अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, August 8, 2011

घाँस बिक्री गरेर सामुदायिक विद्यालय

नजिकै छोराछोरीलाई पढाउनै भनेर अर्घाखाँचीका उपभोक्ताले घाँस खेती गरेर सामुदायिक विद्यालय चलाएका छन् । बाँगी-७ कुझेका गाउँलेले स्थानीय नृसिंह प्रावि घाँस बेचेर आएको पैसाले नै सञ्चालन गरेका हुन् । आठ वर्षदेखि गाउँलेले राष्ट्रिय वनलाई सामुदायिक बनाएर घाँस खेती गरेका र त्यसबाट हुने आम्दानीले विद्यालय चलाएको देउराली सामुदायिक वनका अध्यक्ष मोतीबहादुर खड्काले बताए ।


विद्यालय नजिक नहुँदा स-साना नानीहरूलाई समस्या परेपछि अभिभावकले यस्तो अभियान थालेका हुन् । सरकारले वास्ता नगरेपछि गाउँमै छोराछोरीलाई पढाउन लागेको उनीेहरू बताए । भवन निर्माणदेखि शिक्षकलाई तलब र विद्यालय खर्च घाँस बेचेर आएको पैसाले पुर्‍याएका छन् । कुझे, गोवदी पलसपाटा पोखेडाँडा लगायत ६५ परिवारका ५० भन्दा बढी

बालाबालिकाले यही विद्यालयमा पढ्छन् । शिक्षाले यस वर्षदेखि एक राहत दरबन्दी दिएको छ भने २ शिक्षकको व्यवस्था स्थानीय स्रोतबाट जुठाएको छ ।

कक्षा २ सम्म विद्यालय चलाउँदै आए पनि अन्य कक्षा भने आर्थिक अभावका कारण थप्न नसकेको खड्का बताउँछन् । 'घाँस खेती नगरेको भए विद्यालय चल्ने थिएन, शिक्षामा बारम्बार अनुरोध गर्दा चासो नदिएपछि यस्तो उपाय अपनाएका हौं,' उनले भने । उनीहरू घाँस र दाउरा बेचेर वाषिर्क ५० हजार आम्दानी गर्छन् । आफ्नो वडाभित्र पर्ने १० हजार रोपनीभन्दा बढी जग्गामा स्कुल चलाउन घाँस खेती गरेका छन् ।

घाँस बिक्री नभए आफैं काट्ने र बेचेर पैसा उठाउने गरेको व्यवस्थापन समिति अध्यक्ष भुमबहादुर महतले बताए ।

'सामुदायिक वनमा घाँस खेती नगरेको भए विद्यालय सञ्चालन गर्न सम्भव थिएन,' उनले भने, 'यसले ठूला सहयोग पुर्‍याएको छ ।'

कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाद्वारा आत्महत्या

बानी सुधार्ने नाममा स्थानीय जनजागरण महिला समूहका पदाधिकारीसहितका महिलाले हातखुट्टा बाँधी कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाले आत्महत्या गरेकी छन् । 

यातनापछि आत्मग्लानिका कारण बुटवल-१३ योगीकुटीकी ४२ वर्षे कविता थापाले राति आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको स्थानीयवासीले बताए ।रक्सी खाएर होहल्ला गरी हिँडेको र परपुरुषसँग लसपस गरेको लगायत आरोपमा शनिबार दिउँसो योगीकुटीको शिवालयमा उनलाई कालोमोसो दलेर हातखुट्टा बाँधी यातना दिएका थिए ।

अमानवीय व्यवहारका कारण कविता आत्महत्या गर्न बाध्य भएको भन्दै महिला समूह त्यसमा जिम्मेवार रहेको परिवार र स्थानीयले बताएका छन् । उनीहरूले समूहका पदाधिकारीमाथि कडा कारबाहीको माग राख्दै प्रहरीमा उजुरी गरेका छन् ।'झन्डै ५०-६० महिलाले शिवालय अगाडि लगेर हातखुट्टा बाँधेर एक घन्टाभन्दा बढी समय रक्सी छोड्ने कि नाई भन्दै थर्काउने, कुटपिट गर्ने र कालो दल्ने गरेका थिए,' छिमेकी मन्जु रेस्टुरेन्टकी रूपा भण्डारी छेत्रीले भनिन्, 'दुव्र्यवहार र यातनाकै कारण उनले आत्महत्याको बाटो अंगालेकी हुन् ।'

