चार्नी

७३ वषर्ीय चार्नी अमेरिकी रियल स्टेटका टाइकुन हुन् । १ अर्ब ३० करोड डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले अमेरिकी धनाढ्यको सूचीमा ३०८ औं नम्बरमा राखेको छ । पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरका सल्लाहकार उनलाई पर्दा पछाडिका चतुर खेलाडी मानिन्छ । सन् १९७८ मा इजिप्ट र इजरायलबीच अमेरिकामा भएको पहिलो क्याम्प डेभिड शान्ति सम्झौता गराउन चार्नीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । यसबाहेक टेलिभिजन कार्यक्रम प्रस्तोता, राजनीतिक विश्लेषक, लेखक, सामाजिक कार्यकर्ता र यहुदी नेताका रूपमा समेत उनी उत्तिकै चिनिन्छन् ।

५.ज्याक रोजेन

ज्याक रोजेन अमेरिकी जुइस कंाग्रेसका अध्यक्ष हुन् । ५८ वषर्ीय उनलाई एक दैनिक पत्रिकाले अमेरिकाको उत्कृष्ट पाँच प्रभावशाली यहुदीमा सूचीकृत गरेको छ । दूरसञ्चार, स्वास्थ्य, सौन्दर्य प्रसाधनलगायत व्यवसायमा संलग्न उनी थुप्रैै बहुराष्ट्रिय कम्पनीमा अध्यक्ष छन् । संसारकै प्रमुख राजनीतिज्ञसँग उनको निकट सम्बन्ध रहेको फाउन्डेसनको वेबसाइटमा उल्लेख छ । रोजेनले थुप्रै पटक चीन भ्रमण गरेका छन् ।

६. टियोन हिउ किङ

७५ वर्षीय किङ मलेसियामा चिनियाँ मूलका धनाढ्य उद्यमीमा पर्छन् । एक अर्ब बीस करोड अमेरिकी डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले मलेसियाका ४० धनाढ्यको सूचीमा १० औं नम्बरमा राखेको छ । काठ, तेल र सञ्चारक्षेत्रमा उनको लगानी छ । रिन्बुनान हाइजु ग्रुपका कार्यकारी अध्यक्ष उनको व्यवसाय हङकङ, चीन, सिंगापुर, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत मुलुकमा समेत फैलिएको छ । फाउन्डेसनले चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको जनाएको छ ।

७. स्टिभन क्लार्क राकफेलर

४१ औं पूर्वअमेरिकी उपराष्ट्रपति नेल्सन राकफेलरका नाति हुन् स्टिभन । स्नातकोत्तरसम्म अध्ययन गरेका उनी अमेरिकास्थित पार्क एभेन्यु बैंकका निर्देशक हुन् । माइक्रोक्रेडिट बैंकिङका ज्ञाता उनलाई गरिबी उन्मूलन गर्न विशेष योगदान गरेबापत राष्ट्रसंघद्वारा फुल ब्राइट अवार्डले पुरस्कृत गरिएको थियो । सामाजिक संस्था ग्रामीण फाउन्डेसनका समेत उनी निर्देशक छन् ।

८. डा. राम्जी सन्बार

राम्जी सन्बार लन्डनस्थित सन्बार विकास निगम 'एसडीसी ग्रुप' का संस्थापक अध्यक्ष हुन् । ऊर्जा, निर्माण, सूचना प्रविधिलगायत क्षेत्रमा कार्यरत उक्त कम्पनी अमेरिका, युरोप तथा मध्य र सुदूरपूर्वमा समेत अग्रणी मानिन्छ । बेरुतको अमेरिकन विश्वविद्यालयबाट स्नातक उनलाई पेरिस विश्वविद्यालयले पर्यावरणसम्बन्धी मुद्दामा काम गरेबापत विद्यावरिधिको उपाधि दिएको हो ।

९. कोलिन हेसल्टिन

अस्टे्रलियाका वरिष्ठ कूटनीतिज्ञका श्रेणीमा पर्छन् हेसल्टिन । हाल नाटिलस इन्स्िटच्युटमा वरिष्ठ सहायक पदमा कार्यरत उनी सन् १९८२ देखि १९८५ र १९८८ देखि १९९२ सम्म बेइजिङस्थित अस्ट्रेलियाली दूतावासका मिसन उपप्रमुख थिए । सन् २००६ मा उनलाई सरकारले एसिया प्रशान्त आर्थिक सहयोग -एपेक) को कार्यकारी प्रमुखका रूपमा सिंगापुर नियुक्त गरेको थियो । सन् २००१ देखि २००५ मा उनी कोरियाका राजदूत

थिए । चिली र स्पेनमा समेत उनको कूटनीतिक नियुक्ति भएको थियो । तीस वर्षभन्दा अधिक समय यिनले विदेश मामला विभागअन्तर्गत एसिया प्रशान्त क्षेत्रमा रहेर काम गरेका छन् । यस क्षेत्रका निजी र सार्वजनिक संगठनका व्यापारिक तथा राजनीतिक रणनीति बनाउने मामलामा उनी विज्ञ मानिन्छन् ।

१०. कोर्न डबरान्सी

थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री डबरान्सी अक्टोबर २००२ देखि नोभेम्बर २००३ सम्म उक्त पदमा थिए । सन् १९७४ मा राजनीति सुरु गरेका उनी १९८६ मा पहिलोपटक उद्योग मन्त्रालयका उपमन्त्री बनेका हुन् । त्यसपछि विभिन्न समयमा पर्यटन,

ऊर्जा, खेलकुद, स्वास्थ्य मन्त्री हुँदै उनी उपप्रधानमन्त्रीसम्म बने । हाल थाइल्यान्ड चीन मैत्री संघमा उनी अध्यक्ष छन् । कुशल राजनीतिज्ञ र सामाजिक कार्यकर्ताको छवि बनाएका उनले दक्षिणपूर्वी एसियामा शान्ति र स्थायित्वका लागि लामो समय सक्रिय रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्छ

No comments:

Post a Comment