अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, October 30, 2011

लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन दाहाल अमेरिका जाने

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आगामी साता संयुक्त राज्य अमेरिका जानुहुने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास गर्न राष्ट्रसङ्घको भूमिका तथा हुन सक्ने अन्य सहयोगबारे महासचिव बानकी मुनसँग विचारविमर्श गर्न अध्यक्ष दाहाल नेतृत्वको उच्च प्रतिनिधिमण्डल आउँदो शनिबार न्यूयोर्क जान लागेको हो।


लुम्बिनीको समग्र विकासका निम्ति गुरुयोजना तयार गर्नेलगायत बुद्ध जन्मस्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमा प्रवद्र्धन गर्न हालै सरकारले एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालको संयोजकत्वमा एक समिति गठन गरेको थियो। हालै बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको संयोजकत्वमा गठिन समितिलाई अमेरिका पठाउने निर्णय गरेको हो ।

न्यूयोर्क जाने नेपाली टोलीमा वन तथा भूसंरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान, पूर्वमन्त्रीद्वय डा मिनेन्द्र रिजाल र डा मङ्गलसिद्धि मानन्धर र निजी क्षेत्रबाट बैङ्कर मनोजबहादुर श्रेष्ठ हुनुहुन्छ। टोलीमा संयोजक दाहालका सहयोगीका रुपमा स्वकीय सचिव प्रकाश र समिर दाहाल पनि रहनुहुने छ।

स्वकीय सचिव दाहालका अनुसार सम्भवतः नेपाली प्रतिनिधिमण्डल र महासविच बानबीच यही कात्तिक २१ गते वार्ता हुनेछ। यसअघि महासचिव बानले प्रधानमन्त्री डा बाबुराम भट्टाराईसँगको भेटमा लुम्बिनीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

संयुक्त राष्ट्रसङ्घको ६६ औं महासभामा भागलिने क्रममा प्रधानमन्त्री भट्टराईले महासचिव बानलाई गत महिना न्यूयोर्कमा भेटवार्ता गर्नुभएको थियो। महासचिव बानले राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन युनेस्कोमार्फत लुम्बिनीको विकासमा सघाउने आशय प्रकट गर्दै आउनुभएको छ ।

No comments:

Post a Comment