प्रत्यक्षदर्शीहरूका अनुसार श्रीमान्, बुहारी र नातिका साथ बस्ने भए पनि महिला समूहका पदाधिकारीसहितले आइतबार कवितालाई घरमा कोही नभएका बेलामा नियन्त्रणमा लिएका थिए । उनीहरूले दुव्र्यवहार गर्दा वरपरका धेरैजसो रमिते भएका थिए । केहीले 'यसो नगर' भन्दा समूहका महिलाहरूले 'उनको जिम्मा लिन्छौ र' भन्दै हकारेका थिए ।

धेरैबेरपछि योगीकुटीमा रहेको नगर प्रहरी आएर गाली गरेपछि मात्र महिलाहरूले कवितालाई छोडेका थिए । 'मुखभरि कालोमोसो भएकी कविताले मैले पानी दिएपछि मुख धोएकी थिइन्,' प्रत्यक्षदर्शी रूपाले थपिन् । यातनापछि घर गएकी कविता खाना पनि नखाई कोठामा पसेको र राति झुन्डिएको अवस्थामा भेटिएको बुहारी तारा थापाले बताइन् । आत्महत्या गरेकी कविताका मुखभरि नीलडाम थिए । भाइ भीमसेन पोखरेलले दिदीको गल्ती भए सुधार्ने अरू उपाय हुन्थ्यो भन्दै महिला समूहका नाममा कानुन हातमा लिएर यातना दिँदा दिदीले ज्यान गुमाउनु परेकामा आक्रोश व्यक्त गरे । दिदीको शवनजिकै रोइरहेका उनले समूहका महिलाहरूले सबै कुराको सीमा नाघेको बताए । 'मैले दिदी गुमाएँ तर अब यस्तो पीडा अरूले भोग्न नपरोस् भन्नका लागि पनि उनीहरूमाथि कारबाही हुनुपर्छ,' उनले भने ।

घटनास्थल पुगेका प्रहरी कार्यालय योगीकुटीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक होम श्रेष्ठले आइतबार दिउँसो स्थानीयले खबर गरेपछि आफू पुग्दा समूहका महिलाहरूले कविताका खुट्टा बाँधेर यातना दिएको देखेको र तत्काल खोल्न लगाई उनीहरूलाई हटाएको बताए । कविताको आत्महत्यापछि आइतबार साँझसम्म शव आँगनमै राखिएको छ भने स्थानीय योगीकुटी टोल पूरै शोकमग्न छ ।
जनजागरण महिला समूहले भने कविताको बानीले गाउँ समाजमा नकरात्मक सन्देश गएकाले सधार्न सम्झाएको र नमानेपछि सामान्य कारबाही गरेको दाबी गरेको छ । 'हाम्रो उद्देश्य उनलाई मार्ने होइन, उनले खाने रक्सी र परपुरुषको लसपस हटाउनु थियो,' समूहकी सचिव लक्ष्मी छेत्रीले भनिन्, 'त्यसैले राम्ररी सम्झाउँदा मानिनन्, उल्टै मुखमुखै लागेपछि अलिकति बाँधेर डर देखाएका मात्र हौं । मर्नुको कारण हामी होइनौं ।'
समूहकी अध्यक्ष सुषमाकुमारी अर्यालले २०५२ मा स्थापित समूहले यसअघि पनि घरेलु हिंसा, बहुविवाह, दमन, रक्सी छुटाउनेलगायत अभियानमा सम्झाउने/बुझाउने लगायत काम गर्दै आएकामा यस्तो दुःखदायी घटना भने नभएको बताइन् ।प्रहरी सहायक निरीक्षक श्रेष्ठले महिला समूहले सुधारका नाममा यातना दिनु र कानुन हातमा लिने काम गर्नु गलत रहेको बताए ।

यातनाकै कारण आत्मग्लानिले कविताले आत्महत्या गरेको भए पनि मृत्युमा महिलाहरूको प्रत्यक्ष संलग्नता नरहेकाले भरसक घटनालाई स्थानीयस्तरमै मिलाउन प्रयास भएको उनले बताए । 'पीडित पक्ष, महिला समूह, स्थानीय बुद्धिजीवी र प्रहरी बसेर छलफल गरिरहेका छौं,' घटनास्थलमै छलफलमा व्यस्त उनले आइतबार राति भने, 'भरसक गल्ती नदोहोरिने गरेर उनीहरूलाई सचेत पारेर घटना मिलाउँछौं ।'

Saturday, August 6, 2011

खज्याङ्गका खिमबहादुर महिलालाई बलात्कार गरेको अभियोगमा थुनामा

पल्लीकोट गाविसकी ४५ वर्षीया एक दलित अभियोगमा खज्याङ्ग गाविस-९  ४० वर्षीय  बुचालाई जिल्ला अदालतले ०६८ साउन १८ गतेदेखि पूपर्क्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आफ्नो पसलमा सामान किन्न गएकी उक्त महिलालाई सामान हेर्ने निँहुमा गोदाममा लगेर पुनले ०६८ साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको सम्बन्धमा पीडित महिलाले ०६८ साउन १३ गते स्थानीयबासीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले पुनलाई सोही दिन पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।



Friday, August 5, 2011

गुल्मीको रुरु गाबिसमा सैन्य ब्यारेक स्थापना गर्ने

नेपाली सेनाले गुल्मीको रुरु गाबिसमा सैन्य ब्यारेक स्थापना गर्ने भएको छ्। ब्यारेक राख्नको लागि उपर्युक्त स्थानको छनोटका लागि आज रिडी आएका सेनाका प्राबिधिज्ञहरुको टोलीले थोर्गाको झँवलेलाइ छनोट  गरेको छ्। त्यस्तै टोलीले त्यहाँका स्थानिय वासिन्दाहरु सँग ब्यारेकको बिषयमा प्रतीकृया समेत लिएको थियो। ब्यारेकमा करीब १२५ देखी १५० जना सम्म सेनाको जवानहरु रहने भनिएको छ।


Wednesday, August 3, 2011

भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझी सवार गाडीले मोटरसाइकललाई ठक्कर


भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी सवार बा १ झ ४२२५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते भएका छन्। नारायणहिटी पश्चिमगेट नजिकै बा २२ प ९२२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कृष्णबहादुर तामाङ र सवार मिलन आचार्य घाइते भएका हुन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। मन्त्री रायमाझी चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएपछि ट्राफिकले प्रहरीले गाडी र चालक इन्द्रमणि पौडेललाई नियन्त्रणमा लिएको थियो। केही समय नियन्त्रणमा राखेर बुधबार हाजिर हुनेगरी पौडेललाई छाडिएको छ।





पर्वतमा हँसिया प्रहार गरेर दुई महिलाको हत्या

पर्वतमा एक व्यक्तिले हँसिया प्रहार गरेर दुई महिलाको हत्या गरेका छन् भने दुई महिला घाइते भएका छन्। लिमिठान-९का भक्त भण्डारीले श्रीमती मीना भण्डारी र काकी हरिकला भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट भक्तकी आमा धनशरी र भाइबुहारी पवित्रा घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।मंगलबार साँझ हत्या गरेर फरार भएका भण्डारीलाई भाग्दै गरेको अवस्थामा कुर्घा-६ बाट पक्राउ गरेको प्रहरी सहायक निरीक्षक ओम घिमिरेले जानकारी दिए।


दुई दिनदेखि मदिरा सेवन गरेका भण्डारीले घरभित्रबाटै हँसिया निकालेर एक्कासी हानेको स्थानीय सोमबहादुर क्षेत्रीले बताए। भण्डारीका दुई छोरा र एक छोरी छन्।

तास खेल्दै गरेको अबस्थामा १२ जुवाडेलाई खालवाटै रङ्गेहात पक्राउ

प्रहरीले कावासोतीमा तास खेल्दै गरेको अबस्थामा १२ जुवाडेलाई खालवाटै रङ्गेहात पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी मुकुन्द मरासिनीका अनुसार शिवमन्दिर गाविस-२ स्थित लाल बहादुर पुन मगरको घरमा जुवा खेल्दै गरेका स्थानिय १२ जनालाई मंगलवार सांझ पक्राउ गरिएको हो । जुवाडेको खालवाट १५ हजार ३ सय ९७ रुपैया नगद बरामद भएको छ । पक्राउ परेका मध्ये ७० वर्ष माथिका बिरामी अबस्थाका तिन जनालाई कागज गराएर फेरी नखेल्ने सर्तमा बुधवार दिउसो छोडेको छ । अन्य ९ जना बिरुद्ध मुद्धा दायर गरेको छ ।


प्रहरीले कावासोती र आसापासको क्ष्ाेत्रमा एक सातादेखिे जुवा तास र हरेक राति १० बजेपछि जथाभावि मादक पदार्थ बिक्रि बितरणमा रोक लगाउदै आएको दावी गरेको छ ।